अचेल काठमाडौंमा जहीँतहीँ क्याफेहरू खुलेका छन्। कैयौँ खुल्ने क्रममा रहेको पनि देखिन्छ। सडकका छेउछाउ, चोक र गल्लीहरूमा क्याफेको उपस्थिति बाक्लिन थालेको छ। स्तरीय क्याफेमा मात्र होइन, सामान्य चिया पसलसम्म पनि कफी पाइन्छ।
क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्। यसरी खुलेका क्याफेहरूमा बिहानदेखि साँझसम्म झुम्मिने भीडले क्याफे व्यवसायमा चकाचौँध ल्याएको छ।
क्याफे नेपालको पुरानो व्यवसाय होइन तर आधुनिककरणको दौडमा विश्व साघुरिँदै जाँदा यो व्यवसाय नेपालमा भित्रिएको हो। १५ औं शताब्दितिर अरेबियन क्षेत्रबाट सुरु भएको मानिने यो व्यवसाय विश्वभर फैलिएर २० औं शताब्दीको अन्त्यतिर नेपाल भित्रिएको जानकारहरू बताउँछन्।
सन् १९९९ मा हिमालयन जाभाले क्याफे व्यवसाय सुरु गरेसँगै काठमाडौंमा ‘क्याफे कल्चर’ले विकसित रूप लिएको हो। त्यसयता क्याफे कल्चरको फैलावट दिनप्रतिदिन बढिरहेको छ।
क्याफे व्यवसायको फैलावटमा व्यवसायी मात्र नभइ कफीको स्वादका पारखीहरूले बढी भूमिका निर्वाह गरेका छन्। कफी स्वादको सम्मोहन युवा पुस्तामा बढी छ। युवाहरू स–साना बैठक, भेटघाट, ‘गेट–टुगेदर’ र ‘डेटिङ’ गर्नेदेखि लिएर फुर्सदका समयमा पनि कफीका साथ क्याफेमा बिताउने गर्छन्। उच्च र मध्यमस्तरको अघिल्लो पुस्तामा पनि कफीका अम्मली छन्। त्यो पुस्ता पनि क्याफेहरूमा कफीको स्वादमा विविधता खोज्दै हिँडिरहेको पाइन्छ।
नेपाली समाजमा अहिले कफीले क्याफेमा मात्र नभइ हरेक घरमा समेत स्थान पाइरहेको छ। कतिपय अवस्थामा यसले नेपाली समाजको ‘हट–पेय’ संस्कृतिमा अढाइ शताब्दीदेखि राज गरेको चियालाई नै उछिन्न थालेको छ । नेपालमा चिया १९२० सालमा जंगबहादुर राणाले भित्र्याएको मानिन्छ । उनी चीन भ्रमणमा जाँदा तत्कालीन चिनियाँ सम्राटले चियाको बिउ उपहार दिएका थिए। त्यो बिउ इलाम पु¥याएर ‘इलाम चिया कमान’ र त्यसको दुई वर्षपछि झापामा ‘सोक्तिम चिया कमान’को स्थापना भएको थियो। त्यसको उत्पादन र फैलावटबाटै नेपाली जिब्रोमा चियाको स्वाद गढेको थियो।
उसो त नेपालमा कफीका आंशिक घरायसी सेवनकर्ता धेरै पहिलादेखि थिए तर अहिलेजस्तो ठूलै संख्याको कफी संस्कृति विकसित भएको थिएन । पछिल्ला अढाइ दशकमा कफीका पारखी ह्वात्तै बढेका छन्। चिया संस्कृतिबाट हुर्किएका व्यक्ति पनि अहिले कफीतर्फ लहसिन थालेको जानकारहरू बताउँछन्।
चिया संस्कृतिमा हुर्किएको नेपाली समाज बिस्तारै ‘कफी कल्चर’तर्फ मोडिनुमा विदेशतिरको आवतजावत बढ्नु मुख्य कारण रहेको कफी व्यवसायी निमा शेर्पाको बुझाइ छ।
‘विदेश जानेहरू अरू केही नभए पनि कफीको अम्मल त जरुर बोकेर आउँछन्। त्यहाँको समाजमा बिहान कफी अनिवार्यजस्तै हुन्छ,’ कफी व्यवसायी निमा शेर्पा भन्छन्, ‘त्यहाँ सुरु भएको लत नेपालमा छुट्ने कुरा भएन। झन् अहिले कफी नै सहज तवरबाट पाइने भएपछि झन् फैलिएको पाइन्छ।
यसरी पछिल्लो समय नेपाली समाजमा ‘कफी कल्चर’ बिस्तारसँगै स्थापित हुँदै गएको छ। कफी कल्चर जीवनशैलीमा स्थापित भएसँगै साहित्यिक कृतिहरूमा छाउन थालेको पाइन्छ।
कफीले फर्काएका परदेशी
नेपालमा झाँगिदै गएको ‘कफी कल्चर’ले कतिपय विकसित देशतर्फ भासिएका युवाहरूलाई समेत फर्काउन थालेको छ। कफी कल्चरले स्वदेशमै कमाइको अवसर सिर्जना गरेपछि विकसित मुलुकमा पुगेका युवा नवीन सोचसहित स्वदेश फर्किने क्रममा छन्। कतिपय युवाहरू त विदेशमा रहँदा कफी व्यवसायको अनुभव समेटी स्वदेश फर्किएर कफी व्यवसायमा लागेका छन्। विदेशको अनुभवमा नेपालको कफी व्यवसायबाट मनग्य सम्भावना देखेपछि उनीहरू यहीं आएर आफ्नो पौरख देखाइरहेका छन्।
तिनैमध्येका एक युवा प्रोमिस मोक्तान हुन्। उनी अस्ट्रेलियाको मेलबर्न बसेर फर्किएका हुन्। अष्ट्रेलिया बसाइका क्रममा त्यहाँको ‘कफी कल्चर’बाट उनले व्यवसाय सिक्ने मौका पाए। ‘त्यहाँ सिक्दा पछि नेपाल फर्किएर कफीसँग सम्बन्धित काम गर्छु भन्ने सोचेको थिएँ,’ उनी भन्छन्, ‘त्यहीँ सोचेको योजनाअनुसार नेपाल फर्किएर ‘कफी अफ प्रोमिस’ खोलेर त्यही व्यवसायमा छु।’
उनको कम्पनीले कफीको प्रशोधन तथा आपूर्ति गर्छ। ‘हामी अनलाइन बेस्ड भएर काम गर्छौं। कफी पारखीको चाहनाअनुसार फ्रेस, स्वादिलो र स्तरीय कफी आपूर्ति गर्ने हाम्रो प्रयास छ,’ उनले भने। विशेषगरी कार्यालयमा, घरमा, ट्राभल र ट्रेकिङमा रहेका यात्रीहरू उनको कम्पनीबाट प्रशोधित कफीका प्रयोगकर्ता छन्।
यस्तै अर्की युवा सन्नी जोशी अमेरिकाबाट फर्किएर नेपालको पहिलो कफी प्रशोधन कम्पनी नेपाल कफी कम्पनी सम्हालिरहेकी छन्। त्यो कम्पनी उनका ससुराले रूपन्देहीको मनिग्राममा सन् १९८३ मा खोलेका थिए।
सन्नी नेपाली कफीको अन्तर्राष्ट्रिय माग अत्यधिक रहेको बुझेपछि नेपाल फर्किएकी हुन्। ‘म र श्रीमान् अमेरिकामा रहँदा पनि कफी आयात गरेर स–साना बजारमा आपूर्ति गर्ने व्यवसाय चलाउथ्यौं,’ उनी भन्छिन्, ‘यसक्रममा नेपालको कफी पनि त्यहाँ दिन थाल्यौं। जसबाट राम्रो प्रतिक्रिया आउन थाल्यो।’
यसरी नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा पुग्दा राम्रो प्रतिक्रिया पाएको हुँदा सन् २०१७ मा सन्नी नेपाल नै फर्किएर ससुराले थालेको व्यवसाय सम्हाल्न थालेकी हुन्।
अमेरिकाबाट फर्किएका निमा शेर्पा त्यहाँ रहँदा आफैं कफीका पारखी थिए, यसैले त्यहाँको कफीको बजार र संस्कृतिबारे जानकार थिए। नेपाल फर्किने प्रेरणा भने आफ्ना बुवाबाट पाएको उनी बताउँछन्। उनका बुबा नुवाकोटमा विद्यालय बनाउँथे। सोही क्रममा त्यहाँको जमिनमा के उत्पादन हुन्छ भनेर अनुसन्धान गर्दा कफीको सम्भावना पाइएछ।
‘त्यसपछि कफी योजनाबारे मलाई जानकारी गराउनुभयो। म उहाँको भनाइबाट विश्वस्त भएपछि नेपाल फर्किएको हुँ,’ उनले भने।
अमेरिकाबाट फर्किएपछि उनले सन् २००९ देखि नुवाकोटमा लेकाली कफी इस्टेट स्थापना गरेका छन्।
सन् २०१३ देखि आफ्नो कम्पनीबाट उत्पादित कफी अमेरिका र युरोपमा निर्यात गर्ने गरेको उनले बताए। उनले भने, ‘यस्तै नेपालमा पनि मागअनुसार क्याफे, होटेलहरूमा प्याकेजिङ गरेर दिने गरेका छौं।’
तीनैजनाले नेपालमा कफी कल्चर विकास मात्र नभइ नेपाली कफीबाट वैदेशिक व्यापारमा अपार सम्भावना देखेका छन्। ‘हामीले निर्यात गरेको नेपालको कफी अन्तर्राष्ट्रिय बजारले राम्रै तवरबाट रुचाएको छ। हामीले उत्पादन बढाउन सक्ने हो भने हामी मनग्य फाइदा लिन सक्छौं,’ लेकाली कफी इस्टेटका सञ्चालक शेर्पा भन्छन्, ‘तर हामीले सम्भावना अनुसार कफी उत्पादन गर्न सकेका छैनौं।’
अन्तर्राष्ट्रिय बजारमा अहिले मात्रै ९ देखि १० हजार मेट्रिक टन नेपाली कफीको माग छ। जसमध्ये नेपालमा ३ सय मेट्रिक टन उत्पादन हुँदै आएको छ। शेर्पाका अनुसार नेपालमा कफी उत्पादनको सम्भावना रहेको जमिन लगभग तीन लाख हेक्टर छ। ‘तर त्यसमध्ये व्यावसायिक उत्पादन जम्मा तीन हजार हेक्टरमा मात्रै छ,’ उनले थपे। अहिले नेपाली बजारकै मागसमेत धान्ने गरी उत्पादन हुन नसकेको शेर्पाले बताए।
नेपाली कफीको विशेषता
व्यवसायी जोशीका अनुसार नेपालमा उत्पादन हुने कफी लगभग सबैजसो अराबिका नै हो। विश्वमा अराबिका र रुबस्टा गरी दुई प्रजातिका कफी उत्पादन हुन्छन्। अराबिकामा पनि बरबेन, रेड एल्लो कटुरा, कार्टिमोर जातका कफी नेपालमा बढी उत्पादन भइरहेका छन्। ‘विश्व बजारमा बढी माग हुने कफी पनि अराबिका नै हो,’ उनले भनिन्, ‘नेपालमा विकसित भइरहेको कफी कल्चरमा अराबिकाको प्रयोगकर्ता नै बढी छन्।’
कफीको स्वाद जातअनुसार केही निर्धारण भए पनि उत्पादन हुने ठाउँ, प्रशोधन प्रक्रिया र पकाउने शैलीको विविधतामा भिन्नता हुने अर्का व्यवसायी शेर्पा बताउँछन्।
उनले भने, ‘नेपालमै लगभग ४२ जिल्लामा कफी उत्पादन हुन्छ। लगभग सबैजसो जिल्लामा फरक स्वाद हुन्छ।’
विश्व बजारमा कफीका दुई खाले बजार रहेको शेर्पाको बुझाइ छ। जसमा ‘स्पेसल टी मार्केट’ र ‘कमर्सियल मार्केट’ पर्दछन्। ‘कमर्सियल मार्केट गल्फ देशको कमोडिटी मार्केट हो,’ शेर्पाले भने, ‘स्पेशल टी मार्केट स्वादका आधारमा निर्धारण हुन्छ।’
कफीमा स्वाद प्रशोधन, उत्पादन स्थलको उचाइका आधारमा फरकपन आउँछ। ‘नेपालको उत्पादन लगभग सबैजसो ‘स्पेसल टी’ मै पर्छ। हामी निर्यात गर्दा मूल्यांकन गरेरै पठाउँछौं। ८० प्रतिशतभन्दा बढी राम्रो देखिए मात्रै पठाउँछौं,’ शेर्पाले भने। नेपाली उत्पादन सबैजसो अर्गानिक रहेको पनि उनले बताए।
सम्भावना छ, उत्पादन छैन
नेपाली कफी आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा सम्भावना हुँदाहुँदै पनि देशले भने अहिलेसम्म फाइदा लिन नसकेको युवा व्यवसायीहरूको तर्क छ । ‘देशको अर्थतन्त्र सुदृढ बनाउन कफीले राम्रो अवसर देखाएको छ। नेपाली बजार बढ्दै गएको छ, विश्व बजारमा पनि नेपाली कफी रुचाइएको छ,’ उनले भने, ‘हामीले उत्पादनलाई ह्वात्तै बढाएर गुणस्तरीय र अर्गानिक कफी विश्वबजारमा बढीभन्दा बढी पु¥याउन सके राम्रो फाइदा हुन्छ।’
पछिल्लो समय उत्पादन बढ्दै गए पनि अझै ठूलो मात्रामा कफी उत्पादन बढाउन सकिने व्यवसायी जोशीको बुझाइ छ। उनले भनिन्, ‘जुन हाम्रो सम्भावना हो, त्यो अनुसार उत्पादन निकै कम छ। यो त निर्यात गर्न मिल्ने नगदेबाली हो। यसैले सबै सरोकारवाला उत्पादन बढाउन पट्टी लागे फाइदा पुग्छ।’
यद्यपि पछिल्लो समय नेपाल सरकारका निकायहरू काम भने गरिरहेको उनीहरू बताउँछन्। पछिल्लो समय राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रदेश र स्थानीय सरकारहरूबाट पनि कफी उत्पादन बढाउन विभिन्न कामहरू भइरहेका छन्। ‘काम त भइरहेको छ तर त्यसको रफ्तार अझै बढाउनुपर्ने देख्छु,’ व्यवसायी शेर्पा भन्छन्, ‘सम्भावना जहाँजहाँ छ त्यहाँका किसानहरूलाई तालिम र बिउसहित उपलब्ध गराए अझै उत्पादनको दायरा बढाउन सकिन्छ।’
उनीहरूका अनुसार सहरी क्षेत्रमा ‘कफी कल्चर’ विकसित हुँदै गए पनि गाउँ र किसानस्तरमा कफी सम्बन्धी चेतनाको कमी भएकाले हाम्रो उत्पादनले गति लिन सकेको छैन।
‘कफी कसरी उत्पादन गर्ने, कसरी खाने, बजार कस्तो छ, उत्पादन कति हुन्छ, फाइदा कसरी लिने भन्ने कुरा अहिले पनि उत्पादन सम्भावना भएका क्षेत्रका किसानले थाहा पाउन सकेका छैनन्,’ व्यवसायी जोशी भन्छिन्, ‘कम्तिमा अब किसानलाई तालिम, बिउ बिजन, प्रविधि र बजारको ग्यारेन्टी दिएर कफी खेती गराए नोक्सान हुन्न।’
नेपाली कफीको उत्पादन बढाएर विश्व बजारमा पु¥याउन सके विश्व समुदायमा कफीमार्फत नेपाललाई चिनाउने अवसर पनि रहेको शेर्पा बताउँछन्। उनी भन्छन्, ‘नेपालको कफी विश्व बजारका लागि प्रिमियम कफी हो। जसलाई सबैसमक्ष पु¥याउन सके कफी उत्पादन क्षेत्रका रूपमा विश्वमाझ परिचित गर्न सकिन्छ।’
यसरी भित्रियो नेपालमा कफी
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार १९९५ सालमा गुल्मी आँपचौरका हीरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीका बिउ ल्याएर खेती सुरु गरेको मानिन्छ। त्यसको चार दशकसम्म नेपाली कृषकहरू कौतुहलतामै सीमित रहँदा खासै फैलावट आएन। २०२० को दशकमा सरकारले नै भारतबाट कफीको बिउ ल्याई झापाका किसानलाई खेतीमा अग्रसर गराएपछि उत्पादनले गति लिएको मानिन्छ।
समुद्री सतहबाट आठ सय मिटरदेखि एक हजार चार सय मिटरसम्मका मध्य पहाडी क्षेत्रहरू गुणस्तरीय कफी उत्पादनका लागि उपयुक्त मानिन्छन्।
यस्तै सापेक्षित आद्र्रता ७० देखि ८० प्रतिशत भएको, एक हजार ६ सय देखि दुई हजार पाँच सय मिमिटरसम्म वर्षा हुने र कम्तिमा १० देखि १२ घन्टा घाम लाग्ने ठाउँ हुनुपर्छ। जुन नेपालको भित्रीमधेश र पहाडी क्षेत्रको वातावरणसँग मेल खान्छ।
२०४० सालमा रूपन्देहीको मनिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएपछि कफी उत्पादनले व्यावसायिकता पाएको बोर्डको बुझाइ छ। कम्पनीले कृषकलाई कफी उत्पादन गर्न लगाएर खरिद गरी प्रशोधन गरेर आन्तरिक बजारमा पठाउन थालेको थियो। अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ गरी ४० जिल्लाहरूमा कफी पुगिसकेको बोर्डले जनाएको छ।
संघीय सरकारले कृषि विभाग राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रदेश सरकार र स्थानीय तहहरूले कफीको उत्पादन र बिस्तारमा विभिन्न योजनाहरू सञ्चालन गरिरहेका छन्।
नेपाल कफी व्यवसायी महासंघ एवम् जिल्ला कफी व्यवसायी संघहरूले नेपालको कफी विकास र प्रवद्र्धनका क्षेत्रमा काम गरिरहेका छन्।
प्रकाशित: १४ आश्विन २०८० ०१:१४ आइतबार