२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इन्धनको मूल्य घटेर आउँदा घट्ने, बढ्दा बढ्ने

पूर्ण स्वचालित मूल्य प्रणाली लागु

उपभोक्तालाई भार पर्ने गरी उच्च नाफा राखेर इन्धन कारोबार गरेको आरोप खेप्दै आएको नेपाल आयल निगमले पहिलो पटक ‘पूर्ण स्वचालित मूल्य प्रणाली’ लागु गरेको छ। परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राखेर मूल्य निर्धारण गरी स्वचालित मूल्य प्रणाली कार्यान्वनयमा ल्याएको हो।

खाना पकाउने ग्यासमा भने नाफा नै नराखी स्वचालित मूल्य लागु गर्ने निर्णय गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए। ‘डिजेल र पेट्रोलमा दुईदेखि साढे दुई प्रतिशतसम्म मात्र नाफा राखेर मूल्य निर्धारण गर्छौं,’ थानीले भने, ‘अब हरेक १५/१५ दिनमा मूल्य बढेर आउँदा बढ्छ र घटेर आउँदा घट्छ।’

जनताको भावना अनुसार स्वचालित मूल्यमा जाने निर्णय गरेको थानीले बताए। निगमले इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास, हवाई इन्धन आयात गरेर बिक्री गर्दै आएको छ।

स्वचालित मूल्य प्रणाली मूल्य निर्धारणको वैज्ञानिक प्रणाली हो। यो प्रणालीमा निगमले आफू अनुकूल मूल्य लाद्न पाउँदैन। अब मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले पाउँछन् भने मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै व्यहोर्छन्।

स्वचालित मूल्य प्रणाली लागु गर्दा यसको लाभ उपभोक्तालाई हुन्छ। निगमको पूर्ण स्वचालित मूल्यमा जाने निर्णय स्वागतयोग्य भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘यो प्रणालीबाट उपभोक्ता लाभान्वित हुनेछन्,’ तिमल्सिनाले भने।

आम उपभोक्ता, विज्ञ तथा सरोकारवालाले इन्धनको मूल्य निर्धारण स्वचालित मूल्य प्रणालीमा जानुपर्ने आवाज उठाउँदै आएका थिए। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० स्वीकृत गरेर कार्यान्वनयमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले बताए।

डिजेल र पेट्रोलमा दुईदेखि साढे दुई प्रतिशत मात्र नाफा राखेर मूल्य निर्धारण गर्छौ। खाना पकाउने ग्यासमा नाफा नै राख्दैनौं। अब हरेक १५/१५ दिनमा मूल्य बढेर आउँदा बढ्छ र घटेर आउँदा घट्छ।

-उमेशप्रसाद थानी, कार्यकारी निर्देशक, नेपाल आयल निगम

‘उपभोक्ताको हितलाई ध्यानमा राखेर स्वचालित मूल्य प्रणालीमा जाने निर्णय भएको हो,’ मरासिनीले भने ।स्वचालित मूल्य प्रणालीबाट निगमले आइतबार रातीदेखि नै कार्यान्वयनमा आएको छ। यो प्रणाली अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ६ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ४ रूपैयाँ र ग्यास प्रति सिलिन्डर १० रूपैयाँ मूल्य घटाएको छ।

नयाँ मूल्य अनुसार क वर्गमा पर्ने क्षेत्रमा पेट्रोल लिटरको १ सय ६१ रूपैयाँ ५० पैसा, ख वर्गमा १ सय ६३ रूपैयाँ र ग वर्गमा १ सय ६४ रूपैयाँ कायम गरिएको छ।

त्यसैगरी, डिजेल क वर्गमा लिटरको १ सय ४३ रूपैयाँ ५० पैसा, ख वर्गमा १ सय ४५ र ग वर्गमा १ सय ४६ रूपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य सिलिन्डरको १८ सय रूपैयाँबाट घटाएर १७ सय ९० रूपैयाँ कायम गरिएको छ। हवाई इन्धनमा भने निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छैन।

स्वचालित मूल्य अनुसार मूल्य निर्धारण गरेपछि भारतमा भन्दा नेपालमा इन्धन सस्तो रहेको छ। भारतको सीमा क्षेत्र रक्सौलमा भन्दा नेपालमा पेट्रोल लिटरमा १३ रूपैयाँ २७ पैसा, डिजेल ९ रूपैयाँ २४ पैसा सस्तो रहेको छ। त्यसैगरी, हवार्ई इन्धन लिटरमा २३ रूपैयाँ ८१ पैसा र खाना पकाउने एलपी ग्यास सिलिन्डरमा १ सय ३६ रूपैयाँ ६० पैसा सस्तो रहेको छ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको हो। उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण स्वचालितमा जाने निर्णय भएको हो।

-मधु मरासिनी, सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

पूर्ण स्वचालित मूल्य प्रणालीमा जान नेपाल आयल निगमको यसअघिको नेतृत्वले आलटाल गर्दै आएको थियो। निगमको कार्यकारी निर्देशकमा थानी आएपछि निगम भित्रकै कर्मचारी स्वचालित मूल्यमा जान त्यति धेरै रुचि देखाएका थिएनन्। थानीको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष मरासिनी सहमत भएपछि कार्यान्वयनमा आएको छ।

मूल्य निर्धारण गर्दा निगमले आइओसीबाट खरिद मूल्यमा सरकारी कर तथा राजस्व, निगमको खर्च, ढुवानी भाडा, बिक्रेताको खर्च तथा मुनाफासमेत जोड्छ। त्यसमा सरकारी कर तथा राजस्वमा भन्सार तथा प्रज्ञापन, कर, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोष शुल्कसमेत जोडिन्छ। निगमको खर्चमा प्रशासनिक एवं बिक्री खर्च, बिमा खर्च, प्राविधिक नोक्सानी, ऋणको ब्याज खर्चसमेत जोडिन्छ। त्यसमा अब डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राखेर मूल्य निर्धारण गरिन्छ।

प्रकाशित: १ श्रावण २०८० ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App