२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बालाजी सिमेन्ट भारत निकासी गर्न सुरु

आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका –६ धर्मनगरस्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको सिमेन्ट भारततर्फ निकासी सुरु गरिएको छ।  

यसअघि अर्घाखाँची सिमेन्ट, पाल्पा सिमेन्ट र दाङ सिमेन्ट भारततर्फ निर्यात भएको थियो। सरकारले सिमेन्ट छड लगायतका विभिन्न ३० वस्तुहरू निर्यात गरे ८ प्रतिशत अनुदान दिने प्रावधान राखेपछि अहिले नेपाली सिमेन्ट उद्योगले भारततर्फ निकासी गर्न सुरु गरेका हुन्। बालाजी सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित बहुबली तथा सृष्टि ब्राण्डका पिपिसी सिमेन्ट भारततर्फ निर्यात थालिएको हो। भारत सरकार गुणस्तर विभागद्वारा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स बिसिआई प्रदान गरेसँगै भारत निर्यात सुरु गरिएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए।  

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको अग्रवालले बताए। कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गरिएकोे अग्रवालले बताए। भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स बिसिआईले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बहुबली र सृष्टिकोको भारततर्फ निर्यात सुरु गरेको हो।

विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए। भारतमा आईएसआई चिह्न नलागेको सिमेन्ट आयात गर्न नपाइने प्रावधान छ। नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन। उद्योगले यसै महिना आईएसआई चिह्न पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हो। सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघिनै गरिसकेको छ। सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीति लिएको छ। यो नीतिले सिमेन्ट उद्योगीहरूलाई धेरै राहत भएको उद्योगका संस्थापक सन्दिप काडियाले बताए। ‘आर्थिक मन्दिको अवस्थानमा सिमेन्ट भारततर्फ निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको छ।’ उनले भने ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहित थियो। सोच आज पूरा भएको छ, हामी सफल भएका छौं।’ उनले सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको बताए। ‘हामी चाहन्छौ राज्यले अझै उद्योग मैत्री, निर्यात मैत्री नीतिहरू ल्याउन जरुरी छ।  

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले रिबन काटेर निकासी कार्यक्रमका शुभारम्भ गर्दै शिवराज नगरपालिकाबाट निर्यातको सुरु हुनु गर्वको विषय रहेको बताए। चन्द्रौटा उध्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले आर्थिक मन्दीले यस क्षेत्रमा रहेको आधा दर्जन बढी सिमेन्ट उद्योग बन्द भएको बेलाउद्योगले निर्यात सुरु गरे सँगै व्यापार घाटामा थोरै भए पनि कमी आउने बताए।  

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको जानकारी उद्योेगका प्रवन्ध निर्देशक रौनक अग्रवालले दिए। उद्योगले बहुबली र सृष्टि ब्रान्डका ओपिसी ४३ ग्रेडको र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। दुबै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ इन्डियन स्ट्यान्डडर््स (बिआईएस) प्रदान गरेको छ।  

बालाजी सिमेन्ट इन्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो। उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधि जडान गरिएको छ। जर्मनको यो प्रविधि सिमेन्ट उद्योगको लागी विश्वकै उच्चस्तरीय कम्पनी हो। बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूर पश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ। भारततर्फ प्रति बोरा सिमेन्ट ४ सय १० देखि साढे चार सय भारु पर्छ। नेपालमा भने सिमेन्ट त्यहा भन्दा सय रूपैया प्रति बोरा सस्तो पर्छ ।

प्रकाशित: ३० जेष्ठ २०८० ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App