१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भन्सार छल्न ट्याङ्करबाटै पेट्रोल तस्करी

भारतबाट ढुवानी गरिँदै आएको पेट्रोलमा पनि भन्सार छली गरिएको घटना सार्वजनिक भएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट नेपाल आयल निगमको अमलेखगन्ज डिपोसम्म ट्याङ्करबाट ढुवानी गरिने पेट्रोलमा भन्सार छली गरिएको घटना सार्वजनिक भएको हो ।

ट्याङ्करमा बढी रहेको पेट्रोल कम देखाएर भन्सार शुल्क छल्न खोजेपछि एउटा ट्याङ्करलाई वीरगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ । गत २९ भदौमा भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल ढुवानी गर्न अमलेखगन्ज डिपोबाट गएको ना ४ ख ३१५६ नम्बरको ट्याङ्करले घोषणा गरिएको भन्दा एक हजार सात सय ९७ लिटर बढी पेट्रोल वीरगन्ज भन्सारबाट पास गराउन खोजेपछि ट्याङ्करसहित चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको हो ।

भारतबाट ढुवानी गरिने प्रत्येक लिटर पेट्रोलमा दुई रूपैयाँ ५२ पैसा भन्सार शुल्क लाग्ने गरेको छ । नियन्त्रणमा लिएको ट्याङ्करमा बढी रहेको पेट्रोलबाट ४५ सय २८ रूपैयाँ भन्सार शुल्क छली गर्न खोजिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले बताए । 

भारतबाट २१ हजार सात सय ९४ लिटर पेट्रोल बोकेर वीरगन्ज भन्सारको अलौं आइसिपी हुँदै आएको ट्याङ्करका चालक जयलाल दास तात्वासँग परिमाणबारे सोध्दा उसले ट्याङ्करमा २० हजार लिटर मात्रै पेट्रोल ल्याएको दाबी गरेका थिए । ट्याङ्कर चालकको दाबीभन्दा ट्याङ्करमा बढी परिमाणको पेट्रोल रहेको शंका लागेपछि सो ट्याङ्करलाई नियन्त्रणमा लिएर आइसिपीको काँटामा गाडीसहित तौल गर्दा बढी देखिएको ढकालले जानकारी दिए । 

ट्याङ्करमा बढी परिमाण देखिएपछि ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर नापजाँचका लागि आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज डिपो पठाउँदा त्यहाँबाट पनि ट्याङ्करमा घोषणा गरिएको भन्दा बढी पेट्रोल रहेको पुष्टि भए भएको थियोे । त्यसपछि भन्सारले ट्याङ्कर र चालकलाई कारबाही प्रक्रिया सुरु गरेको छ ।

भारतबाट ट्याङ्करमै बढी पेट्रोल ढुवानी गरी तस्करी भइरहेको सूचना पाएपछि प्रत्येक ट्याङ्करको चेकजाँच गर्दा उक्त ट्याङ्करमा तस्करीको पेट्रोल फेला परेको ढकालले बताए । वीरगन्ज भन्सार कार्यालयले घोषणा गरेभन्दा बढी पेट्रोल लिएर आएको आशंकामा नियन्त्रणमा लिएर पठाएको ट्याङ्करलाई अमलेखगन्ज डिपोमा चेकजाँच गर्दा त्यसमा घोषणा गरेको भन्दा १७ सय ९७ लिटर बढी पेट्रोल भेटिएको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख ललित उपाध्यायले जानकारी दिए ।

नेपालसँग सीमाना जोडिएका भारतीय बजारहरूमा नेपालको भन्दा पाँच रूपैयाँ सस्तो पेट्रोल बिक्री भइरहेकाले बरौनी पेट्रोल लिन गएका ट्याङ्कर चालकले बढी लोड गरेको पेट्रोललाई नेपालमा ल्याएर बढी मूल्यमा बेच्नका लागि ल्याउन खोजेको उपाध्यायले बताए ।

पेट्रोल तस्करीमा संलग्न रहेको भेटिए पनि ना ४ ख ३१५६ नम्बरको ट्याङ्करलाई पहिलो चोटि तीन महिनासम्म इन्धन ढुवानीमा रोक लगाउने गरी निलम्बन गरिएको उनले बताए । यस्तो घटना पुनः घटाउनेट्याङ्करको पेट्रोल ढुवानी सम्झौता नै खारेज गरिने प्रमुख उपाध्यायले बताए । पेट्रोल तस्करीको आरोपमा नियन्त्रणमा लिएको ट्याङ्करका चालक तात्वालाई तीन लाख रूपैयाँभन्दा बढी धरौटीमा छाडेको भन्सारका सूचना अधिकारी ढकालले बताए ।

प्रकाशित: ७ आश्विन २०८० ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App