२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विराटनगरको बजेट ३ अर्ब २८ करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३ अर्ब २८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार सम्पन्न नगर सभाको १२ औं अधिवेशनमा विराटनगर महानगरपालिकाकी उप-प्रमुख शिल्पा कार्कीले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

जसमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार महानगरपालिकाले विनियोजन गरेको छ।

सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडा स्तरीय आयोजनाका लागि ३८ करोड, नगर स्तरीय आयोजनाका लागि २० करोड, बहु वर्षीय तथा गौरवका आयोजना एवं क्रमगत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भारमा १० करोड विनियोजन गरेको छ।

सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपुरक कोषका लागि  २ करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फबाट १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फबाट ४ करोड ५१ लाख ६३ हजार  प्राप्त हुने अनुमान छ। 

यस्तै बाँडफाँटबाट प्राप्त राजस्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड,आन्तरिक ऋण तर्फ १० करोड, अन्य संघ-संस्थातर्फ २ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान महानगरको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको छ। व्यावसायिक पशु, पंक्षी पालन, पशुहरूका नश्लसुधार गरी मासु र दुधको उत्पादन बढाउने महानगरको नीति छ।

यस्तै कृष्कहरूलाई कृषि यन्त्र, धान, गहुँ र मकैको बिउँमा दिँदै आएको अनुदानलाई निरन्तरता दिने, कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रीकरण गर्ने, कृषि बिमा कार्यक्रम सञ्चालन गर्ने, किसानलाई वडा कार्यालयबाटै सेवा उपलब्ध गराउने महानगरको नीति रहेको छ।

कोशी प्रदेशका जाती, भाषा, संस्कृतिको संरक्षण गर्न जातीय संग्राहालय निर्माण गर्ने, विराटनरलाई पर्यटकीय सर्किटका रुपमा विकास गर्ने, विराटनगर घुमौँ, विराटनगरमा रमाऔँ अभियान सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ।

महानगरपालिकाले एक वडा एक पार्क अवधारणा कार्यान्वयन गर्ने, छोरी पढाऊँ छोरी बचाऊँ अभियानलाई निरन्तरता दिने, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, गरिब, विपन्न नागरिकको स्वास्थ्य बिमा गर्ने बजेटमा उल्लेख छ। 

पूर्ण पाठ 

प्रकाशित: १० असार २०८० ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App