१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै

पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।  

३.२८ किलोमिटर लम्बाईको तालचोक–बेगनास सडक स्तरोन्नती गरेसँगै हरियाली, फुटपाथ, साइकल ट्रयाक र डिभाइडर सहित चारलेनको हुनेछ। यस खण्डमा पाँचवटा पुल पनि निर्माण गरिनेछन्। स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे।  

निकै लामो समयदेखि निर्माणको पर्खाइमा रहेको यो सडक खण्डको निर्माण तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले अनुरोध गरे। तोकिएको समय भित्र निर्माण सम्पन्न गरेमा सार्वजनिक अभिनन्दन गर्ने पनि मेयर आचार्यले वचन दिए। आगामी २०८१ साल चैत्र २६ गते यो सडकको उद्घाटन गरिने मेयर आचार्यको अठोट छ।  

यस परियोजनामा विश्व बैंकले एकअर्ब ४९ करोड १५ लाख रुपैयाँ लगानी गर्नेछ । सडकको बीच भागमा १.५ मिटर चौडाइको डिभाइडर, दुवैछेउमा २.५ मिटर चौडाइको पार्किङ,  दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवैतिर नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेन्टिमिटर मोटाइको अस्फाल्ट पीच हुनेछ।  

सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबीले पाएको छ। यसले ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँमा सडक स्तरोन्नतीको ठेक्का पारेको हो। निर्माण कम्पनीसँग सम्झौता भएको मितिले दुइवर्षमा सक्नेगरि ४ जुलाई २०२२ मा सम्झौता भईसकेको छ।  

निर्माण व्यवसायी नारायण भुसालले तोकिएकै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जाहेर गरे। ‘तोकिएकै समयमा काम सम्पन्न गर्न हामी तत्पर छौं,’ भुसालले भने, ‘स्थानीयको सहयोग बिना कुनै पनि योजना सम्पन्न गर्न सकिन्न। काम बेलैमा सक्न स्थानीयबासी पनि सकारात्मक हुनुपर्छ।’  

पोखरा महानगरपालिका–२७ का अध्यक्ष पूर्णकुमार गुरुङले सडकको स्तरोन्नतिसँगै व्यवस्थित बसपार्क समेत निर्माणमा जोड दिए। चारलेनको सडक बन्दै गर्दा बेगनासमा एउटा व्यवस्थित बसपार्कको पनि आवश्यकतालाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए।

प्रकाशित: २८ चैत्र २०७९ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App