२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

फस्टाउँदै खरायो पालन

खरायोको स्याहार गर्दै किसान। तस्बिर: गोल्डेन/नागरिक

जिल्लाको चन्दननाथ नगरपालिका-८ धरालवाडाकी पुस्तक धरालाको दैनिकी खरायो स्याहार सुसार गर्नमै बित्छ। आजभोलि उनी खरायो पालनमा निकै व्यस्त छिन्। उनी व्यावसायिक रूपमा खरायो पालनबाट आर्थिक समृद्धिको यात्रा सुरु हुने बताउँछिन्। विशेष गरी मासु र ऊनका लागि धेरै ठाँउमा खरायोको व्यावसायिक पालन गरिन्छ।

अहिले खोर सहितकरिब १ लाख ६० हजार लगानी गरी व्यावसायिक रूपले अघि बढिरहेकी धरालाले १ सय ८ वटा खरायो पालेकी छन्। उनले खरायो पालन गरेको ५ महिना जति भयो, आफ्नै घरमा भुवानी कृषि तथा पशुपन्छी पालन फर्म खोलेर खरायो पालन गरेकी छन्, अंगोरा र रौं उत्पादन गर्न मिल्ने जातको पालिएको छ।

जिल्लाको चन्दननाथ नगरपालिका-८ धरालवाडाकी पुस्तक धरालाको दैनिकी खरायो स्याहार सुसार गर्नमै बित्छ। आजभोलि उनी खरायो पालनमा निकै व्यस्त छिन्।

धराला व्यावसायिक खरायो पालनले परिवारमा खुसी ल्याएको बताउँछिन् । उनी घरकी माइली छोरी हुन्। धरालाको ३ भाइ, बुबाआमा सहित ६ जनाको परिवार छ। घरको जेठी दिदीको विवाह भइसकेको छ, धरालाले भनिन्, ‘मैले जुम्ला बहुमुखी क्याम्पसबाट विएड पास गरेपछि जुम्लाको गुठीचौर गाउँपालिका-५ मा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयबाट आइएसी एजी डिप्लोमा पनि पास गरें तर खासै उपलब्धि भएन। मेरा सर्टिफेकेटहरू दराजमा थन्क्याएको छु। घरमा बुवाआमाको सल्लाहमा यो व्यवसाय सुरु गरेकी हुँ।’

धरालाका अनुसार अहिले गाउँमा एउटा खरायो १ हजारभन्दा बढी मूल्यमा बिक्री हुन्छ, खरायोको ऊनबाट टोपी बुन्छन्। टोपी बजार लगेर न्यूनतम ३ हजार ५ सय रूपैयाँमा बेच्छन्। एउटा टोपी तयार हुन दुई दिन लाग्छ।

उनले थपिन्, हाम्रो गाउँ खरायो पालनका लागि प्रख्यात भइसकेको छ। धरालबाडामा ४ सयभन्दा बढी घर छन् । तीमध्ये आधा घरधुरीमा खरायो पालिएको छ। अतिथिका रूपमा जुम्ला पुग्ने उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ।

यो व्यवसाय गर्न धेरै लगानी चाहिँदैन र थोरै क्षेत्रफल भएको ठाउँमा पनि गर्न सकिन्छ। साथै स्थानीय श्रोत साधनहरू काठ प्रयोग गरेर खोर बनाइ खरायो पालन गर्न सकिन्छ। यसलाई दिनमा ३ पटक घाँस, दान–पानी हाले पुग्छ। यदि दाना अभाव भएमा आफ्नै वरपर भएका हरियो घाँस खुवाएर मात्र पनि पाल्न सकिन्छ, जसले गर्दा कम लागतमा पनि धेरै फाइदा लिन सकिने उनको भनाइ छ।

धरालाका अनुसार अहिले गाउँमा एउटा खरायो १ हजार भन्दा बढी मूल्यमा बिक्री हुन्छ, खरायोको ऊनबाट टोपी बुन्छन्। टोपी बजार लगेर न्यूनतम ३ हजार ५ सय रूपैयाँमा बेच्छन्। एउटा टोपी तयार हुन दुई दिन लाग्छ।

व्यावसायिक रूपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक फरक ठाउँमा राखेर योजनामा नै प्रजनन गराइन्छ। सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ। खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन। खरायोले एक पटमा करिब ७ देखि १० वटासम्म बच्चा जन्माउन सक्छ भने ७ महिनामै यो वयस्क हुने गर्दछ। खरायो पालनको मुख्य चुनौती भनेको बजार व्यवस्थापन हो तर अहिले बिक्री भइरहेको छ। पुस्तकका अनुसार अहिले खरायोको मासु माग बढेको छ। दिनप्रतिदिन खरायो पालन व्यावसायिक रूपमै गर्नेहरूको संख्या पनि बढेको छ।

उनी भन्छन्, खरायोको मासु मात्र होइन, यसको छाला, रौं र पिसाबबाट पनि विभिन्न व्यवसाय गर्न सकिन्छ। खरायोको भुत्लामा उच्च गुणस्तरको रेशा हुने हुनाले भेंडाको ऊनभन्दा १० गुना बढी न्यानो हुन्छ। यसबाट बनेको टोपीले जाडोमा निकै न्यानो दिनुको साथै राम्रो र लामो समय टिकाउ हुने गर्दछ।

व्यावसायिक रूपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक फरक ठाउँमा राखेर योजनामा नै प्रजनन गराइन्छ।

त्यस्तै खरायोको पिसाब तरकारी, फलफूलको बोट बिरुवामा प्रयोग हुने बताउँछिन्। यसको मासु पौष्टिक हुने भएकाले स्वास्थ्यको हिसाबले खरायोको मासु निकै राम्रो मानिने उनको भनाइ छ। खरायोको मासु सेतो मासुमा पर्ने भएको कारणले यसमा चिल्लोपना काम हुन्छ र यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषण लगायत कोरोनाका बिरामीको लागि पनि स्वास्थवद्र्धक मानिन्छ। यसको साथै खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिन्छ।

प्रकाशित: २४ असार २०८० ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App