२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आर्थिक नगरीका होटलमा पनि मन्दी

सिमरामा सञ्चालित मधेश प्रदेशकै पहिलो पाँच तारे इच्छा होटल।

नेपालको आर्थिक तथा औद्योगिक नगरीको रूपमा रहेको वीरगञ्ज र सिमरा करिडोरमा सञ्चालित होटलहरूलाई दैनिक खर्च धान्न समस्या परेको छ।

होटलमा आउने आन्तरिक ग्राहक तथा बाहिरबाट आउने पर्यटकहरूको संख्या घट्दै गएकाले वीरगञ्ज र सिमरामा सञ्चालित होटलहरूलाई दैनिक खर्च धान्न समस्या भएको हो।

सिमरामा सञ्चालित मधेश प्रदेशकै पहिलो पाँच तारे होटल, होटल इच्छाका अध्यक्ष इच्छाबहादुर वाग्लेले होटलको कारोबार ३५ प्रतिशतमा झरेको बताएका छन्।

होटलमा रहेका सय वटा कोठामध्ये अहिले ३५ वटा जति मात्रै बुकिङ हुने गरेको उनले बताए। उनका अनुसार होटलमा गरिने वैवाहिक लगायतका अन्य कार्यक्रमले दैनिक खर्च धान्न सघाइरहेको वाग्लेले बताए।

भारतको बिहार, उत्तर प्रदेश लगायतका अन्य राज्यबाट होटलमा विवाह गर्न आउनेहरूले बुकिङ गर्ने कोठा, सभा हलले गर्दा मन्दीको बेलामा केही राहत भएको र विवाहको सिजन सुरु भएपछि होटलको कारोबार बढ्दै जाने विश्वास रहेको वाग्लेले बताए।

होटलमा वैवाहिक कार्यक्रम आयोजना नहुने हो भने त्यहाँको ३५ वटा कोठा बुकिङले मात्रै होटलमा कार्यरत ९० जना कर्मचारीहरूको तलब र अन्य खर्च उठ्न नसक्ने अवस्था रहेको उनले बताए।

यसक्षेत्रका होटलहरू विशेष गरेर औद्योगिक गतिविधि र भारतीय पर्यटकहरूका कारणले चल्ने गरेका छन्। वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगहरूको कारोबार ३० प्रतिशतको हाराहारीमा झरेकाले पनि यसक्षेत्रका होटलहरूको कारोबारमा कमी आएको उनले बताए।

इच्छा होटलमा आन्तरिक ग्रहक तथा विदेशी पर्यटकलाई भिœयाउन उत्कृष्ट व्यवस्थापन भएको विदेशी भेन्चरसँग केही दिनभित्रै सहमति गरिने तयारी गरिएको वाग्लेले बताए। विदेशी पर्यटक यसक्षेत्रमा भित्र्याउन एउटा पाँच तारे होटलमा आवश्यक क्यासिनोसमेत सञ्चालन गर्न जरुरी रहेको उनले बताए।

होटलमा क्यासिनो सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य समेत होटेल इच्छाले सुरु गरेको अध्यक्ष वाग्लेले बताए। पाँच तारे स्तरको क्यासिनो सञ्चालनपछि विदेशी पर्यटकहरूले खुला रूपमा सम्पूर्ण खेलहरू खेल्न सक्ने भएकाले पर्यटकहरूको आगमन उल्लेख्य रूपमा सुधार हुने वाग्लेले बताए।

वीरगञ्ज र सिमरामा सञ्चालन भइरहेका होटलहरूमा चार तारे स्तरको विद्युतीय रूपमा मात्र खेल्न पाइने तीन ÷चार वटा क्यासिनोहरू यस क्षेत्रमा सञ्चालनमा रहेकाले विदेशी पर्यटक आकर्षित गर्न नसकिएको उनले बताए।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले होटलहरूमा क्षमताको ३५ देखि ५० प्रतिशत ग्रहक मात्र आउने गरेकाले दैनिक खर्च धान्नसमेत अहिले समस्या भएको बताएका छन्।

देशकै आर्थिक नगरीका रूपमा रहेको वीरगञ्जमा चारवटा तारे होटल सहित एक सय हाराहरी अन्य होटलहरू सञ्चालनमा रहेका छन्। वीरगञ्जका होटलहरूमा करिब एक हजार पाँच सय जनाले रोजगारी पाएको पन्तले बताए।

५० अर्ब भन्दा बढीको लगानी रहेको वीरगञ्जको होटलहरू ६० प्रतिशत भारतीय पर्यटक र  ४० प्रतिशत औद्योगिक, व्यावसायिक गतिविधिको कारणले चल्ने गरेको उनले बताए।

निजगढ विमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, सिमरा सेज, पर्सा निकुञ्ज आदिलाई आधार मानेर अर्बौं लगानी गरी खोलिएका यसक्षेत्रका होटलहरूमा ती राष्ट्रिय गौरवका योजना निर्माण कार्य सम्बन्धी गतिविधि सुस्त भएकाले गर्दा होटलहरूको कारोबारमा कमी आएको बताइएको छ।

प्रकाशित: ३१ भाद्र २०८० ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App