सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर, आठमहिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख नाघेको छ। अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ६७ हजार १ सय ५३ रहेको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अबको समय पर्यटनको मुख्य सिजन भएकोले पनि पर्यटक आगमन हुने भएकोले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने बताउँछन्। यसअघि सन् २०१९ मा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिएका थिए। कोरोना भाइरस संक्रमण अघिको त्यो वर्षको अगष्ट महिनामा नेपालमा ९४ हजार ७४९ जना विदेशी पाहुना भित्रिएका थिए।
‘अगष्ट महिनाको आगमन पनि कमजोर होईन। २०१९ को तुलनामा ७० प्रतिशत हाराहारीमा रिकभर भएको छ,’ लामिछानेले भने, ‘अघिल्ला केही महिनाको रिकभर दर ९० प्रतिशत भन्दा बढि थियो। तर, अगष्टको रिकभर दर भने ७० प्रतिशत छ।’
सरकारको लक्ष्य पुरा गर्न अब चारलाख विदेशी पर्यटक भित्रिनुपर्ने भएपनि त्यो संख्या पुरा हुने लामिछानेको दावि छ। ‘अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल भित्रिए मात्र सरकारी लक्ष्य पुरा हुन्छ। हामीलाई विश्वास छ की त्यो आकार पुरा हुुन्छ,’ उनले भने। अबको समय पर्यटनको मुख्य सिजन भएकोले पनि पर्यटक पर्याप्त मात्रामा नेपाल भित्रिनेछन्।
त्यस्तै अबको समयलाई पदयाको सिजन पनि मानिने भएकोले पदयात्राका लागि पर्यटक आउने उनको भनाई छ। ‘सेप्टेम्बरदेखि नोभेम्बर मुख्य सिजन हो। त्यसैले अबको समय पर्यटन क्षेत्रमा महत्वपूर्ण मानिन्छ,’ उनले भने, ‘अबको चार महिनामा चारलाख पर्यटक पक्का आउनेछन्। अहिले हवाई कनेक्टिभिटी बढिरहेको पनि छ। त्यस्तै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान सुरु हुन थालेकोले आगमनमा सहज हुनेछ।’
गौतमबुद्धमा उडान हुँदा लुम्बिनीका लागि पर्यटक बढ्ने अपेक्षा रहेको उनले बताए। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत उडान गर्दा लुम्बिनी आउने बुद्धिष्ट पर्यटक बढाउन सकिन्छ,’ उनले भने। बोर्डका अनुसार कोरोना भाइरस संक्रमणका कारण २०२० देखि पर्यटक आगमन ओरालो लाग्न थालेको थियो। सन् २०२२ का अगष्ट महिनाको आगमन ४१ हजार ३ सय ४ थियो ।कोरोनाले त्रसित बनाएको बेला २०२१ अगष्ट महिनाको आगमन जम्मा ६ हजार ९३ थियो।
नेपालमा गत जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३, मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका थिए। त्यसैगरि जुन महिनामा ७२ हजार २ सय ५० र जुलाईमा ५७ हजार ७ सय २६ जना भित्रिएका थिए। अगष्ट महिनामा भित्रिएका ६७ हजार १ सय ५३ सहित नेपाल भित्रिएका पाहुनाको संख्या ६ लाख १ हजार ३ सय ६० पुगेको छ।
पछिल्लो अगष्टमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। यो महिनामा नेपाल भित्रिने भारतीयको संख्या २६ हजार ६ सय ६५ रहेको छ। दोश्रोमा चिनियाँ पाहुनाको आकार ठुलो छ। अगष्ट महिनामा ५ हजार २७ जना चिनियाँ पाहुना भित्रिएका छन्। त्यस्तै यो महिनामा भित्रिने अमेरिकी पाहुनाको संख्या ४ हजार ६ सय २९ रहेको छ। अगष्ट महिनामा ३ हजार ८ सय ५८ जना श्रीलंका र ३ हजार १ सय ९० जना बंगलादेशका पाहुना भित्रिएका छन्।
प्रकाशित: १५ भाद्र २०८० ०९:०५ शुक्रबार