१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनका चार वर्षः पाइपबाट चार अर्ब लिटर डिजेल आयात

फाइल तस्बीर

पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकरको विकल्पमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपमार्फत डिजेल आयात सुरु गरेपछि करिब चार अर्ब लिटर डिजेल आयात भएको हो। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन(आइओसी) बाट डिजेल ल्याउन सुरु गरेको चार वर्षमा तीन अर्ब ८७ करोड ५३ लाख ५० हजार लिटर (३८ लाख ७५ हजार तीन सय ५० किलोलिटर) डिजेल आयात भएको नेपाल आयल निगमले जनाएको छ।

निगमले २०७६ भदौ २४ गतेदेखि पाइपबाट डिजेल ल्याउन थालेको थियो। पाइपबाट डिजेल ल्याउन थालेपछि धेरै फाइदा भएको नेपाल आयल निगम मधेश प्रदेश कार्यालय बारा, अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले बताए। ‘पाइपबाट नेपालमा डिजेल आयात गर्न सुरु गरेको भदौ २४ गते (आइतबार) चार वर्ष पूरा भएको छ,’ उपाध्यायले भने, ‘ट्यांकरको विकल्पमा पाइप प्रयोग गरेपछि अर्बौं रूपैयाँ बचत भएको छ।’

पाइपलाइन सञ्चालन भएको पहिलो आर्थिक वर्ष २०७६-७७ मा चार लाख ८८ हजार पाँच सय ४८ किलोलिटर डिजेल पाइपबाट आयात गरिएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७७-७८ मा १० लाख तीन हजार एक सय ५० किलोलिटर, आव २०७८-७९मा १२ लाख ८४ हजार चार सय ४९ किलोलिटर, आव २०७९-८० मा १० लाख ३५ हजार तीन सय ६ किलोलिटर डिजेल आयात भएको थियो। चालु आव २०८०-८१ को साउन मसान्तसम्म ६३ हजार आठ सय ९७ किलोलिटर डिजेल पाइपबाट आयात भएको छ।

 यो पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो। पाइप लाइनको कुल लम्बाइ ६८.९१ किलोमिटर छ।

पेट्रोलियम पदार्थ लस हुने, ढुवानीमा धेरै समय लाग्ने, ढुवानी लागत महँगो पर्ने, वातावरण प्रदूषण हुने, ट्राफिक जाम हुने, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने लगायतका समस्या भएपछि ट्यांकरको विकल्पमा पाइपलाइनबाट डिजेल आयात सुरु गरिएको हो।  

पाइपबाट आयात गरेपछि आर्थिक मात्र नभएर वातावरणीय दृष्टिकोणबाट पनि मुलुक र निगमलाई फाइदा पुगेको प्रमुख उपाध्यायले बताए। ‘ट्यांकरबाट ढुवानी गर्दा हुने खर्च बचत भएको छ,’ उपाध्यायले भने, ‘वातावरण प्रदूषण न्यूनीकरणमा पनि टेवा पुगेको छ।’

पाइपबाट आयात गरेपछि आर्थिक मात्र नभएर वातावरणीय दृष्टिकोणबाट पनि मुलुक र निगमलाई फाइदा पुगेको छ। ट्यांकरबाट ढुवानी गर्दा हुने खर्च बचत भएको छ। वातावरण प्रदूषण न्यूनीकरणमा पनि टेवा पुगेको छ। अब पाइपबाट पेट्रोल पनि ल्याउने तयारी भएको छ। – विनितमणि उपाध्याय , प्रमुख, नेपाल आयल निगम ,मधेमश प्रदेश कार्यालय, बारा

मोतिहारीबाट पाइपमार्फत ल्याइएको डिजेल नेपाल आयल निगम मधेश प्रदेश कार्यालय अमलेखगञ्ज डिपोमा भण्डारण गरेर काठमाडौं, पोखरा, भैरहवा, जनकपुरसहितका डिपोमा पठाइन्छ। पाइपबाट डिजेल आयात गर्न थालेपछि प्राविधिक नोक्सानी र तापक्रमबापत ट्यांकर सञ्चालकलाई तिनुपर्ने रकम शून्यमा झरेको निगमले जनाएको छ।

ढुवानी भाडा बच्नुका साथै प्रदूषण पनि न्यूनीकरण भएको छ। परिमाण र गुणस्तरसमेत सुनिश्चित भएको छ। प्राविधिक नोक्सानीमा कमी आएको र ढुवानीका क्रममा हुने चुहावट रोकिएको छ। निगमलाई बजारको आवश्यकता र उपभोक्ताको मागअनुसार पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्रीवितरण गर्न सजिलो भएको छ। ट्यांकरबाट ढुवानी गर्दा लागत महँगो पर्ने, वातावरण प्रदूषण, ट्राफिक जाम, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने समस्या हटेको छ।

अमेरिकामा सन् १९६२ को अन्त्यतिरबाट नै पेट्रोलियम पाइपलाइनको प्रयोग सुरु गरिएको भए पनि नेपालमा करिब ५७ वर्षपछि मात्र पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालिएको हो।  

नेपाल र भारत सरकारबीच सम्झौता भएर आइओसीको सहयोगमा मोतिहारी– अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गरिएको थियो। यो पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो। पाइप लाइनको कुल लम्बाइ ६८.९१ किलोमिटर छ। मोतिहारीदेखि रक्सौल बोर्डरसम्म भारततर्फ ३२.७१ किलोमिटर र रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२ किलोमिटर छ। यसको सुरक्षामा विशेष ध्यान दिइएको छ। अहिले पाइपलाइनको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ।

पहिलो चरणको पाइपलाइन परियोजना चार अर्ब ४० करोड रूपैयाँ लागतमा बनाइएको थियो। त्यसमा भारतले तीन अर्ब २० करोड रूपैयाँ अनुदान दिएको थियो भने एक अर्ब २० करोड रूपैयाँ निगमले लगानी गरेको थियो।

दोस्रो चरणको परियोजनाको कुल लागत करिब तीन अर्ब ३३ करोड रूपैयाँ रहेको छ। त्यसमा निगमले एक अर्ब २८ करोड ५० लाख भारु र आईओसीले ८० करोड भारु लगानी गरेका छन्। पहिलो चरणमा पाइपलाइन निर्माण गरेर डिजेल आयात भइरहेको अवस्थामा दोस्रो चरणको कार्यक्रम अन्तर्गत भण्डारणसहितका आवश्यक पूर्वाधार तयार गरेर पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी भइरहेको छ। पाइपबाट पेट्रोल आयात गर्न आयल निगमको मधेश प्रदेश कार्यालय बारा अमलेखगञ्जमा ४१ सय किलोलिटरका दुई वटा इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ। दुई सय ५० किलोलिटरको इन्टरमिक्स ट्यांक र ३१ सय किलोलिटरका दुई वटा वाटर स्टोरेज टयांक निर्माणको काम पनि भइरहेको छ। यसका अतिरिक्त अमलेखगञ्जमा आयल निगमबाट पनि ५–५ हजार किलोलिटरका दुई वटा भण्डारण ट्यांक निर्माणाधीन छन्।

भण्डारण ट्यांकसहित पाइपबाट पेट्रोल आयातका लागि आवश्यक पूर्वाधार तयार गरेपछि पाइप लाइनबाट पेट्रोल ल्याउने तयारी भइरहेको प्रमुख उपाध्यायले बताए। ‘आगामी चैतसम्म पूर्वाधार निर्माण गरेर पाइपबाट पेट्रोल ल्याउने तयारी छ,’ उपाध्यायले भने, ‘धमाधम काम भइरहेको छ।’

पाइप लाइनबाट पेट्रोलसमेत आयात सुरु भएपछि नेपाल आयल निगमलाई मात्र नभएर सरकार र आम उपभोक्तालाई पनि फाइदा पुग्नेछ। पाइप लाइनको क्षमता प्रति घण्टा दुई सय ५० किलोलिटर रहेको छ। यसलाई दैनिक २४ सै घण्टा सञ्चालन गर्न सकिन्छ। पाइपलाइन बनेपछि उपभोक्ताको मागका आधारमा पेट्रोलियम पदार्थ बिक्री गर्न सहज भएको छ। मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनबाट धेरै फाइदा पुगे पनि यसलाई चितवनको लोथरसम्म विस्तार गर्ने कार्य पनि अघि बढेको छ। अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन निर्माण गर्न इन्डियन आयल कर्पोरेसनले सहयोग गर्ने भएको छ। गत जेठको तेस्रो साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवं ग्यास मन्त्री हर्दिप सिंह पुरीले पाइपलाइन निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो।

नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलिगुढीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, झापा र चितवनमा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सम्झौता भएको हो। भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल अनुदानमा निर्माण गरिदिने छ भने चितवनको ग्रिनफिल्ड टर्मिनल नेपाल आयल निगमकै लगानीमा निर्माण गर्ने योजना छ। चितवनसम्म पाइपलाइन विस्तार गरेपछि पेट्रोलियम पदार्थको बिक्री वितरण थप व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ भाद्र २०८० ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App