१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

खडेरीको असर जंगली निगुरोमा पनि

फाइल तस्वीर

विगत वर्षमा वैशाख पहिलो सातादेखि नै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्।

मोरङको उत्तरी भेगको जंगलमा वर्षा याममा प्रशस्त मात्रामा निगुरो पाइन्छ। यहाँको निगुरो काठमाडौं समेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जंगलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी-१० भाउन्नेका टेकबहादुर याखा बताउँछन्। याखा पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन्।

‘यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन’, याखा बताउँछन्। पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने लगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरूमा बिहानैदेखि साँझसम्म स्थानीयको जंगलमा भीड नै हुन्थ्यो। सयौं परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउँछन्। उनी निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडौं पठाउने गरेको बताउँछन्।

मौसमले साथ दिने हो भने दैनिक दर्जनौं गाडी निगुरो काठमाडौं, पोखरा लगायत शहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले न त कुनै तथ्यांक नै राखेको छ नत चासो नै। कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्यांक नरहेको बताए।

व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्यांक राखेको तर जंगलमा आफैं उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्यांक नरहेको तर सामुदायिक वनले तथ्यांक राखेको हुन सक्ने प्रवक्ता पोख्रेल बताउँछन्।  

कृषिविज्ञ डा.राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउँछन्। समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन्।

चैत दोस्रो हप्तादेखि जंगलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउँछिन्।

उनका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौं निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्‍याउनुपर्थ्याे। ‘तर,अहिले अरूले टिपेर ल्याएको हामीले संकलन गर्छौं र हामीसँग काठमाडौंका व्यापारीले किनेर लैजान्छन्’, उनी भन्छिन्।

जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो संकलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ। विद्यालय तथा कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन्।  

प्रकाशित: ३० वैशाख २०८० ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App