१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ: मन्त्री साउद

फाईल तस्बिर

परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो कुरा बताएका हुन। उनले परराष्ट्र मन्त्रालय महँगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको बताए। 

मन्त्री साउदले सरकारले सार्वजनिक खरिद कानून अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य(भेरियसन)तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको बताए। मन्त्री साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रस्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताए। 

उहाँले अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी। उनले राहदानीको माग अत्याधिक रहेकाले महँगोमा भए पनि राहदानी खरिद गरी राहदानी वितरण गरिरहेको बताए। 

मन्त्री साउदले ६६ पृष्ठको राहदानीसमेत ५ लाख राहदानीको मौज्दात रहेकाले सो मौज्दातले करिब ४ महिना मात्रै धान्नसक्ने अवस्था रहेको बताए। उनले ४ महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भए पनि खरिद गर्नुको विकल्प मन्त्रालयलाई नभएको बताए। 

समिति बैठकमा राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले राहदानीको माग अत्याधिक रहेकाले राहदानी विभागमा भिडभाड भएको बताए। उनले विद्युतीय राहदानी हाई टेक प्रविधि भएकाले जिल्लाहरूबाट वितरण गर्दा समस्या भएको पनि बताए। उनले जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयहरूको सहयोग विभागले लिनुपर्ने भन्दै सुरुका दिनमा जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी प्रयोग गर्नसक्ने दक्ष जनशक्ति कम रहेको जानकारी दिए। महानिर्देशक यादवले गृह मन्त्रालयले ५६ वटा जिल्लाहरूमा १७ जना जनशक्ति थप गरेपश्चात् केही सहज भएको बताए। उनले राहदानी विभागको भीड कम गर्न जिल्ला प्रशासन कार्यालयहरूबाट राहदानी वितरण प्रक्रिया थालनी गरेकाले पछिल्लो ५ महिना सहज भएको बताए। 

उनले अहिले औसतमा दैनिक ६ हजार ५०० सम्म राहदानी छपाई हुने बताए। उनले ६ हजार ५०० राहदानी छपाइमा विभागमा १५ सयसम्म हुने जानकारी दिए। उनले राहदानी विभागमा जनशक्ति अपुग रहेको पनि बताए।

प्रकाशित: ६ असार २०८० ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App