वीरगन्ज, असोज ११ - वीरगन्ज भन्सारस्थित लोकल शाखा भएर हुने आयात व्यापार ह्वात्तै घटेको छ । बजार छप्कैया, भकुवालगायत वीरगन्ज भन्सारपछाडिको एरियाबाट अवैध चोरी पैठारी भएर भारतीय मालसामान भित्रिने क्रम भने बढेको छ । प्रदेश २ निर्वाचनको केही अघिदेखि स्थानीय बोलचालको भाषामा यतिखेर तस्करीको ‘लाइन’ व्यापक चलेको छ ।
जब सुरक्षा निकाय, स्थानीय प्रशासन र राजस्व अनुसन्धान कार्यालय लगायतलाई मिलाएर तस्करी गरिन्छ, त्यसलाई स्थानीय बोलीमा ‘लाइन’ भन्ने गरिएको छ । ‘चुनावको केही अगाडिदेखि यसपटक तस्करी बढेको छ, दर्जनभन्दा बढी कारोबारी चर्चामा छन्,’ एकजना भन्सार क्लियरिङ एजेन्टले भने, ‘लाइनले गर्दा लोकल शाखाबाट हुने कारोबार घटेको छ ।’ नेपालका आयातकर्ता फर्मले एक्सपोर्ट इम्पोर्ट (एक्जिम) कोड तीन लाख रुपैयाँ धरौटी राखेर भन्सारबाट लिएर मात्र आयात गर्न सक्ने प्रवधान लागू भएपछि त्यस्ता फर्मको संख्या घटेको छ । यो नयाँ नियम लागू हुनुअघि नेपालमा ८३ हजार आयातकर्ता फर्म देखिए पनि अहिले एक्जिम कोड लिने व्यापारी नेपालभर करिब १० हजार मात्र रहेको भन्सार अधिकृत बताउँछन् । वैध व्यापार नियमन भइरहेका बेला तस्करले अवैध व्यापार गर्ने मौका छोपेका हुन् ।
स्रोतका अनुसार भरिया लगाएर र साइकल मोटरसाइकल लगायत साना सवारी प्रयोग गरी सीमापारिबाट रातको समयमा मालसामान भिœयाएर वीरगन्जका विभिन्न गोदाममा पु¥याइन्छ । गोदाममा राखिएका सामान यहाँका ट्रान्सपोर्टका गाडी र यात्रुबाहक सवारीमा हालेर काठमाडौं, नारायणगढ, पोखरा, बनेपा लगायत बजारमा पु¥याइन्छ । ‘दिनहुँजसो तस्करको लस्कर देखिन्छ,’ छप्कैयाका एक स्थानीयले भने, ‘खै प्रहरी प्रसाशनले केही गरेको देखिँदैन ।’ सीमापारिबाट अवैध रुपमा सामान भिœयाउन रोक्ने जिम्मेवारी सुरक्षा निकायको हो भने वीरगन्जबाट नेपालका अरु सहरमा जाने सामानमा राजस्व छली भए नभएको हेर्ने दायित्व राजमार्गमा समेत खटिने क्षेत्रीय राजस्व अनुसन्धान कार्यालयको हो ।
‘राजस्व चुहावट गरी हुने अवैध कारोबार रोक्न हाम्रो सुरक्षा एकाइहरु सक्रिय छन्,’ इनर्वामा प्रहरी चौकी छ, बिर्तामा वडा प्रहरी छ, छप्कैयामा चौकी छ, विभिन्न गस्ती छ, यी सबै परिचालन गरी त्यस्ता गतिविधि हुन नदिन हामीले निगरानी राखेका छौं,’ पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले भने, ‘अब चाडपर्वको भीडभाड बढेका बेला पोकेहरु सक्रिय नभएको भन्न सकिन्न, अपांगलाई (ट्राइसाइकलमा) दिनभर कम्तीमा एकपटक ल्याउन दिने भनेर यहाँ एकथरीले भन्छन्, रोक्न खोज्यो हल्लाखल्ला हुन्छ, महिलाहरु जिउभरि सारी बेरेर ल्याउने गरेको पनि देखिन्छन्, त्यसलाई रोक्न खोज्ने प्रहरीलाई अनेक आरोप लाग्ने डर हुन्छ । तैपनि हामीले खुलेयाम तस्करी हुन दिने वा कुनै सुरक्षा एकाइलाई मिलाएर तस्करी हुन दिएका छैनौं ।’
थप कुरा जोड्दै प्रहरी उपरीक्षक गिरीले ‘लाइन साइन’ भन्ने कुरा अहिले नभएको दाबी गरे । ‘चाडपर्वको समयमा किनमेल गरेर आउने स्थानीयलाई प्रहरीले दुःख दियो भन्ने कुरा नहोस् भनेर सानातिना सामान ल्याउन दिएको हुन सक्छ होला,’ उनले थपे, ‘अहिले खुलेआम तस्करी गर्ने आँट कसैले गर्न सक्दैनन् ।’ चाडपर्वका बेला सारी, महिलाको सुट, कुर्था सुरुवाल, पुरुषले लगाउने रेडिममेड तथा सुटिङ, सर्टिङ र ड्राइफुडस्, खाद्यान्न, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल समान, पापड, भुजिया, चकलेट स्टेसनरी लगायत तस्करी अहिले भइरहेको स्रोतको दाबी छ । देशको कुल भन्सार राजस्वको ६० प्रतिशत असुल हुने वीरगन्ज नाका राजस्व संकलनका लागि जति महत्वपूर्ण त्यति नै तस्करीका लागि बेलाबेलामा बद्नाम हुने गरेको छ ।
प्रकाशित: ११ आश्विन २०७४ ०५:०४ बुधबार