६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारी टाठाबाठाको सिण्डिकेट हुँदा सर्वसाधारण ठगिदै

प्रभावकारी नियमनको अभाव, टाठाबाठाको ‘सिण्डिकेट’ र गलत क्षेत्रमा लगानी जस्ता कारणले इटहरीका एकपछि अर्को सहकारीमा सदस्यहरूको बचत असुरक्षित बन्दै गएको छ। कतिपय सञ्चालकको बदनियतपूर्ण व्यवहारले सर्वसाधारण लुटिइरहेका छन्।

यसैक्रममा इटहरी वडा नं. ९ मा सञ्चालित खनार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, सञ्चालक समिति सदस्य, पूर्व अध्यक्षलगायतले वद्नियत राखेर ठूलो रकम चलाएको खुलेको छ। साविक खनार गाविसभर अर्थात अहिलेको इटहरी वडा नं. १०, ११ र १२ मा काम गर्ने अधिकार क्षेत्र भएतापनि वडा नं. ९ मै मुख्य कार्यालय राखेर सर्वसाधारणसँग निक्षेप संकलन गरि निक्षेप फिर्ता नगरे घटना बाहिरिएपछि त्यसमा बद्नियत देखिएको इटहरी उपमहानगरपालिको जनाएको छ।

उपमहानगरपालिका सहकारी महाशाखाका प्रमुख बालकुमार पोखरेलले सर्वसाधारणको निक्षेप फिर्ता नदिने खनार वचत तथा ऋण सहकारी संस्थाको छानबीन थालिएको छ। ‘सर्वसाधारणले वचत गरेको निक्षेप फिर्ता गरेर न्याय दिलाउने ढंगले उपमहानगरपालिका अघि बढेको छ,’ उनले भने। उपमहानगरपालिकाको प्रारिम्भक छानबीनका क्रममा अध्यक्ष सदिप तामाङ् र व्यवस्थापक धर्मेन्द्र दासको मुख्य बद्नियत रहेको छ। संस्थामा संकलन भएको झन्डै दुई करोड हाराहारी निक्षेपमध्ये अध्यक्ष तामाङ्ले ३५ लाख र व्यवस्थापक दासले २० लाख मनोमानी ढंगले चलाएको खुलेको छ। अरुले चलाएको रकमबारे पनि छानबीन थालिएको छ।

प्रभावकारी नियमनको अभाव र गलत क्षेत्रमा लगानी जस्ता कारणले सहकारीमा रहेको सदस्यहरूको बचतकर्ताको निक्षेप असुरक्षित हुने क्रममै इटहरी उपमहानगर वडा नं. ९ मा सञ्चालित थालनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा हिनामिना गरेको सार्वजनिक भएको थियो। लगतै कामक्ष्यदेवी सहकारी संस्थाले ठूलो संख्यामा रहेका वचतकर्ताको निक्षेप नदिएर त्यसका अध्यक्ष अनिल गौतम यतिबेला पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कामक्ष्यदेवी पाँच करोड ४५ लाख ५५ हजार १८३ रुपैयाँे निक्षेप फिर्ता गर्न नसकेको उल्लेख छ। कामक्ष्दवी सहकारी संस्थाले राष्ट्र बैकको नीति विपरीत विना धितो पैसा लगानी गर्दा र अध्यक्ष गौतमले पनि ठूलै रकम आफ्नो अरु व्यवसायमा लगानी गर्दा सर्वसाधारण ठगिएको प्रहरीले जनाएको छ।

नियमन र अनुगमन नहुँदा इटहरीमा सञ्चालित सहकारी संस्थाले बचतकर्ताको रकम ठगी गर्ने क्रम बढ्दो छ। जसमा इटहरीमै सञ्चालित हलेसी उपभोक्ता वचत तथा ऋण सहकारी संस्था पनि सहकारी ऐन, नियम र पद्दती अनुसार सञ्चालन नभएको उजुरी उपमहानगरपालिकामा परेको जानकारी दिइयो।

सञ्चालक समितिका पदाधिकारीको मनपरी, फितलो व्यवस्थापनका कारण इटहरीमा सहकारी संस्थाबाट पीडित बन्नेहरु बढ्दै गएकोमा उपमहानगरपालिका क्षेत्राधिकार भित्र पर्ने सवै सहकारीको सुक्ष्म रुपमा निगरानी अघि बढाएको जानकारी दिइयो। इटहरी क्षेत्रमा एक सय ७५ हाराहारी सहकारी संस्था रहेका छन्।  

प्रकाशित: ८ वैशाख २०८० १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App