३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यावसायिक पशुपालनमा आकर्षण

बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्छन्। उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ। बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घरछेउमा आएर हर्न बजाउँछ। उनले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो उठाएर लैजान्छ। यो क्रम पाँच वर्षदेखि उनको घरमा चल्दै आएको छ।

बाँकेको कोहलपुर नगरपालिका-१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रूपमा पशु व्यवसायी बनेका छन्। गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई  फार्म दर्ता गराएर पशु व्यवसायी बनेका उनलाई हिजोआज भियाईनभियाई छ। बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रूपमा नै गर्न सुरु गरेका शशीरामको फार्ममा अहिले ‘होलस्टेन क्रस’ प्रजातिका सात गाई छन्। सुरुमा दुई गाईबाट व्यवसाय गरेका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको संख्या बढाएको बताए।

‘व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालें। त्यसबाट चित्तबुझ्दो भएपछि पाँच गाई थपेको हुँ।’ उनले भने।

अरू व्यवसाय गर्न पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशा अँगालेको उनले बताए।

बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्छन्। उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ।

गाईलाई दानापानीमै मासिक ५० हजार रुपैयाँ हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजार रुपैयाँसम्म हुने उनको भनाइ छ। सोचे जस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उनले बताए।

‘हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा ६४ रुपैयाँ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सयदेखि एक सय २० सम्म हुँदा पनि गर्न मन लाग्नु भनेको एक प्रकारको बाध्यता पनि हो।’

उनले भने, ‘पढाइलेखाइ धेरै र हातमा अरू नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथें।’

शशीरामले झैं दूध बेचेरै घरखर्च चलाउँदै आएको छ राम सुहवन यादवले पनि। उनले पनि पुर्खाले अपनाउँदै आएको पशु पालनलाई व्यावसायिक रूपमा अघि बढाउन ‘यादव भैंसीपालन फार्म’ दर्ता गराएका छन्। २० लाख रुपैयाँ खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज एक सय ३० भैंसी पालेका छन्। उनको फार्ममा तीमध्ये यो समयमा ३५ भैंसीले दूध दिन्छन् भने बाँकी भैंसी ब्याउने चरणमा छन्।

बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध संकलनका लागि पठाउने गर्छन्। त्यसरी दूध संकलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एसके दूध डेरी र डिडिसी दूध डेरी छन्। खर्च र आम्दानी ठ्याक्कै भन्न नसकेका राम सुहवनले मासिक नाफा भने ५० देखि ६० हजार रुपैयाँसम्म हुने गरेको बताए।

शशीरामले झैं दूध बेचेरै घरखर्च चलाउँदै आएको छ राम सुहवन यादवले पनि। उनले पनि पुर्खाले अपनाउँदै आएको पशु पालनलाई व्यावसायिक रूपमा अघि बढाउन ‘यादव भैंसीपालन फार्म’ दर्ता गराएका छन्।

सरकारले ल्याएको पशु बीमा अन्तर्गत उनले पनि बीमा गराएको बताए तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उनले बताए।

‘बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ।’ उनले भने, ‘हामी किसानलाई दिनभरि बीमा रकमका लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद? हामीले त पोहोरदेखि नै बीमा गराउन छाडेका छौं।’

शशीराम र राम सुहवन जस्तै व्यावसायिक पशुपालन गरेर सात वर्षदेखि दूध बेच्दै आएका छन् बर्दियाका गोविन्द उपाध्यले पनि। पन्ध्र गाईबाट व्यवसाय गर्न थालेका उनले अहिले ४४ गाईको रेखदेख गर्दै छन्।

२०७३ सालमा एकता पशुपालन फार्म दर्ता गराएर उनले व्यावसायिक रूपमा नै पशुपालन गर्दै आएका हुन्। निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उनले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाई पाल्न थालेको बताए।

जर्सी र होलस्ट्रेन क्रस प्रजातिका गाईबाट उनले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्छन्। किसानबाट उपभोक्तासम्म ३० देखि ४० रुपैयाँको फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उनको भनाइ छ।

आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आएका गोविन्दको मासिक खर्च तीन लाख रुपैयाँको हाराहारीमा हुन्छ भने आम्दानी तीन लाख ७० हजार रुपैयाँ हुने गर्दछ। दूधबाट उनलाई पनि सरदरमा मासिक ४०/४५ हजार रुपैयाँको नाफा हुने गर्दछ। पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गरेका छन्।

शशीराम र राम सुहवन जस्तै व्यावसायिक पशुपालन गरेर सात वर्षदेखि दूध बेच्दै आएका छन् बर्दियाका गोविन्द उपाध्यले पनि। पन्ध्र गाईबाट व्यवसाय गर्न थालेका उनले अहिले ४४ गाईको रेखदेख गर्दै छन्।

किसानद्वारा उत्पादित दूधलाई संकलन गरेर आत्मनिर्भर बनाउन निकै ठूलो सहयोग गरेको छ ‘एसके डेरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ बाँकेले। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२२ को पुरैनीमा रहेको उक्त दूध डेरीमा बाँके र बर्दियाका गरी पाँच हजार किसानले दूध संकलन गर्छन्। प्रालिका प्रोडक्सन इन्चार्ज सन्तोष पोखरेलका अनुसार २०७६ सालदेखि उक्त उद्योगले किसानका दूधलाई संकलन गर्दै आएको छ। सो प्रालिमा ३२ कर्मचारी छन्। उनका अनुसार किसानबाट संकलित दूध चिसो बनाएर प्रयोगशालामा परीक्षण गर्दै परामिटरले परीक्षण गरेर दूधको ‘फ्याट’ निकाल्ने गरिन्छ।

फ्याटबाट निकालिएको दूधलाई चार डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिर लगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उनले बताए।

 ‘हामीले किसानबाट संकलन गरेका दूधलाई चार डिग्रीको चिसो तापक्रममा राखेर दूधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौं।’

उनले भने, ‘हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकिङ गरेर राखिएका सामान बिग्रने सम्भावना हुँदैन। हामीले गुणस्तरलाई बढी ध्यान दिएका छौं।’

प्रालिक प्रोडक्सन इञ्चार्ज पोख्रेलका अनुसार प्रत्येक दिन किसानबाट दुई हजार पाँच सय लिटर दूध संकलन गरेर पाँच सय लिटरको पनिर, एक हजार दुई सय लिटर दूध, तीन सय लिटरको आइसक्रिम र दही सिजन अनुसार पाँचदेखि हजार लिटरसम्म बनाइन्छ।

फ्याटबाट निकालिएको दूधलाई चार डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिर लगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उनले बताए।

यसरी बनाइएका दूधका परिकार बाँकेमा मात्र नभई बर्दिया, दाङ, सुर्खेत, जुम्लादेखि काठमाडौंसम्म जाने गर्छ। साढे पाँच कट्ठाको क्षेत्रफलमा निर्मित उक्त दूध डेरी बनाउन सबै मेसिन भारत र चीनबाट ल्याइएको उनले बताए।

अनुदान बिना तीन युवाले मिलेर आठ करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो।  

प्रकाशित: १ श्रावण २०८० ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App