२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

मूल्य नपाएपछि किसानले सडकमै घोप्टाए गोलभेंडा

किसानले सडकमा फालेको गोलभेंडा व्यवस्थापन गरिँदै। तस्बिर: प्रसन गुरुङ/नागरिक

उत्पादन गरेको गोलभेंडा उचित मूल्यसहित बिक्री नभएपछि किसानले आइतबार करिब ४ लाख किलो गोलभेंडा फालेर नष्ट गरेका छन्। उत्पादन लागतका हिसाबले किसानले एक करोड रूपैयाँभन्दा बढीको गोलभेंडा कालीमाटी तरकारी बजार र सडकमा घोप्टाएर नष्ट गरेका हुन्। गोलभेंडा उचित मूल्यमा बिक्री नभएपछि किसान चिन्तित छन्।

मूल्य नपाएपछि बाध्य भएर कालीमाटी तरकारी बजारभित्र र सडकमा घोप्टाएर नष्ट गर्नुपरेको किसान प्रमोद श्रेष्ठले बताए। ‘किलोको १० रूपैयाँमा पनि गोलभेंडा बिकेन,’ उनले भने, ‘लाखौं रूपैयाँको लगानी डुबेको छ।’ गोलभेंडा बिक्री नभएपछि श्रेष्ठ निकै निराश छन्। किसानका समस्यामा सरकार पनि रमिते बनेको उनको गुनासो छ।

किसानले एकातर्फ गोलभेंडाको उचित मूल्य पाएका छैनन् भने अर्कोतर्फ बिक्री पनि नभएको गुनासो गरेका छन्। गोलभेंडाको प्रतिकिलो उत्पादन लागत करिब २५ रूपैयाँ पर्ने किसानको दाबी छ। आइतबार कालीमाटी तरकारी बजारमा गोलभेंडाको अधिकतम मूल्य प्रतिकिलो १० रूपैयाँ थियो। यसरी हेर्दा बिक्री भएको गोलभेंडामा पनि किसानले प्रतिकिलो १५ रूपैयाँ घाटा बेहोरिरहेका छन्। न्यूनतम ३० देखि ३५ रूपैयाँमा बिक्री नभए लागत नउठ्ने श्रेष्ठले बताए। ‘लागत मूल्यसमेत पाएका छैनौं,’ उनले भने।

उत्पादन गरेको गोलभेंडा उचित मूल्यसहित बिक्री नभएपछि किसानले आइतबार करिब ४ लाख किलो गोलभेंडा फालेर नष्ट गरेका छन्।

काठमाडौं उपत्यकामा दैनिक ३ सयदेखि साढे ३ सय मेट्रिक टन गोलभेंडा खपत हुने भए पनि अहिले दैनिक ६ सय मेट्रिक टन भित्रिएको कालीमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। ‘बजारमा खपत हुनेभन्दा डबल गोलभेंडा आएको छ,’ उनले भने, ‘बिक्री नभएपछि किसान फाल्न बाध्य भएका हुन्।’

मागभन्दा आपूर्ति बढी भएकाले बिक्री नभएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए। ‘कालीमाटी तरकारी बजारभित्र दैनिक ५०–६० हजार किलो गोलभेंडा बिक्री हुन्छ,’ पुडासैनीले भने, ‘१ लाख किलो आएपछि बिक्री भएन।’ किसानले उत्पादन लागतका आधारमा मूल्यसमेत नपाएको गुनासो गरेको उनले बताए।

उपत्यका आसपासका किसानले उत्पादन गरेको गोलभेंडाका लागि वैकल्पिक बजारको व्यवस्था नहुँदा समस्या भएको उनले बताए। ‘अधिकांश किसानले राजधानीमा ल्याउने गरेका छन्,’ उनले भने, ‘वैकल्पिक बजारको व्यवस्थापन गर्नुपर्ने महसुस भएको छ।’ किसानले आन्दोलनस्वरूप गोलभेंडा नष्ट गरेका हुन्।

गोलभेंडालाई सस बनाउन लगायत अन्य प्रयोगमा ल्याउन नसक्दा पनि समस्या भएको हो। गोलभेंडाका लागि सरकारले वैकल्पिक बजार सुनिश्चित नगरेकोमा पनि किसान आक्रोशित छन्।

‘उत्पादन धेरै भएपछि वैकल्पिक बजारका लागि सरकारले सहजीकरण गर्नुपथ्र्यो,’ धादिङका किसान श्रवण रिजालले भने, ‘किसानको लगानी डुब्दा पनि कुनै पहल भएको छैन।’ सरकारले क्षतिपूर्ति दिनुपर्ने उनले बताए।

पोखरामा गोलभेंडा ५० रूपैयाँमा बिक्री हुँदा काठमाडौंमा बिक्री हुन नसक्नु दुखद भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। ‘उत्पादन धेरै भएकाले उपत्यका आसपासका सबै गोलभेंडा काठमाडौं भित्रिँदा बिक्री हुन सकेन,’ उनले भने, ‘ वैकल्पिक बजारको व्यवस्था गर्नुपर्ने आवश्यकता देखियो।’ सिजनमा दुई÷तीन महिना स्वदेशी गोलभेंडाले पुगे पनि अन्य समयमा भने भारतबाट आयात हुने गरेको छ।

पछिल्ला वर्ष टनेलमा गोलभेंडा खेती गर्ने लहर चलेको छ। संघ, प्रदेश, स्थानीय सरकारले टनेल खेतीलाई प्रोत्साहित गर्न अनुदान दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्। उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरमा पनि टनेलमा गोलभेंडा खेती भइरहेको छ। काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुरलगायत जिल्लाबाट पनि उत्पत्यकामा गोलभेंडा आउने गरेको छ।

गोलभेंडालाई सस बनाउन लगायत अन्य प्रयोगमा ल्याउन नसक्दा पनि समस्या भएको हो। गोलभेंडाका लागि सरकारले वैकल्पिक बजार सुनिश्चित नगरेकोमा पनि किसान आक्रोशित छन्।

लगानी र मेहनत लगाएर फलाएको गोलभेंडा फाल्नुपर्दा किसानको मन अमिलो भएको छ। गोलभेंडा खेती गर्न बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने पिरलो पनि किसानमा थपिएको छ। काठमाडौंसहित आसपासको तापक्रम बढेकाले टनेलमा गोलभेंडा लटरम्म फलेका छन्। बजारमा बिक्री गर्ने बेला भए पनि भाउ नपाएकाले चिन्ता लागेको थानकोटका किसान हरि भुजेलले बताए। ‘टनेलबाट नटिपौं सबै पाकेका छन्,’ उनले भने, ‘टिपौं बिक्री हुँदैन।’

भारतमा निर्यात सम्भव छ?

अधिकांश कृषिजन्य वस्तु भारतलगायतका मुलुकबाट आयात भैरहेको अवस्थामा गोलभेंडाले बजार नपाएपछि किसान नष्ट गर्न बाध्य भएका हुन्। नेपालमा उत्पादित गोलभेंडाको बजार सुनिश्चित गर्न भारत सरकारसँग संवाद गरेर निर्यात गर्नुपर्ने किसानको सुझाव छ। तर सरकारी अधिकारी भने यो सम्भव देख्दैनन्।

गोलभेंडा छिटो नष्ट हुने तरकारी भएकाले भण्डारण गरेर राख्न सक्ने अवस्था पनि छैन। तत्कालको समस्या समाधानका लागि भारततर्फ निर्यात गर्न पहल गर्नुपर्ने कालीमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष घिमिरेले बताए।

अधिकांश कृषिजन्य वस्तु भारतलगायतका मुलुकबाट आयात भैरहेको अवस्थामा गोलभेंडाले बजार नपाएपछि किसान नष्ट गर्न बाध्य भएका हुन्।

‘बजारको मागभन्दा उत्पादन धेरै भएकाले नै किसानले नष्ट गरेका हुन्,’ उनले भने, ‘अब सरकारले पहल गरेर भारततर्फ निर्यात गर्ने वातावरण मिलाउनुपर्छ।’ किसानले भारततर्फ निर्यातको कुरा गरे पनि तत्काल सम्भावना कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। भारतमा पनि उत्पादन बढी भएकाले तत्काल निर्यात गर्न कठिन रहेको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए। ‘तुरुन्त भारततर्फ निकासीको सम्भावना कम छ,’ उनले भने।

प्रकाशित: ४ असार २०८० ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App