२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन मार्फत नेपाली अर्थतन्त्र उकास्न सकिन्छः अमेरिकी राजदूत थम्पसन

पोखराका पर्यटन व्यावसायीसँगको भेटघाटपछि तस्बिर खिचाउँदै अमेरिकी राजदूत डिन आर थम्पसन। तस्बिरः नागरिक

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गण्डकी प्रदेश र पोखराको अर्थतन्त्र उकास्न पर्यटन नै महत्त्वपूर्ण क्षेत्र रहेको र त्यसमा सहकार्य गर्न तयार रहेको बताएका छन्। पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा राजदूत थम्पसनले नेपाली अर्थतन्त्र उकास्नका लागि पर्यटन सबैभन्दा बढी महत्त्वपूर्ण रहेको बताए।  

‘नेपाली अर्थतन्त्र उकास्न पर्यटन महत्त्वपूर्ण क्षेत्र हो। त्यसमा पनि पर्वतीय पर्यटनको सम्भावना अझै रहेको छ,’ व्यावसायीसँगको छलफलमा उनले भने, ‘बरु पर्यटनका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा सहकार्य गर्न सकिन्छ।’ कामदारको क्षमता अभिवृद्धि, मानव संशोधन विकास गर्नेबारे सहकार्य गर्न सकिने उनले बताए। युवा पुस्तालाई नेपालमै अवसर रहेको पनि उनले बताए  

उच्च हिमाली भेगमा जलवायु परिवर्तनको असर अधिक रहेको र यसलाई कम गर्ने उपायबारे पनि उनले व्यावसायीसँग छलफल गरेका थिए। ‘पदयात्रा पर्यटन नेपालका लागि महत्त्वपूर्ण रहेको छ। हिमाली भेगमा जलवायु परिवर्तनको असर पनि उत्तिकै छ। पदयात्रा क्षेत्रलाई सुरक्षित बनाउनका लागि मौसमी अवस्थाबारे जानकारी दिने प्रविधि जडान गर्न सकिन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा आइपर्ने जोखिम न्यूनीकरण गर्नका लागि पूर्व सूचना प्रणाली स्थापना गर्न सकिन्छ। मौसम पूर्वानुमान सम्बन्धी जानकारी दिने प्रविधि राख्ने हो भने हिमाली भेग सुरक्षित हुनेछ।’  

छलफलमा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गरेका थिए। तत्पश्चात् पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान गण्डकी) का अध्यक्ष धर्मराज पन्थीले पदयात्रामा जाने पर्यटकको सुरक्षाको लागि पथप्रदर्शको व्यवस्था गरिएको जानकारी गराए।  

पन्थीका अनुसार एक्लै पदयात्रामा जाँदा नेपालमा मात्र वर्षमा १० जना जति पर्यटक हराउने गरेका छन्। एक्लै पदयात्रामा जाँदाको समस्या न्यूनीकरण गर्नका लागि पनि एक्लै पदयात्रामा जान नपाउने गरि व्यवस्था गरेको बताए। ‘पदयात्राका क्रममा कुन बेला कहाँ के अप्ठेरो आउने भन्ने थाहा नहुने भएकोले सहयोगी लिएर जाँदा सहज हुने भएकोले यो नियम ल्याइएको हो,’ पन्थीले भने, ‘कम्तीमा पदयात्रा सुरक्षित हुनुपर्छ भन्ने हाम्रो भनाई हो।’  

पर्यटन व्यावसायीसँगको छलफलको क्रममा होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताएका थिए। पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्यामा बढोत्तरी देखिएको पनि ढकालले जानकारी गराएका थिए।

ढकालले होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको र यसले रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रमा टेवा पु¥याउँदै गरिबी निवारण गर्न पनि भूमिका खेलेको बताए। कोभिड १९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामा कुनै कमी नहुने गरी अप्ठेरो अवस्थामा पनि व्यवसायीले सेवा दिएको सुनाए।  

पोखरामा अमेरिकी ब्लगर, ट्राभल राइटर र पत्रकारलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्ने योजना बनाएको पनि ढकालले जानकारी दिएका थिए। ‘पर्यटन प्रवर्द्धनमा विभिन्न उपायहरु अपनाइएको छ। अहिले भन्दा पनि थप अमेरिकी पर्यटकलाई पोखरा भिœयाउनका लागि हाम्रो पहल हुनेछ,’ उनले भने। पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको बताउँदै उनले द्विपक्षीय व्यापारिक लाभका लागि संघले आवश्यक भूमिका खेल्न सक्ने सुनाए।  

राजदूत थम्पसनले पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गर्दै व्यवसायीको दक्षता अभिवृद्धि, उद्यमशीलता र जलवायु परिवर्तन लगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य जारी रहने पनि बताएका थिए।  

प्रकाशित: १६ वैशाख २०८० १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App