धादिङ- काठमाडौंको उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउँदै आएको धादिङको उर्वरजमिन अहिले इँट्टा उद्योगले भरिएको छ। काउली, बन्दा, खुर्सानी, काँक्रो लगायततरकारीले ढाकिने धादिङका उर्वर फाँटमा इँट्टासुकाइएका छन्।
जीवनपुर, नौबिसे, छत्रेदेउराली, थाक्रे, गोगनपानी गाविसका फाँटमा अहिले ३० भन्दा बढी इँट्टा भट्टा सञ्चालनमा छन्। तरकारीको पकेट क्षेत्रमा जथाभावी इँट्टा उद्योग सञ्चालनले यस भेगका किसानको रोजिरोटी संकटमा परेको छ। किसान भन्छन्, 'यो इँट्टा भट्टीले गर्दा खेती त भएन नै हाम्रो त आयु नै घटेको छ।'
तरकारी र अन्न भण्डार मानिएको जीवनपुर र छत्रेदेउरालीका फाँट धुलो र चिम्नीबाट निस्किएको धुवाँले हेरिसक्नु छैन। बाह्रैमास लहलह हरिया तरकारीले झपक्क देखिने गैह्रीखेत र फाँटहरु धुवाँको कालो मुस्लोे उडाउँदै ठडिएका इँट्टा भट्टाको चिम्नीले कुरुप बन्दै गएको छ।
इँट्टाभट्टाले यस क्षेत्रका सयौं रोपनी खेतीयोग्य जमिन ओगेटेको छ। एउटा इँट्टाभट्टाले एक सयदेखि दुई सय रोपनीसम्म स्थानीयको जग्गा सस्तो मूल्यमा भाडामा लिएका छन्। प्रतिरोपनी वार्षिक १५ देखि २० हजारमा जग्गा भाडामा दिनु यहाँका किसानको बाध्यता हो। सुरुमा धेरै जग्गा हुनेले दिए, थोरै हुनेलाई बाध्यता पर्यो।' जीवनपुरकी कान्छी कँडेलले भनिन्, 'भट्टी नजिक धुवाँ र धुलोले खेतीबाली भएन अनि भट्टीलाई नदिएर के गर्नु?' धेरै खेत भएका सँधियारले दिएपछि तरकारीबाट आम्दानी गरिरहेको खेत उद्योगलाई भाडामा दिएर बिगार्नु परेको उनले सुनाइन्।
धार्के–सीतापाइला सडक र पृथ्वी राजमार्ग किनारका फाँटहरु राजधानी सहर काठमाडौंमा ताजा तरकारी आपूर्ति गर्ने उर्वर भूमि थियो। अहिले उद्योगले गर्दा दिनभरी खेतबारीमा तरकारी स्याहार्ने र विहान बेलुका बिक्री गरेर परिवार पाल्दै आएका कृषकको रोजीरोटी नै खोसिएको छ।
एक रोपनी जग्गामा लगाएको तरकारीबाट बर्सेनि एक लाख हाराहारीमा कमाइ गर्दै आएका किसान अहिले रोपनीको वार्षिक १५ देखि २५ हजार भाडा लिएर चित्त बुझाउन बाध्य छन्। इँट्टाभट्टाबाट निस्किएको धुवाँ र धुलोले नजिकको जग्गामा लगाएको खेतीले पनि उत्पादन नदिने भएपछि बाध्य भएर जग्गा भाडामा दिनुपरेको चन्द्रमान रुपाखेतीले बताए।
इँट्टा बनाउन जथाभावी खनिएका खाडल र खण्डहरले जमिनको साँध–सिमाना नै थलालिंग बनेको छ।
'भूकम्पपछि पानी सुक्यो, अब खेती हुँदैन भन्दै धेरै जग्गा हुनेले भट्टालाई भाडामा दिए;अहिले न तरकारी खतीबाट हुने कमाइ हुन्छ न भाडाले खान र परिवार पाल्न पुग्छ,' राधिकाले भनिन्। खेती त भएन नै, धुवाँले सास फेर्न समेत नसक्दा बसाइँ नै सार्नुपर्ने अवस्था आएको जीवनपुर–६ की लक्ष्मी महतले गुनासो गरिन्। उनले वर्षाैंदेखि तरकारी खेती गर्दै आएको खेत भूकम्पपछि बाध्य भएर इँट्टा उद्योगलाई भाडामा दिएको बनाइन्।
दाउराबाट पोलेर तयार पारिएका इँट्टाले खेतीयोग्य जमिन र फाँट भरिएका छन्। इँट्टाभट्टा सञ्चालनमा आएसँगै खेतीयोग्य जमिन त मासिएको छ नै प्रदूषणले गर्दा आसपासबसोबास गर्न समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन्।
इँट्टा पोल्ने चिम्नीबाट निस्किएको कालो धुवाँ पातमा लागेपछि बिरुवामा नै कक्रिएर सुक्ने र फल नदिने किसान बताउँछन्। उद्योग आसपासको तरकारीको पातमा कालो धुवाँ र दिउँसोको धुलो टाँसिएपछि बिरुवा नै नबढ्ने र फल नदिनेजीवनपुरका रामनाथ आचार्यले गुनासो गरे।
जीवनपुरको पुरण्डी, लामिछानेटार, ठूलीबेसी लगायतफाँट वर्षैभरी हरियै हुन्थे, हेरिरहुँ जस्तो हुन्थ्यो, अहिले नजिक जान मन लाग्दैन। रातोमाटे डाँडाजस्तो छ। चौबिसै घन्टा धुवाँ र धुलो बाहेक अरु देखिँदैन। जीवनपुर–३ का रामकुमार गजुरेलले भने, 'टाठाबाठाले जग्गा दिइगो हामीले नदिएर सुखै पाएनौं। केही बोल्न नसकेपछि अहिले यस्तो चाल छ।' चिम्नीबाट निस्किएको धुवाँ र सुकेको तरकारी (काँक्रो) देखाउँदै उनले इँट्टाभट्टालाई जग्गा भाडामा दिनुको बाध्यता सुनाए।
भूकम्पपछि मात्रै १७ उद्योगले लिए अनुमति
पछिल्लो एक वर्षमा घरेलु तथा साना उद्योग विकास समिति धादिङमा१७ इँट्टा उद्योग दर्ता भएका छन्। तीमध्ये अधिकांश उद्योगले छत्रेदेउराली, नौबिसे र जीवनपुर गाविसका फाँट ओगेटेका छन्।
काठमाडौंका इँट्टा उद्योग विस्थाापित गराउने कुरा उठिरहँदा उद्योगीहरु धादिङ केन्द्रित भएका हुन्। धादिङमा उद्योग सुरु गरेका अधिकांशले यसअघिकाठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालन गरेको छत्रेदेउरालीको उमा महेश्वर इँट्टा उद्योगका सञ्चालक महेन्द्रबहादुर चित्रकारले जानकारी दिए।
उद्योगले एकपटकमा १२ देखि १५ लाख इँट्टा उत्पादन गर्नेधुनीबेसी इँट्टा उद्योगका सञ्चालक धर्मेन्द्र अकौलियाले बताए। उनका अनुसार वर्षमा ६ पटकसम्म इँट्टा उत्पादन गर्न सकिन्छ।
हाल नौबिसेमा ९, जीवनपुरमा ६, छत्रेदेउरालीमा ५, गोगनपानीमा ३ उद्योगले सञ्चालन अनुमति लिएका छन्। यस क्षेत्रमासञ्चालनमा रहेका इँट्टा उद्योगले करिब १५ सय किसानको पाँच हजार रोपनी खेतीयोग्य जग्गा ओगेटेको छ। घरेलु तथा साना उद्योग विकास समिति धादिङका अनुसार जिल्लामा ३० वटा इँट्टा उद्योगले सञ्चालन अनुमति लिएका छन्।
इँट्टा उद्योगले घटायो तरकारीको परिमाण
तरकारी फल्ने जग्गामा इँट्टा उद्योग सञ्चालन भएपछि काठमाडौं र पोखराका तरकारी बजारमा जाने तरकारीको परिमाण घटेको छ। 'पहिले दैनिक ३० टि्रपसम्म तरकारी काठमाडौंका बजारमा जान्थ्यो, अहिले १० टि्रप पुग्न मुस्किल छ,' धार्के तरकारी संकलन केन्द्रका बाबुकृष्ण गजुरेलले भने।
जथाभावी सञ्चालनमा आएको इँट्टा उद्योगले तरकारीले समृद्ध बन्दै गएको फाँटको रुप नै बदलिएको छ। 'दूध फलफूल र तरकारी घरघरमा रोजगारी'को नारा तय गरेर कृषि क्षेत्रको विकासमा लागि परेका निकायहरु जथाभावी ढंगबाट इँट्टा उद्योग सञ्चालनमा आइरहँदा मौन बसेका छन्। मनोमानी रुपले कृषकको खेतीयोग्य जमिन मासेर सञ्चालनमा आएको इँट्टाभट्टाबारे नियमनकारी निकायले समेत ध्यान दिएको छैन।
किसानले धान, मकैको सट्टा वर्षमा चार बाली फरकफरक किसिमका तरकारी खेती गर्दै आएका थिए। 'एक रोपनी जग्गामा लगाएको तरकारीबाट वर्षमा एक लाख रुपैयाँसम्म आम्दानी लिन सकिन्थ्यो,'किसान भन्छन्, 'अहिले वर्षमा २० हजारमा चित्त बुझाउनु परेको छ, त्यही पनि धुवाँधुलोले बिरामी पर्दा औषधी गर्न नि पुग्दैन।' त्यस क्षेत्रमा विशेषगरी काउली, बन्दा, गोलभेंडा, खुर्सानी लगात नगदे तरकारी बाली खेती हुँदै आएको थियो।
प्रकाशित: २३ माघ २०७३ ०४:१३ आइतबार