२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

एकलाख बढी पशुमा लम्पी स्कीन विरुद्धको खोप

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको नियन्त्रणको लागि प्रदेश सरकारले खोप खरिद गर्न बजेट विनियोजन गरेको छ। 

रोगको रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले ३३ लाख रुपैयाँको औषधी खरिद गरी जिल्लास्थित पशु कार्यालयमा पठाइएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकार गठन भएको एकसय औं दिनको कार्यक्रम सार्वजनिक गर्दै प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ३३ लाख रुपैयाँ बराबरको औषधी खरिद गरेर जिल्ला कार्यालयमा पठाइएको सुनाए। ‘सरकारले एक करोड १० लाख रुपैयाँ तत्काल विनियोजन गरी खोप खरिद गर्न जिल्लास्थित कार्यालयमा पठाएर औषधी, खोप र जनशक्ति उपलब्ध गराइएको छ,’ मुख्यमन्त्री पाण्डेले शनिबार आफ्नो नेतृत्वमा बनेको सरकारको सय दिनको कार्यक्रम सार्वजनिक गर्दै सुनाए, ‘प्रदेशभित्र यो अवधिमा १ लाख ३ हजार २ सय ३० पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ।’ 

पछिल्लो समय पशुमा लम्पी स्किन डढेलोसरी फैलिएको छ। प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किन फैलिएको छ। हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा समेत पशुमा लम्पी स्कीनको संक्रमण भेटिएको थियो। कास्कीमा लम्पी स्कीनको संक्रमण अन्य जिल्लाको तुलनामा बढी नै देखिएको छ। 

पशु पंक्षी तथा मत्स्य विकास निर्देशानालय गण्डकी प्रदेशका सूचना अधिकारी डा. राजेश चौधरीका अनुसार कास्कीमा १८ हजार भन्दा बढी पशु संक्रमित भएका छन्। कास्कीमा साढे ४१ हजार गाई र भैँसी ५० हजार पालन गरिएको तथ्यांक छ। गण्डकी प्रदेशमा ६९ हजार ८४० पशुमा लम्पी स्किन संक्रमित भएको तथ्यांकले देखाएको छ। उनका अनुसार केही दिन यता संक्रमण बढेको छ। साउन १४ सम्मको तथ्यांकलाई केलाउँदा गण्डकी प्रदेशमा ३ हजार २ सय ४६ पशु लम्पी स्किन रोगबाट मरेको उनले बताए।

‘लम्पी नयाँ रोग हो’ केन्द्रका प्राविधिक अधिकृत पुष्पराज बाँस्तोलाले भने, ‘रोगको संक्रमण नियन्त्रण गर्न आवश्यक खोप समेत लगाइयो।’ लम्पीको संक्रमण देखिएपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने, खुट्टा सुनिने गर्छ। दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने उनको भनाई थियो। भेटेरेनरी अस्पतालले पशु चौपायामा पूर्ण खोप अभियान चलाउँदै आएको छ। लम्पी स्किन सरुवा रोग हो। संक्रमित पशुलाई माखा वा लामखुट्टेले टोकेर अन्य पशुलाई टोके लम्पी स्किन सर्छ। ‘लम्पी लागेपछि उपचार नपाए चौपाया बढीमा १५ दिनभित्र मर्ने गर्छन्,’ उनको भनाई थियो। 

राजेश चौधरीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँछ। शरीरको टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिन्छन। गिर्खा फुटेर घाउ नै बन्छ। पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ। बिरामी पशुको गर्भ तुहिने तथा बाँझोपना पनि देखिन सक्ने उनले बताए। लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग पशुमा सर्छ । त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ।

उनका अनुसार यो रोगको खास उपचार छैन। प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार मात्र गर्ने हाे। ‘बिरामीलाई खोप लगाउन मिल्दैन। रोग संक्रमित क्षेत्रका स्वस्थ पशुलाई मात्र खोप लगाइदिने हो,’ उनले भने, ‘ज्वरो आए औषधि खुवाउने, गिर्खा फुटेर घाउ भउमा मल्हम लगाउने र आराम गराउँदै रुची अनुसारको दानापानी खुवाउनु नै उपचार हो।’ पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एकप्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ।

प्रकाशित: २० श्रावण २०८० ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App