coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पौने दुई खर्ब लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत महिनासम्मको अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता स्वदेशी तथा विदेशी लगानीकर्ताबाट संयुक्त रूपमा आएको हो।

उद्योग विभागमा साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा २ सय १६ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती दर्ता भएका उद्योगले १६ हजार ३ सय ६० रोजगारी सिर्जना गर्ने बताइएको छ। पछिल्लो चैत महिनामा मात्रै ३३ नयाँ उद्योग दर्ता भएका छन्। ३३ उद्योगले २५ अर्ब ४४ करोड रूपैयाँ लगानीको प्रतिबद्धता गरेका छन्। ३३ उद्योगले ३६ सय १२ जनालाई रोजगारीको अवसर सिर्जना गर्ने बताइएको छ। चैत महिनामा २० उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) भएको छ। ९ महिनाको अवधिमा ६३ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण भएको छ।

उद्योग विभागका अनुसार सुरुवाती चरणदेखि हालसम्म ८९ सय ८० उद्योग दर्ता भएका छन्। दर्ता भएका ती उद्योगले हालसम्म २८ खर्ब ७ अर्ब लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्। ती उद्योगले ६ लाख ७३ हजार ८ सय ६७ जनालाई रोजगारीको अवसर दिने बताइएको छ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा उद्योग क्षेत्रमा ३७ प्रतिशत, पर्यटन क्षेत्रमा १९ प्रतिशत, ऊर्जा क्षेत्रमा १८ प्रतिशत, सर्भिस क्षेत्रमा १७ प्रतिशत र आइसिटी क्षेत्रमा ४ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ। त्यसैगरी कृषिमा आधारित क्षेत्रमा ३ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ।

९ महिनामा ४१ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता 

विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४१ अर्ब रूपैयाँ नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योग विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा १९२ वटा नयाँ विदेशी उद्योगले लगानीको स्वीकृति लिएका छन्।

नयाँ विदेशी उद्योगले २८ अर्ब ११ करोड रूपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्। सेयर पर्चेज एग्रिमेन्ट (एसपिए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) १३ अर्ब रूपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता गरेका छन्। सो अवधिमा एसपिए/एसएसए स्वीकृति लिनेको संख्या ५३ रहेको छ।

त्यसैगरी टिटिए लिनेको संख्या पनि ५३ नै छ। ती उद्योगले चालु आवको ९ महिनाको अवधिमा वैदेशिक लगानीमा खुल्ने उद्योगले १० हजार ९ सय २७ रोजगारी सिर्जना गर्ने बताएका छन्। सुरुवाती चरणदेखि हालसम्म वैदेशिक लगानीको प्रतिबद्धता ४ खर्ब ४७ अर्ब रूपैयाँ पुगेको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७८/७९ मा बढेर ५४ अर्ब १५ करोड रूपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्। विदेशीले सानादेखि ठुला उद्योगसम्ममा लगानी गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन्।

प्रतिबद्धता धेरै, वैदेशिक लगानी भित्रिने रकम कम 

उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि वैदेशिक लगानीका रूपमा भित्रिने रकम भने निकै कम छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रूपैयाँ भित्रिएको थियो। सो आवमा वैदेशिक लगानीमध्ये ८८.५ प्रतिशत उद्योग क्षेत्रमा, ३.५ प्रतिशत सेवा क्षेत्रमा र अन्य क्षेत्रमा ७.९ प्रतिशत भित्रिएको थियो। गत आर्थिक वर्षमा उद्योगमा आएको कुल वैदेशिक लगानीमध्ये ८६.२ प्रतिशत जलविद्युत् आयोजनामा भित्रिएको थियो।

गत आर्थिक वर्षमा खासगरी अरूण तेस्रो, माथिल्लो कर्णाली लगायतका जलविद्युत् आयोजनामा विदेशी लगानी भित्रिएको थियो। गत आवमा झन्डै ३० कम्पनीमा लगानी भित्रिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने वैदेशिक लगानी १९ अर्ब ५१ करोड रूपैयाँ भित्रिएको थियो।

उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि वैदेशिक लगानीका रूपमा भित्रिने रकम भने निकै कम छ।

आर्थिक वर्ष २०७६/७७ मा पनि १९ अर्ब ४७ करोड विदेशी लगानी भित्रिएको थियो। आर्थिक वर्ष २०७५/७६ मा करिब १३ अर्ब रूपैयाँ वैदेशिक लगानीमार्फत भित्रिएको थियो। वैदेशिक लगानीबाट आएका अधिंकाश हिस्सा जलविद्युत् आयोजनामा खर्च हुँदै आइरहेको छ।

पछिल्ला वर्ष अन्य देशका तुलनामा चीनको लगानी प्रतिबद्धता बढेको छ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी गरी कार्यान्वयनमा आएपछि लगानीकर्ताको आकर्षण बढेको छ।

कोभिडका कारण अघिल्ला वर्ष विदेशी लगानी प्रतिबद्धतामा गिरावट आएको थियो। पूर्वाधारसहित विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको छ। लगानी बोर्ड र उद्योग विभागबाट अनुमति लिए पनि विदेशी लगानी राष्ट्र बैंकमार्फत आउँछ।

प्रकाशित: २४ वैशाख २०८० ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App