२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजस्व गुम्दै, तस्करी मौलाउँदै

नेपालगन्जस्थित कोरियनपुरबाट बरामद गरिएका सामान र ट्रक। फाइल तस्बिर

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ।

लगातार किन घाटा व्यहोरिरहेको छ त भन्सार कार्यालयले ?, ‘खुला सीमा नाका कारण दैनिक ठूलो परिणामले हुने अवैध चोरी पैठारी र तस्करी।’ भन्सार कर्मचारी, त्यहाँ परिचालन भएका सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी हुने गरेको बेलाबेला आरोप लाग्दै आएको छ। असार ११ गते नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे१ख ३३४८ नम्बरको ट्रकसहित ठूलो परिणाममा सामान बरामद भयो। अवैधरुपमा भारतबाट भन्सार छलि पैठारी गरी ल्याएको करिब १७ लाख ५२ हजार बराबरको मालसामान बरामद भएको थियो। 

त्यसमा ६० बोरा चिनी, तीन सय पेटी स्वायबिन तेल, ५० पोका सुपर पावर सुर्ती थिए। यति ठूलो परिणाममा सामान सहजै भन्सार पास हुनु भनेको कहीँ न कहीँ मिलेमतोको सङ्केत गर्छ। सामान्य सर्वसाधारणले एक बोरा चामल ल्याउँदासमेत अनेक झन्झट व्यहोर्नु पर्ने अवस्थामा मिलेमतोबिना यति ठूलो परिणाममा ट्रकबाटै कसरी सामान भित्राउन  सकिन्छ भन्ने प्रश्न उब्जिएका छन्। यति मात्र होइन, भन्सार छलेर नेपालगन्ज, कोहलपुर, खजुरा क्षेत्रमा पुर्‍याइएका सानाठूला परिणामका सामान बेलाबेला प्रहरीले बरामद गर्छ।

यसरी दैनिक भन्सार छली चोरी पैठारी गरेर सामान आयात हुँदा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ। बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै यही भएको कतिपयको भनाइ छ। राजस्वको लक्ष्य भेटाउन नसक्नुको प्रमुख कारण भने आयात घट्नु भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। ‘पछिल्लो समय भारतबाट आयात घट्दो छ,’ नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भने, ‘जसका कारण, हाम्रो राजस्वको लक्ष्य पूरा हुन सकेन।’ उनका अनुसार पेट्रोलियम पदार्थमा धेरै कम आयात भएको छ। जसबाट करिब तीन अर्ब बराबरको राजस्व घाटा भएको उनी बताउँछन्।

सीमा क्षेत्रमा जति सुरक्षा नीति अपनाए पनि तस्करी नियन्त्रण भएको देखिँदैन। खुला सीमा क्षेत्रका कारण पनि अवैधरुपमा भारतबाट भन्सार छलि पैठारी हुने गरेको छ। यसको प्रभाव राजस्व सङ्कलनमा परेको देखिन्छ। आर्थिक वर्ष २०७९÷०८० मा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२.५ प्रतिशत मात्र राजस्व संकलन ग¥यो। ‘भारतले चिनीमा समेत आयातमा कडाइ गरेको छ। 

पछिल्लो समय चिनीमा कोटा निर्धारण गर्दा जमुनाह नाकाबाट चिनी कम आयात भएको छ,’ उनले भने, ‘जसबाट करिब डेढ अर्ब बराबर राजस्व गिरावट भएको छ।’ भारतले चामलमा समेत प्रतिबन्ध लगाएपछि झनै राजस्व संकलन कम भएको भन्दै उनले भने, ‘चामलमा प्रतिबन्ध लगाउँदा करिब ५०÷६० करोड राजस्व घट्यो।’ सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीले राजस्व सङ्कलनमा प्रभाव नपारेको उनको भनाइ छ। ‘साना साना समानमा चोरी पैठारी हुन्छन्,’ उनले भने, ‘त्यसले ठूलो प्रभाव पार्दैन। सामान्य असर भने पु¥याएको छ।’ ‘चोरी पैठारी नियन्त्रणका लागि हामीले कुनै कसुर बाँकी राखेको छैनौँ,’ उनले भने, ‘चोरी पैठारी गर्नु हुँदैन र गर्न पनि दिँदैनौँ।’

प्रकाशित: २३ श्रावण २०८० १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App