२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२९ जनाविरुद्ध मुद्दा दायर

सुन तस्करीमा नेपाली र चिनियाँ बिचौलिया

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको ६०.७१६ किलो सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको छ। हङकङबाट सुन नेपाल ल्याउँदा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ। जिल्ला अदालत काठमाडौंमा आइतबार अभियोगपत्र बुझाइएको हो।

अभियोगपत्रअनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिन्छ। राजनीतिको उच्च तहमा पहुँच राख्ने दाओजिन वाङ पनि तस्करीमा प्रयोग भएका छन्। उनी फलफूल व्यवसायीका रूपमा लामो समयदेखि नेपालमा बस्दै आएका व्यक्ति हुन्।

सुन तस्करीमा संलग्न भएको आरोपमा आइतबार सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पक्राउ परेका २६ र फरार सूचीमा रहेका तीन गरी २९ जनाविरुद्ध मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।

उनका अनुसार सो प्रकरणमा आवश्यक अनुसन्धान भई आएको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो। सुन तस्करीमा संलग्न तर फरार सूचीमा रहेका १५ जनाविरुद्ध थप अनुसन्धान जारी रहने पनि अभियोगपत्रमा बताइएको छ।

गत बुधबार ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन दिएको थियो। सो प्रकरणमा राजस्व अनुसन्धान विभागले पनि १९ दिनसम्म अनुसन्धान गरेको थियो। त्यसपछि संगठित अपराधको कसुरमा सिआइबीले अनुसन्धानको जिम्मा पाएको थियो।

तस्करीमा बिचौलियामध्येका मुख्य व्यक्ति तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक एलेक्स भनिने याओ फुचेन तथा अर्का चिनियाँ नागरिक दाओजिन वाङसँग सम्पर्क/सम्बन्ध देखिएका राजनीतिक व्यक्तिहरूसँग सोधपुछ गरिए पनि उनीहरूको संलग्नता नदेखिएको सिआइबीले बताएको थियो

 सोहीबमोजिम सरकारी वकिल कार्यालयले पनि उनीहरूविरुद्ध मुद्दा दायर गरेको छैन। यद्यपि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई भने थुनामै राखेर अनुसन्धान गरिरहेको छ। साथै पूर्वउपराष्ट्रपति नन्दबहादु पुनका छोरा दीपेश पुनलाई सोधपुछसम्म गरेर छाडिएको छ।

चिनियाँहरूले नेपालमा रहेका बिचौलियामार्फत सरकारी कर्मचारी र राजनीतिक पहुँच भएका चिनियाँ नागरिकलाई प्रयोग गरेर सुन ओसारपसार गर्न गरेको देखिएको सरकारी वकिल कार्यालय अदालतमा दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदनअनुसार बिचौलियाहरूले प्रत्यक्ष वा परोक्ष रूपमा योजना बनाएरर विस्तारित तयारीका साथ अवैध सुन पैठारी गरी मुलुकलाई प्रतिकूल प्रभाव पार्ने बदनियतका साथ राष्ट्रिय–अन्तर्राष्ट्रिय सिमाना पार गरी संगठित रूपमा अपराध गरेको उल्लेख छ।

उक्त अपराधमा हङकङदेखि सुन ल्याई भारतसम्म पुर्‍याउन लगानी, व्यवस्थापन र बिक्रीसमेत गर्न राजेन्द्रकुमार राई, अशोक लामा, टाँसी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, रामकुमार भुजेल, दिलीप भुजेल, लिन झेक्लिन, राजनकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, सन्तोष चन्द, सरोज श्रेष्ठ, कुमार ढकाल, यादव पराजुली, सुदर्शन गौतम, दावा छिरिङ, नरेश तामाङलाई परिचालन तथा व्यवस्था गर्ने गरेको उल्लेख गरिएको छ। साथै प्रतिवेदनमा अरू व्यक्तिहरू पनि संलग्न हुन सक्ने भएकाले ‘अन्य मानिसहरूसमेत पहिचान गरी निजहरूउपर समेत संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुर गरिने’ उल्लेख छ।

अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ परेका प्रतिवादीहरू हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङले हङकङबाट नेपालमा ल्याइएको रेडी ट्रेड प्रालिसहित विभिन्न कम्पनीका माध्यमबाट ब्रेक सुसमेतका मालवस्तुभित्र अवैध सुन लुकाएर भन्सार जाँचपास गरिसकेपछि विभिन्न स्थानमा भएका गोदाममा राख्ने गरिएको, ब्रेक सुसमेतका मालवस्तुबाट सुन निकाली टोखास्थित कारखानामा राखिएको मेसिनमा गालिसकेपछि निश्चित तौल र आकार बनाई बिक्री गर्ने समेतका व्यवस्थापनका लागि हर्कराज राईले सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ।

बालुवाटारस्थित सोलुसन टुर्स एन्ड ट्राभल्स प्रालिका सञ्चालक केशव श्रेष्ठसँग राईले गाडी भाडामा लिएको र त्यसमा जिपिएससमेत जडान गरेर सुनलाई नेपालको विभिन्न स्थान हुँदै भारतसम्म पुर्‍याउने गरिएको उल्लेख छ।

शरणार्थीका रूपमा दावाको बसोबास

सुन तस्करी गर्दै आएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ तिब्बती शरणार्थीका रूपमा नेपाल प्रवेश गरेको उनकै बयानमा उल्लेख छ। उनी राजस्व विभागले बरामद गरेको सुन प्रकरणको मुख्य बिचौलिया हुन्। रोल्पा थवाङकी माओवादी कार्यकर्ता अमला रोकासँग विवाह गरेर उनले त्यसकै आडमा सुन तस्करी, अवैध कल बाइपासलगायत अपराध धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ।

प्रकाशित: १ आश्विन २०८० ००:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App