१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

गौचरण बन्यो काँगेल विमानस्थल

काँगेलडाँडा विमानस्थलमा चरिरहेका गाईवस्तु । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – सोलुखुम्बु काँगेलकी ७६ वर्षीयाा भीमकुमारी थापालाई दुई वर्ष पहिलेसम्म आफ्ना गाईवस्तु कहाँ लगेर चराउने भन्नेमा ठूलो चिन्ता थियो । घर नजिकै जंगल नरहेकाले बाली लागेका बेला वस्तुभाउ चराउन नपाउँदा उनलाई थप चिन्ता हुन्थ्यो । तर दुई वर्षदेखि उनलाई गाईवस्तु चराउन समस्या छैन । घरमाथिको विमानस्थलमा जहाज बस्न नआउँदा गाई चराउन बाटो खुलेको भीमकुमारी बताउँछिन् । 

उनी भन्छिन्, ‘जहाज आउँदैन, पुलिसले सुरक्षा दिएर राखेको हवाई मैदानमा घाँस राम्रो पलाएको छ गाईबस्तु राम्रोसँग चर्छन्, कसैको बाली खाइदेला भन्ने चिन्ता पनि छैन, बडो आनन्द छ नानी ।’ 

काँगेल कै दुर्गाबहादुर बस्नेत पनि गोठबाट वस्तु फुकाएपछि विमानस्थलमै पुर्याउँछन् । चरण क्षेत्रको अभाव भइरहेका बेला विमानस्थलमा जहाज नआएपछि उनीहरुलाई सजिलो भएको छ । दुर्गाबहादुरले भने, ‘जहाज आउँदैन, हामीलाइ त गाईबाख्रा चराउन सजिलो छ ।’  

सोलुखुम्बुको नेले, काँगेल सहितका एक दर्जन गाविस र खोटाङका केही गाविसलाई समेत ध्यानमा राखी विमानस्थल निर्माण गरिएको थियो । २०५३–५४ सालमा निर्माण गरिएको यस विमानस्थलमा जहाज अवतरण हुन छाडेको दुई वर्ष भएको छ । काँगेल डाँडा विमानस्थल दुई वर्षदेखि  गौचरणमा परिणत भएको हो । सडकको पहँच नपुगेको सोलुखुम्बुका दुर्गम क्षेत्रका सर्वसाधरणलाई लक्षित विमानस्थल गौचरणमा परिणत हँुदा यसले राम्रो सन्देश नगएको नेलेका व्यवसायी घनराज सुनारले बताए । 

विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी समेत नभएपछि अहिले यसलाई स्थानीयले गौचरण बनाएका छन् । विमानस्थलको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात प्रहरी खटिएका छन् । उनीहरु पनि दिनभर गाईवस्तु चरेको हेरेर बस्छन् । विमान नआउने विमानस्थलको सुरक्षा गर्नु पर्दा प्रहरी पनि दिक्क छन् । 

नागरिक उड्डयन प्राधिकरणको भवन र टावरमा पनि ताला लगाएको वर्षौं भइसकेको अर्का स्थानीय सूर्य बस्नेतले जानकारी दिए । केही वर्षअघिसम्म हप्तामा तीनपटकसम्म नेपाल एअरलाइन्सले काठमाडौंका लागि उडान भर्ने गरे पनि दुई वर्षदेखि भने जहाज उडान–अवतरण ठप्प छ । 

स्थानीय यमबहादुर कार्की भन्छन्, ‘बिरामी पर्दा वृद्धवृद्धालाई राजधानीसम्म आउजाउ गर्न गाह्रो छ, हप्तामा एक दिनमात्रै प्लेन बसिदिए पनि भाग्य ! हवाईमैदान छ भन्नु मात्रै !’ भन्डै सात सय मिटर लम्बाइको यस विमानस्थलसँगै सोलुखुम्बुमा तेन्जिङ–हिलारी विमानस्थल, फाप्लु विमानस्थल र स्याङबोचे विमानस्थल छ । 

 

प्रकाशित: १९ जेष्ठ २०७४ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App