२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरामा चिनियाँ जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अवतरण गरेको सिचुआन एयरलाइन्सको जहाज । तस्बिरः उमेश पुन/नागरिक

औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवतरण गरेको हो।  

पोखरामा शुुक्रबार र शनिबार हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने पाहुना लिएर जहाज आएको हो। १५८ सिट क्षमताको एयरबस–३१९ जहाजमा ८४ जना यात्रु रहेको जानकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले दिइन्। सुवेदीका अनुसार पोखरा अवतरण गरेको उक्त विमान बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो। काठमाडौं जाँदा जहाजमा यात्रु थिएनन्।  

‘छेन्दु–पोखरा चार्टर्ड उडान हो। चार्टर्ड उडानमा एकतर्फी वा दुइतर्फी यात्रु हुन सक्छन। तर यो उडानमा एकतर्फी मात्र यात्रु थिए। पोखराबाट काठमाडौं जाँदा कोही यात्रु थिएनन्,’उनले भनिन्। काठमाडौं गएको सो जहाजले नियमित उडान अनुसार यात्रु लिएर छेन्दु जाने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। व्यावसायिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडानको भने अझै टुंगो छैन। प्रवक्ता सुवेदीले भनिन्, ‘अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन।’

पहिलो टोलीलाई भव्य स्वागत  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाजका यात्रुलाई भव्य स्वागत गरिएको छ। पोखरा आएका चिनियाँ पाहुनाको स्वागतमा यहाँका मुख्य सडकमा होर्डिङ बोर्ड झुन्ड्याइएको छ। पाहुनाको स्वागतमा विमानस्थलमा भव्य कार्यक्रम गरियो।

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट जहाज आएपछि पोखरेली खुसी भएका छन्। पर्यटन व्यावसायीले नियमित उडान हुन सके पोखरामा थप विदेशी पाहुना भित्र्याउन सकिने बताए। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलो चार्टर्ड उडान भए पनि अब नियमित उडानका लागि पहल हुनुपर्ने बताए। ‘अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ,’उनले भने, ‘अब दोस्रो उडान कहिले भन्ने यकिन नभए पनि यो सुरुवातले सुखद सन्देश प्रवाह गरेको छ।’  

नियमित उडानका लागि सरकारलाई निरन्तर दबाब आवश्यक रहेको उनले बताए। ‘सरकारलाई दबाब नदिएसम्म हुँदैन। यो नै पूर्ण होइन तर सुरुवात हो। अन्तर्राष्ट्रिय गन्तव्यबाट जहाज आउने ढोका खुलेको छ। तर निरन्तरताका लागि थप प्रयास हुनुपर्छ,’उनले भने, ‘चिनियाँ र भारतीय हवाई कम्पनीलाई पोखरा आउन सहज छ। दुइ छिमेकी मुलुकका हवाई कम्पनीले नियमित उडान राख्ने हो भने त्यसले पोखराको पर्यटनमा लाभ मिल्छ।’पोखराको यो विमानस्थलबाट आन्तरिक उडान भने नियमित भइरहेको छ।

चीनबाट आएको जहाजका यात्रुलाई पोखरामा स्वागत गर्दै पर्यटनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गरेको र अब नियमित उडानका लागि थप पहल आवश्यक रहेको बताए।  

ड्रागन बोट रेसको तयारी

दक्षिण एसियामै पहिलोपटक पोखरामा शुक्रबार र शनिबार ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिभल’हुँदैछ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलको तयारी स्वरूप चीनबाट डुंगा पोखरा ल्याइसकिएको र अहिले ती डुंगालाई फेवातालमा परीक्षण गरिरहेको आयोजकले जनाएको छ।  

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रमको सहआयोजक पोखरा पर्यटन परिषद् (पिटिसी) र चाइना ओभरसिज एसोसिएसन छन। फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगी सहभागी हुनेछन्। दुई सय र पाँच सय मिटर गरी दुई भागमा आठवटा बोटमार्फत रेस हुनेछ। प्रतियोगितामा विजेताले ३० लाख रूपैयाँ पुरस्कार पाउने चिनियाँ पदाधिकारीले बताएका छन।  

यही फेस्टिभलका क्रममा दुवै देशका सांस्कृतिक प्रस्तुति र खानाको प्रदर्शनी पनि हुनेछ। चीनले यसअघि यसप्रकारको बोट फेस्टिभल ५० भन्दा बढी देशहरूमा आयोजना गरिसकेको छ। यो प्रतियोगितालाई एसियन गेममा पनि सहभागी गराइएको छ। सह आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले संस्कार र सद्भाव साट्नका लागि पनि यो महोत्सव महत्र्वपूर्ण हुने बताए। ‘पोखराबारे चीनमा प्रचार प्रसार गर्न यो महोत्सव सहयोगी हुनेछ। यसले आगामी दिनमा थप चिनियाँ पाहुना पोखरा भित्र्याउने अवसर दिलाउनेछ,’उनले भने।  

कोभिड संक्रमण सुरु भएपछि आफ्ना नागरिकलाई घुमघाममा रोक लगाउँदै आएको चीनले गत मार्च १५ देखि लागु हुनेगरी नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन।  

गत मे महिनामा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ४ हजार ६ सय ६७ थियो। यो आगमन बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीको छ। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने मुलुकमध्येमा तेस्रो नम्बरमा चीन छ। 

प्रकाशित: ७ असार २०८० ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App