७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुल्मीका किसान केरा खेतीमा आकर्षित

गुल्मीको मालिका गाउँपालिका ६, अर्जै निवासी पितमकुमारी अर्याल ६१ वर्षकी भइन्। बुढ्यौलीतर्फ ढल्किए पनि उनको जाँगर कुनै युवाको भन्दा कम छैन्। २०६४ सालमा ४/५ बोटबाट केरा खेती सुरु गरेकी अर्यालले अहिले ४ रोपनी क्षेत्रफलमा केरा र तरकारी खेती गरेकी छिन्। व्यावसायिक रूपमा गरेको तरकारी तथा केरा खेतीबाट छोराछोरीको पढाइ तथा घर खर्च चलाउँदै आएको उनले बताइन्।

‘केरा खेतीले मैले घरपरिवारको खर्च चलाएकी छु, उनले भनिन्, ‘गभारो किरा र रोगले समस्या दिएको त छ तर राम्रै भइरहेको छ।’

अर्यालले जस्तै सोही वडाका धनिश्वर बिष्ट वर्षौदेखि केरा र तरकारी खेती गर्दै आएका छन्। बिष्टको कृषिकर्म देखेर जो कोही लोभिन्छन्। उनले तरकारी र फलफूल बिक्री गरेरै घरखर्च र परिवारको दैनिकी धान्दै आएका छन्। विष्टका ९ छोरा छन्। उनका ९ छोरामध्ये ७ भाइ सरकारी सेवामा १ छोरा अमेरिका र १ छोरा व्यवसायमा आवद्ध छन्।

पछिल्लो समय उनलाई छोराले समेत सघाउँदै आएका छन्। शिक्षक समेत रहेका छोरा अर्जुन बिष्टले २०७१ सालदेखि विभिन्न प्रजातिका १ सय ५० बोट फलफूल विस्तार गरेका छन्। बिष्ट परिवारले केरा र तरकारी खेतीबाट वार्षिक चारदेखि पाँचलाख रूपैयाँसम्म आम्दानी गरेका छन्।

पछिल्लो समय ग्रामीणक्षेत्रका कृषकको केराखेतीमा आकर्षण बढ्दै गएको छ। यहाँका किसानले आयआर्जन गर्न व्यावसायिक रूपमा केराखेती गर्न थालेका छन्। विषादीको प्रयोग बिना गाउँमै उत्पादन भएकाले केराले राम्रो बजार पाएको छ। लोकल केरा प्रतिगोटा २० रूपैयाँमा गाउँमै खोसाखोस हुन्छ। थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका हुन्।

धान, मकै जस्ता अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी लिन सकिने कृषक बताउँछन्। अन्नबाली जस्तो धेरै मेहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि राम्रै हुने भएकाले अन्य बाली लगाउन छोडेर केरा खेती गरिएको कृषकहरूले बताएका छन्। उनीहरूले लोकल मालभोग, मर्चे, हरिसाल, ठूलाकोसे र हजारी केरा उत्पादन गर्दै आएका छन्।

मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन्।

मालिका गाउँपालिकाका प्राविधिक प्यारिलाल फडेराले आवश्यक ज्ञानसिप र माटो अनुसारको बिरुवा नरोप्दा चाहेजति उत्पादन हुन नसकेको बताए। ‘तापक्रम, माटो, हावापानी सबै मिल्नुपर्छ’, उनले भने, ‘केरालाई सरसफाइ उत्तिकै आवश्यक पर्छ।’

केरामा लाग्ने रोग किरा र प्राविधिक ज्ञानको अभावका कारण गुल्मीका कृषकले केराबाट मनग्य आम्दानी भने लिन सकिरहेका छैनन्। वडा कार्यालयले कृषकको समस्या पहिचान गरी समधान गर्न वडामा कृषि प्राविधिक समेत राखेको छ। व्यावसायिक कृषि तथा फलफूल खेती गर्ने कृषकलाई प्राविधिक मार्फत आफ्ना समस्या राख्न र समधान गर्न उचित कार्यक्रम गरिने जनप्रतिनिधि बताउँछन्।

जिल्लाका १२ स्थानीय तहमा केरा खेतीको राम्रो सम्भावना छ। कृषि पेशामा भविष्य खोज्दै होमिएका कृषकलाई आवश्यक तालिम, सिप र प्राविधिक ज्ञानको प्रबन्ध मिलाउन सके यसले कृषिक्षेत्रमा टेवा पुग्ने देखिन्छ।

प्रकाशित: ३१ श्रावण २०८० ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App