१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सम्झौता मिचेर गुणस्तरहीन मल आयात

वीरगन्ज- किसानले बालीनाली सपार्ने पोषकको रुपमा खेतमा हाल्ने ३० हजार मेटि्रक टन (एक लाख ५० हजार बोरा) युरिया मलले यसपालि उनीहरुले सोचेजति परिणाम नदिन सक्छ। कृषि सामग्री कम्पनीको सञ्चालक समितिले चैत १० मा गरेको निर्णय अनुसार जिटुजी प्रक्रियाबाट खरिद गरिएको मल सम्झौताभन्दा फरक र कमसल पैठारी गरिएको फेला परेको छ।

चलखेलको उद्देश्यले संगठित रुपमा कम्पनीका अधिकारीहरु कृषि मन्त्रालयको नेतृत्वसँग मिलेर खरिद प्रक्रिया जिटुजीमा लैजाने र चाहेअनुरुप हुने गरी मल खरिद गर्ने काम गरिएको हो। यसअघि भएको ग्लोबल टेन्डर सकार गरेको कम्पनीको सम्झौता तुहिएपछि जिटुजी मार्फत खरिद गर्न कृषि सामग्री कम्पनीलाई सजिलो बनाइएको थियो। यो वर्ष मल खरिद पक्रिया जिटुजीमा लैजान सुरु मै कम्पनीले जानीजानी बजारमा मल अभाव हुने गरी आयातमा ढिलाइ गरेको स्रोतको दाबी छ।

सो दाबी पुष्टि हुने तथ्यांक वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगगाह कार्यालयको अभिलेखमा छ। पोहोर फागुनसम्म आयात भएको रासायनिक मलको परिमाणको तुलनामा यसपालि खरिद प्रक्रियामा विलम्बले गर्दा ६ गुणा पैठारी घटेको छ। कार्यालयको अभिलेख अनुसार पोहोर फागुनसम्म एक लाख ६० हजार चार सय ५१ मेटि्रक टन मल यो बाटो पैठारी भएको थियो। यो वर्ष सोही अवधिमा २५ हजार दुई सय ३६ मेटि्रक टनमात्र आएको छ।

मल दुईवटा प्रक्रियाबाट खरिद गर्ने प्रावधान छ। पहिलो विधि हो– ग्लोबल टेन्डर। त्यो हुन नसकेको विशेष परिस्थितिमा गभर्नमेन्ट टु गभर्नमेन्ट (जिटुजी) अर्थात नेपाल सरकारले अर्को देशको सरकारको पूर्ण स्वामित्वको कम्पनीबाट प्रत्यक्ष खरिद गर्ने। पहिलो विधिमा कमिसनको सम्भावना न्यून हुने गरेकोले हरेक वर्ष कम्पनी सञ्चालक समितिले जिटुजीमा जोड दिँदै आएको अर्को तथ्यांकले देखाएको छ। कम्पनीले आर्थिक वर्ष २०६८/०६९ सम्मको मात्र तथ्यांक सार्वजनिक गरेकोमा त्यो वर्ष १० पटकमध्ये आठपटक जिटुजी प्रक्रियाबाट नै मल खरिद भएको देखिन्छ। त्यसयताको तथ्यांक पनि कम्पनीको वेबसाइटमा लुकाइएको छ। अधिकांश जिटुजीबाट नै मल आयात हुने गरेको कम्पनीका कर्मचारी बताउँछन्।

अहिले ३० हजार मेटि्रक टन युरियाको सौदा गरिएको नौलो होइन। पैठारी भएको मलमा प्याकिङ गर्ने बोरा सम्झैताविपरीत गुणस्तरहीन, मलको दानाको आकार सानो देखिएको छ भने गुणस्तर कमसल रहेको कम्पनीभित्रकै स्रोतले दाबी गरेको छ। 

'४६ प्रतिशत हुनुपर्ने नाइट्रोजन ३८ प्रतिशत मात्र छ, छानबिन गर्ने कुनै स्वतन्त्र निकायले कृषि सामग्री कम्पनीले तोकेभन्दा अर्को प्रयोगशालामा जाँच गरेर हेर्न सकिन्छ,' स्रोतले भन्यो। कम्पनीले काठमाडौं डिल्लीबजारस्थित 'आस्था साइन्टिफिक रिसर्च सेन्टर'लाई गुणस्तर नियन्त्रणका लागि कन्सल्टेन्टको रुपमा राखेकोले सो कम्पनी समेतको संलग्नतामा मगाइएको मल अर्को विश्वसनीय प्रयोगशालामा जाँच गराए .मात्र गुणस्तरको प्रमाणीकरण हुने देखिन्छ।

जिटुजी प्रक्रियाबाट खरिद गरिएको मल सम्झौताभन्दा फरक र कमसल किसिममा पैठारी गरिएको कुरा कम्पनीले भारतीय कम्पनीसँग गरेको सम्झौता र आएको मल तथा त्यसको प्याकेजिङ दाँजेरै प्रष्टिन्छ। सम्झैता अनुसार भारतीय कम्पनीले भारतको रासायनिक मल सम्बन्धी अध्यादेश 'फर्टिलाइजर कन्ट्रोल अर्डर (एफसिओ)–१९८५' र त्यसका संशोधित व्यवस्थाहरुको अधीनमा रहेर नेपाललाई मल निर्यात गर्नुपर्ने छ। दुई सय ग्रामको र भित्र प्लास्टिक पत्र भएको बोरामा ०.२.२ मिलिमिटरको दाना आपूर्ति हुनुपर्ने हो। अहिले वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भएर भित्रिरहेको मल भित्रपट्टि प्लास्टिक नभएको र सय ग्रामको बोरामा आयात भएको छ। दाना का आकार ०.२ मिलिमिटर र सोभन्दा साना छन्।

'मलको यस्तो पातलो र गुणस्तरहीन बोरा मैले देखेको थिइनँ,' सुक्खा बन्दरगाह सुरु भएदेखि त्यहाँ लोड–अनलोडको काम गर्दै आएका एक कामदारले भने, 'बहुतै रद्दी किसिमको बेरा छ, मलको दाना पनि मसिनो छ।' बोरा कमसल भएर ढुवानीमा निकै समस्या भइरहेको ढुवानीमा खटेका अरुण पटेलले बताए। 'यसपालि सबभन्दा बढी बोरा च्यातिँदैछ, बोरामा दम नै छैन, पातलो छ, भित्र प्लास्टिक छैन,' पटेलले भने, 'यहाँ आँखा अगाडि नै छ, हेर्नुस कति बोरा च्यातिएका छन्।'

एक र्‍याकमा करिब पाँच ट्रक जति मलका बोरा च्यातिएको त्यहाँका कामदारले बताए। यो भनेको बोरा च्यातिने पहिलेको अनुपातभन्दा निकै बढी हो।

कम्पनीका अधिकारी भने गुणस्तरहीन युरिया आयात भएको मान्न तयार छैनन्। 'हामीले आयात गरेको मल चाहिएजस्तो गुणस्तरीय छ। र, दाना सानो वा ठूलोले गुणस्तरमा फरक पार्छ भन्ने कुरा भ्रम  मात्र हो,' कम्पनी अध्यक्ष तोयनाथ थपालियाले भने, 'बोरा चाहिँ के भएको हो भने हतारले गर्दा मल बनाउने कम्पनी कै प्याकेजिङमा मगाइएको हो, नत्र अझ १२–१५ दिन ढिलो हुने थियो, किसानलाई मलको हाहाकार हुने थियो।' ग्लोबल टेन्डर सकार गरेको कम्पनी पछि हटेपछि आफूहरु जिटुजीमा जानुपरेको उनले बताए।

फरक कम्पनी

सम्झौता गर्ने कम्पनी एउटा छ भने नेपाललाई आफ्नो बोरामा मल पठाउने कम्पनी अर्कै छ। कृषि सामग्री कम्पनीले भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी एमएटिसी मेटल्स एन्ड मिनरल्स ट्रेडिङ कम्पनी (एमएमटिसी) इन्डियाबाट ३० हजार मेटि्रक टन मल किन्ने सम्झैता गरेको हो। एमएमटिसीले भारतकै आसाम प्रान्तस्थित 'ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कर्पोरेसन (बिभिसिएल)' को मल नेपाललाई आपूर्ति गर्नुपर्ने हो। अहिले प्याकेजिङमा सम्झौताकर्ता एमएमटिसी भने कहीँ देखिएको छैन। बिभिसिएलले आफ्नै विवरण उल्लेखित बोरामा मल पठाइरहेको छ।

कृषि मन्त्रालयको खाद्य सुरक्षा, कृषि व्यवसाय प्रबर्द्धन तथा वातावरण माहाशाखाले बिभिसिएल कै ब्यागमा हजार मेटि्रक टन मल आयात गर्ने स्वीकृति चैत १५ मा दिएको हो। सचिवस्तरीय निर्णयबाट स्वीकृति दिइएको छ। यसमा नयाँ बोरा छाप्न समय लाग्न सक्ने कारण देखाइएको छ। समय छँदै मल खरिद गरिएको भए यस्ताखाले चलखेलको ठाउँ न्यून रहने थियो।

राजनीतिक संरक्षण र संगठीत रुप मै मल खरिद गरिएको मन्त्रालय मातहतकै स्रोतको दाबी छ। समय आभावले पहिलो १० हजार मेटि्रक टन बिभिसिएल कै बोरामा मगाइए पनि यसपछिका २० हजार टन कृषि समग्री कम्पनी कै बोरामा आउने थपालियाले दाबी गरे।

प्रकाशित: २७ चैत्र २०७३ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App