२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन बोर्डले सवा अर्ब रुपैयाँको बजेट ल्याउँदै

पर्यटन बोर्डले आगामि वर्ष ल्याउने बजेटबारे निजी क्षेत्रसँग गरेको छलफल। तस्बिरः नागरिक

नेपाल पर्यटन बोर्डले आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि करिब सवा अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। आगामि आर्थिक वर्षका लागि ल्याउन थालेको बजेटबारे बोर्डले निजी क्षेत्रसँग छलफल गरेको थियो। त्यसक्रममा निजी क्षेत्रसँग राय सुझाव समेत मागिएको थियो।

बजेट समितिका संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब सवा अर्ब रुपैयाँ भित्रको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका थिए। संयोजक देवकोटाका अनुसार आगामी आर्थिक वर्षको बजेटको करिब ८० प्रतिशत रकम अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रर्वद्धन तथा पूर्वाधारमा खर्चिने योजना रहेको जानकारी दिए।  

‘बोर्डको मुख्य काम नै पर्यटन प्रवद्र्धन हो, त्यसैले अधिकतम रकम प्रवद्र्धनमा खर्च हुनेछ,’ देवकोटाले व्यावसायीसँग भने। बोर्डमा आयोजित छलफलमा विगत वर्षहरुको बजेटको समीक्षा सहीत नयाँ बजेटबारे निजी क्षेत्रको राय सुझाव माग गरिएको थियो।  

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पर्यटन बोर्डले अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिने विदेशी पर्यटकसँग एकजनाको एकहजार रुपैयाँको दरले शुल्क लिन्छ। पर्यटक सेवा शुल्क भनेर नेपाली बाहेक सबै विदेशी मुलुकका नागरिकले अन्तर्राष्ट्रिय विमानस्थल भएर बाहिरिँदा प्रतिव्यक्ति एकहजार रुपैयाँ शुल्क तिर्नुपर्छ। बोर्डले त्यो रकम सम्बन्धित हवाई कम्पनिबाट संकलन गर्छ।

त्यस्तै पदयात्रा व्यवस्थापन सूचना प्रणालि (टिम्स)बापत पनि संकलन भएको रकम पनि बोर्डको आम्दानीको अर्काे मुख्य श्रोत हो। टिम्सबापत संकलित रकममध्ये ३० प्रतिशत बोर्ड, ३० प्रतिशत टान, ३० प्रतिशत टान र बोर्डको संयुक्त र १० प्रतिशत मजदुर कोषका लागि छुट्याइन्छ। टान र बोर्डको संयुक्त कोषमा रहेको रकममध्ये अधिकतम पदयात्रा क्षेत्रको व्यवस्थापनमा खर्च हुने गरेको लामिछानेले बताए।

त्यसबाहेक अन्तर्राष्ट्रिय मेला–महोत्सवमा सहभागि भएबापत व्यावसायिक क्षेत्रले तिर्नुपर्ने बजेट पनि बोर्डको आम्दानीको श्रोत रहेको छ। बोर्ड पोहोर पनि सवा एकअर्ब रुपैयाँको बजेट ल्याएको थियो। ‘कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला वर्ष बोर्डको आम्दानी कम भएको थियो। तर, योवर्ष पर्यटक आगमन बढेकोले बोर्डको आम्दानी पनि बढ्नेछ,’ बोर्डका सूचना अधिकारी समेत रहेका लामिछानेले भने, ‘योवर्ष विदेशी पाहुनाको आगमन बढेकोले आम्दानी पनि बढ्ने पक्का छ।’ सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको छ।

बजेटबारे निजी क्षेत्रसँगको छलफलका क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिले बोर्डको बजेट डिजिटलाइजेशनमा जोड दिएका थिए। उनीहरुले कार्यान्वयन हुने खालको बजेट ल्याउन पनि बोर्डलाई सुझाव  दिएका थिए। अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा परम्परागत भन्दा पनि नयाँ ढंगले गर्न बोर्डलाई निजी क्षेत्रको सुझाव थियो। बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा निजी क्षेत्रलाई बढि भन्दा बढि सहभागिता गराउन पनि सुझाव दिएका थिए।  

बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्र मैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए। उनले छलफलका क्रममा निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको उल्लेख गर्दै ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रुप दिइने बताए।  

यस्तै बोर्डका सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको र यसले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने पनि बताए। छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफिक एशोसिएसन अफ ट्रावल एजेन्टस (पाटा) ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाटा) लगायतका संस्थाका प्रमुखहरुले बोर्डको आगामी बजेटका सम्बन्धमा सुझाव दिएका थिए।  

प्रकाशित: २९ असार २०८० १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App