४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

कास्कीको हेमजामा आयोजित आलु महोत्सवमा आलु किन्दै सर्वसाधारण। तस्बिर: नागरिक

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा बर्सेनि आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।

विषादीरहित आलु त्यसमा पनि सस्तोमा पाइएपछि सर्वसाधारणले बोरा-बोरा आलु उठाए। अर्ग्यानिक आलु खेती हुदैं आएको हेमजामा किसानले उत्पादन गरेको आलु सिधै सर्वसाधारणको पहुँच हुने गरी महोत्सव मार्फत विक्री वितरण हुदैं आएको छ। किसानको उत्पादन लागत अनुमान गरेर सिधै विक्री वितरण हुँदा बिचौलियाको प्रवेशै पाएनन्। बिचौलियाको प्रवेश नहुँदा किसानको उत्पादन सिधै सर्वसाधारणले सहजै उपभोग गर्न पाए। किसानले उत्पादन गरेको आलु एकै ठाँउमा ल्याएर विक्री वितरण राखिएको थियो।

‘महोत्सव अवधिमा आलु मात्रै ८० टन बिक्री भएको तथ्याङ्क छ,’ महोत्सव आयोजक विष्णुपादुका युवा क्लबका अध्यक्ष सुविन श्रेष्ठले भने, ‘किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुग्यो। सर्वसाधारणले सोझै महोत्सव स्थलमै आलु खरिद गर्ने मौका पाए।’ उनका अनुसार क्लबले ४० टन आलुको थुप्रो लगाई महोत्सवमा विक्री वितरण सुरु गरेको थियो। तर सर्वसाधारणको माग ह्वात्तै बढेपछि ४० टन आलु तीन दिनमै सकिएको उनको भनाई थियो। ‘तीन दिनमा ४० टन आलु बिक्री भयो,’ उनले भने, ‘पहिलाको आलुले नपुगेपछि मौज्दात राखिएको ४० टन आलु ल्याइयो।’

हेमजाको आलु छिटो पाक्ने, विषादीकम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उत्पादित आलुको माग उच्च रहेको छ। ‘३५ रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने व्यवस्था गरिएको थियो’ उनले भने, ‘किसानको लागत मूल्य निर्धारण गरेर नै बिक्री मूल्य तोकिएको थियो।’

कास्कीको हेमजामा भने झण्डै ४५० हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुदैं आएको छ। अन्नपूर्ण सिँचाइ आयोजनाले ३५० हेक्टरमध्ये ३२० हेक्टरमा सिचिंत हुदैं आएको छ। १८५ हेक्टरमध्ये १०० हेक्टर क्षेत्रफल चौरासी नहरले सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। उत्पादकत्व भने प्रति हेक्टर ५ देखि ७ टन रहेको स्थानीय किसानको दाबी छ। हेमजामा विशेष गरी एमएस–४२, कुप्रज्योति, खुमललक्ष्मी, जनकदेव, खसमल, सेतो र डेजिरे नामक आलु लगाइने गरिएको छ। क्लबका अध्यक्ष श्रेष्ठका अनुसार ५४० परिवार आलु खेतीमा संलग्न छन्।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलुको उत्पादन गर्ने क्षेत्र घद्दै जानु दुःखद भएको बताए। पछिल्लो समय सहरीकरणको नाममा जग्गा खण्डीकरण हुदैं गएपछि आलु उत्पादनको क्षेत्र घट्दै गएको उनको भनाई थियो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको भन्दै कृषिलाई आयआर्जनसँग जोड्नुपर्ने बताए।

वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले आयोजना गरेको थियो। दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका युवा क्लबले गर्दै आएको छ।

प्रकाशित: ४ वैशाख २०८० १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App