२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

डिजेल चोरीः बिलमा १२ हजार लिटर तर,ट्यांकरमा भने १५ हजार लिटर भन्दा बढी

बिलमा उल्लेख गरेको भन्दा बढी इन्धन लोड भएको फेला पारेपछि प्रहरीले ट्यांकरलाई नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमको गण्डकीको गगनगौंडास्थित डिपोबाट इन्धन लोड गरेर बाहिरिएको ग २ ख ८३६ नम्बरको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो।  

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार ट्यांकरमा सबैगरि १५ हजार १ सय ९ लिटर डिजल थियो। तर, डिपोबाट जारी भएको बिलमा भने १२ हजार लिटर मात्र उल्लेख गरिएको थियो। 

‘बिलमा भन्दा ३ हजार १ सय ९ लिटर बढी इन्धन ट्यांकरमा फेला पारेपछि अनुसन्धानका लागि पक्राउ गर्न निर्देशन दिइएको हो,’ ढकालले भने, ‘बिलमा उल्लेख गरेको भन्दा बढी इन्धन बोकेर ट्यांकर बाहिरिएको सूचनाका आधारमा पक्राउ गरिएको हो।’

लेखनाथमै पश्चिमाञ्चल पेट्रोल पम्पको नाममा ट्यांकरले इन्धन लिएर डिपोबाट बाहिरिएको थियो। डिपो प्रमुख चितरञ्जन दास सम्पर्कमा नरहेको ढकालले बताए। ‘अनुसन्धानका लागि ट्यांकरलाई सिल गरेर प्रहरीको नियन्त्रणमा राखिएको छ। 

‘निगमनमा डिपो प्रमुखसँग सम्पर्क पनि भएको छैन, उहाँ सम्पर्कमा पनि आउनुभएको छैन,’ ढकालले भने, ‘कुन उद्देश्यले बिलमा भन्दा बढी इन्धन लोड भयो भन्ने बारेमा अनुसन्धान भईरहेको छ। अहिले नै सबै कुरा यकिन भएन।’ श्रोतका अनुसार चोरी गरेर बढी इन्धन ट्यांकरमा लोड गरिएको आशंका छ।  

प्रकाशित: २६ श्रावण २०८० ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App