२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरला नाका खुल्ने आशा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो । गण्डकी प्रदेशका बासिन्दाले प्रधानमन्त्री दाहालको चीन भ्रमणबाट मुस्ताङको कोरला नाका खुल्ने अपेक्षा राखेका थिए तर प्रधानमन्त्रीको भ्रमणमा चीनसँग भएको सम्झौतामा कोरला नाका खोल्ने विषय सममावेश हुन सकेन ।  

चीनको स्वशासितक्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा पर्ने कोरला नाका खुले द्विपक्षीय व्यापार बढ्ने र त्यसले नेपालको समग्र अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको थियो ।

प्रधानमन्त्री दाहाल चीन जानुअघि नै कोरला नाका खुलाउने विषयलाई भ्रमणको अजेन्डामा राख्न पोखरेलीलगायत यसक्षेत्रका अगुवाले सुझाएका थिए । मुुस्ताङको माथिल्लो क्षेत्रमा पर्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङ भन्छन्, ‘प्रधानमन्त्री दाहालको चीन भ्रमणमा कोरला नाका खुलाउने सम्झौता भए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा थियो । सके स्थायी, नभए अस्थायी रूपमा नाका खुले हुन्थ्यो भन्ने अपेक्षा हो ।’ उनका अनुसार नाकाको तिब्बततर्फ सबै संरचना तयार भए पनि नेपालतर्फका संरचना कमजोर छन् ।

प्रधानमन्त्री चीन गएका बेला सम्झौता गरेर नाका खुलाउने हो भने त्यसले मुस्ताङको मात्र नभई समग्र गण्डकी प्रदेश र देशकै समृद्धिमा सहयोग पुग्ने उनले बताए । ‘उपल्लो मुस्ताङका बासिन्दाको अपेक्षा नाका खुलोस् भन्ने हो तर हाम्रो मात्र अपेक्षा र मागले सम्भव नहुने देखियो,’ उनले भने ।

मुस्ताङ भन्सार कार्यालयका एक कर्मचारीका अनुसार कोरला नाकामा वर्षमा दुईपटक लाग्ने द्विपक्षीय व्यापार मेला पछिल्लो केही वर्षदेखि हुन सकेको छैन । कोरोना भाइरस संक्रमण सुरु भएपछि यो मेला रोकिएको हो । अन्तरदेशीय व्यापार मेला दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट १० किलोमिटर पर तिब्बततर्फ लाग्ने गरेको थियो तर चार वर्षदेखि त्यो मेला लागेको छैन ।

स्थानीयले सिजनल भए पनि मेला आयोजना गर्न अनुरोध गरिरहे पनि चिनियाँ पक्षले भने सधैंका लागि नाका खुलाउने इच्छा राख्दा व्यापारिक मेला पनि लाग्न सकेको छैन । ती कर्मचारीका अनुसार अहिले नेपालतर्फ भन्सार भवन मात्र छ । त्यसबाहेक बोर्डर आउटपोष्ट (बिओपी) पनि छ । ‘नेपाल सरकारको तयारी खासै छैन । यतिसम्मकि भन्सारमा समेत पर्याप्त कर्मचारी छैनन्,’ ती कर्मचारीले भने, ‘धेरै काम नेपालतर्फ नै हुनुपर्छ ।’

कोरला नाका खुलाउनेबारे तयारी गर्न भन्सार विभाग र  गृहमन्त्रालयले समेत स्थानीय प्रशासनलाई अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहाल चीन भ्रमणमा गएको बेला नाका खुलाउने सम्भावना रहेको भन्दै त्यसै अनुसार तयारी गर्न आग्रह गरेको भए पनि स्थानीय अहिले निराश भएका छन् । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतका अनुसार अनुसार अहिले भन्सारको नाममा एकहजार रोपनी जग्गा छ । अहिले त्यो जग्गाको माटोको परीक्षण भइरहेको छ । कोरला नाकाबाट झन्डै १७ किलोमिटर वर बिओपी रहेको छ । ‘तीब्बततर्फ पर्याप्त संरचना बनेका छन् तर नेपालतर्फ पूर्वाधार बनाउन बाँकी छ,’ बस्नेतले भने, ‘आवश्यक परे हामीले काम गर्नुपर्छ । 

प्रकाशित: ९ आश्विन २०८० ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App