२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सूर्याेदयको बजेट: पशुरोगले पीडित किसानलाई राहत ‘प्याकेज’

सूर्योदय नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ।

पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।

१ अर्ब २६ करोड रुपैयाँको आय–व्यय पारित गर्दै नगरले गाई–गोरुमा देखिएको लम्पी स्किन रोगले पशुधन क्षति भएका किसानलाई राहत र विशेष कार्यक्रम ल्याउने निर्णय गरेको मेयर रणबहादुर राईले बताए‘केही महिनायता लम्पी स्किन रोगले पशुधन नष्ट हुँदा किसानलाई ठूलो नोक्सान भएको छ,’ उनले भने, ‘किसानलाई त्यो आर्थिक पीडाबाट उकास्न नगरले प्रयास गर्नेछ।’

उनले पशुमा लाग्ने रोगको आधारभूत प्रयोगशाला स्थापना, खोरेतमुक्त नगरका लागि खोप अभियान, उन्नत घाँसको बीउ, काउम्याट वितरण र भकारो सुधारका कार्यक्रमसमेत राखिएको बताए।

‘गाईको नश्ल सुधार, पशुबिमा, निजी पशुसेवा प्राविधिक तथा खोपकेन्द्रलाई टुल बक्स र ५० प्रतिशत साझेदारीमा रेफ्रिजिरेटर हस्तान्तरणको कार्यक्रम पनि छ,’ मेयर राईले भने, ‘किसानलाई नै प्राथमिकता दिएर कृषिमा अरू कार्यक्रम पनि ल्याइएका छन्।’

नगरले बाली बिमा अभियान, कृषिमा नवप्रविधि थ्रिजी प्रणाली कार्यान्वयन, पकेट क्षेत्र विस्तार र आत्मनिर्भरताका लागि क्षेत्र विस्तारमा अनुदान, माटो परीक्षण र कृषि चुनढुंगा वितरण, कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण, कृषि एम्बुलेन्स, सिँचाइलगायत कार्यक्रम ल्याएको छ। 

स्वास्थ्यमा डाक्टर अफ् मेडिसिन, जेनेरल प्राक्टिसको छात्रवृत्तिमा पढाइपछि ३ वर्ष नगरभित्रकै अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने, स्त्रीरोगमात्र नभई पुरुषका रोग जाँच शिविर सञ्चालन गर्ने, स्थानीयलाई नै पोस्टमार्टम गर्ने तालिम दिइएकाले त्यसलाई अझ सरल बनाउने, आधारभूत र निःशुल्क औषधि सहज उपलब्ध गराउन जिन्सीलाई अनलाइन गर्नेलगायत कार्यक्रम नगरले ल्याएको छ। नगरले नेपाल सरकारबाट सुविधा नपाएका एकल महिला, एकल अविवाहित महिला, अपागंता भएका र विपन्न दलित गरी करिब ८ सय घर–परिवारलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने भएको छ।

शिक्षातर्फ करिब ४ करोड लगानीमा विज्ञान प्रयोगशाला/अनुसन्धान केन्द्र बनाइने, सामुदायिक विद्यालयको पुरानो जस्तापाता प्रतिस्थापन गर्ने, छोरीबुहारी कार्यक्रममार्फत स्नातक उत्तीर्णलाई सय दिनको रोजगारी दिने, करफोकलाई नमुना विद्यालय बनाउन डेढ करोड बजेटसहित गुणस्तरीय शिक्षाको पहल गर्ने, तेस्रो पक्षबाट विद्यालयको अनुगमन गराइ उत्कृष्ट विद्यालयलाई नगदसहित सम्मान गर्ने कार्यक्रम पनि रहेको नगरले जनाएको छ।

सामुदायिक विद्यालयको कक्षा १ देखि ५ सम्मका १ हजार ५ सय ६४ विद्यार्थीको बाल बचत खाता खोलिएको र उनीहरूले गरेको बचतमा थप अनुदान दिने कार्यक्रम नगरले ल्याएको छ। ‘छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने छ,’ उनले भने, ‘प्राविधिक धारमा उच्च शिक्षा अध्ययनरत छात्र–छात्रालाई प्रोत्साहनका कार्यक्रम छन्।’

सडक र पार्किङस्थल, अस्पताल भवन निर्माण, नमुना पर्यटकीय भिलेज, विद्यालय भवनहरू निर्माणका कार्यक्रम पनि ल्याइएको छ।नगरको समन्वयमा सहरी विकास मन्त्रालय अन्तर्गत निर्माणाधीन ५० करोड लागतका आयोजना सम्पन्न गर्न सहयोग गर्ने, ३० करोड रुपैयाँ लागतको श्री अन्तुको बृहत् खानेपानी र ६६ करोड लागतको पञ्चकन्या खानेपानी आयोजना समयमै सम्पन्न गर्न आवश्यक पहल गर्ने मेयर राईले बताए।

‘प्रदेश सरकारसँगको साझेदारीमा नगरले कन्याममा निर्माण थालेको करिब २३ करोड रुपैयाँ लगानीको नेपालकै पहिलो चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको काम यही वर्ष सम्पन्न गर्दैछौं,’ उनले भने, ‘आउँदो वर्षदेखि यो केन्द्र चालु हुन्छ।’ नगरले गत वैशाखमै आउँदो वर्षको नीति–कार्यक्रम पारित गरिसकेको थियो।

प्रकाशित: १२ असार २०८० १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App