१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

महासंघमा त्रिपक्षीय प्रतिस्पर्धा

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार साधारणसभा हुँदैछ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदैछन्।  

महासंघको आसन्न निर्वाचनमा तीनवटा समूह निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। त्यसैगरी, एसोसिएटबाट १९, जिल्ला र नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहन्छन्।  

त्यसैगरी प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने महासंघले जनाएको छ। महासंघको चुनावमा जिल्ला, नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार रहने व्यवस्था छ। वरिष्ठ उपाध्यक्षमा विजयी हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। वरिष्ठ उपाध्यक्षका कुनै उम्मेदवारले पहिलो चरणको मतदानमा खसेको कुल मतको ५० प्रतिशत ल्याउन नसकेमा दोस्रो चरणमा निर्वाचन हुने व्यवस्था छ।  

दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउने उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ। वरिष्ठ उपाध्यक्षका प्रत्यासीले विभिन्न प्रतिवद्धता व्यक्त गर्दै चुनावी मैदानमा होमिएका छन्। वरिष्ठ उपाध्यक्षले अघि सारेका प्रतिवद्धता तथा योजनालाई यहाँ प्रस्तुत गरिएको छ।

जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउँछौं

राज्यको विकास र निर्माणका लागि निजी क्षेत्रको भूमिका सदियौँदेखि रहँदै आएको छ। बदलिँदो विश्व परिवेशमा निजीक्षेत्रको भूमिका झन् महत्वपूर्ण देखिँदै आएको छ। अर्थतन्त्रमा निजीक्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध साधन र श्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने आवश्यकता छ।

संविधानले परिकल्पना गरेको स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीतिको कार्यान्वयन गर्न निजी क्षेत्रहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका खेलेको छ। निजीक्षेत्रका अग्रजहरूले परिकल्पना गरेर जन्माएको व्यावसायिक सङ्गठन आज नेपालमा सरकारपछि सबैभन्दा धेरै सञ्जाल भएको सङ्गठनका रूपमा स्थापित छ। यो संगठनको सवल र सक्षम रूपमा नेतृत्व गर्नका लागि केही योजना बनाएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेको हुँ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त व्यावसायिक छाता सङ्गठनको रूपमा महासंघ विगत ५७ वर्षदेखि व्यवसायीहरू सँगसँगै हिँडिरहेको छ। महासंघ नेपाली उद्योगी व्यवसायीहरूको पेसागत संरक्षण र हक हितको सुनिश्चित गर्ने अभिप्रायले स्थापना गरिएको संस्था भएकाले यसको लक्ष्य, उद्देश्य परिपूर्ति गर्न काम गर्ने अठोट।  

नेपालमा समग्र उद्योग तथा वाणिज्य क्षेत्रको विकास र प्रवद्र्धनलाई मध्यनजर गर्दै स्थापित यो संस्थाले विगत ५ दशकमा नेपाली समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। महासंघले सदैव आफ्नो तर्फबाट नेपाल र नेपालीको हक हित, आर्थिक विकास, लोकतन्त्र र संविधानको रक्षाका लागि भूमिका खेलेको छ। महासंघ उद्योगी व्यवसायीहरूसँगै मुलुकको पनि आर्थिक उन्नतिको लागि समर्पित संस्था हो। नेपाली उद्योग व्यवसायहरूलाई सहजीकरण गर्दै विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन महासंघले विभिन्न तवरबाट भूमिका खेल्दै आएको छ।  

महासंघ सरकारको सल्लाहकार र सहयात्री रहँदै आवश्यक परेको बेला सरकारलाई सूचना, सल्लाह र परामर्श दिने काममा पनि सक्रिय रहेको छ। महासंघले नेपालमा रहेका उद्योगी व्यवसायीहरूको हकहितका लागि विभिन्न प्रवद्र्धनात्मक सेवाहरू तथा नियमित रूपमा तालिम, कार्यशाला र बहस तथा गोष्ठीहरू पनि आयोजना गर्दै आएको छ। समग्रमा यस महासंघले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका अतिरिक्त अन्तर्राष्ट्रिय विकास प्राथमिकता र अन्तर्राष्ट्रिय मञ्चमा राज्यले गरेका प्रतिबद्धता कार्यान्वयनमा समेत उल्लेखनीय योगदान गरिरहेको छ।  

नेपालभरका उद्योगी व्यवसायीहरूको साझा आवाज भएर यस महासंघले अर्थतन्त्रको आधुनिकीकरण, उत्पादन प्रक्रियाको स्तरीकरण एवम् जीवनशैली र उपभोग प्रक्रियामा गरेको योगदानले नेपालको पहिचान र क्षमतालाई विश्वव्यापी बनाउन मदत पुर्याइरहेको सन्दर्भमा महासंघको आसन्न महाधिवेशन र यसले निर्माण गर्ने नेतृत्वको भूमिका अझै बढी महत्वपूर्ण भएको छ।

‘हाम्रो वाचा, हाम्रो सङ्कल्पः जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र’ बनाउने प्रतिवद्धतासहित हामी महासंघको नेतृत्वमा आउन आकांक्षा गरेका हौं। महासंघले देशभरिका व्यावसायीहरूको हक र हितको संरक्षण गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनवरत रूपमा अगाडि बढेको छ। विश्व परिवेशमा भइरहेका परिवर्तनलाई मान्यता दिँदै खुला बजार अर्थतन्त्रको विकासमा प्रभावकारी र महत्वपूर्ण योगदान पुर्याउने महासंघको लक्ष्य रहेको हुँदा, यी लक्ष्य हासिल गर्नका लागि महासंघको आगामी नेतृत्वका लागि मैले दाबी पेस गरेको हुँ।  

नेपालको अर्थतन्त्रमा हाल देखिएका समस्याको समाधान गर्न महासंघको आर्थिक रूपान्तरणको रणनीतिक कार्यान्वयन गर्दै उत्पादनमुखी अर्थतन्त्रको निर्माणका लागि निजी क्षेत्रको भूमिका बढाउनु आजको अपरिहार्यता हो। नेपालमा निजी क्षेत्रको भूमिका र क्रियाशीलता बढाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको विस्तारका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारी हो।  

व्यवसायीहरूको आत्मनिर्भरता र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको राष्ट्रिय लक्ष्यलाई समर्थन गर्दै देशको व्यापार र उद्योगको सर्वोच्च प्रतिनिधि निकायको रूपमा काम गर्ने र सरोकारवाला स्वदेशी तथा विदेशी संघसंस्थाहरूसँगको सहकार्यलाई मित्रवत् र रणनीतिक ढङ्गबाट अगाडि बढाउने योजना बनाएका छौं। महासंघले हाल गर्दै आएको व्यवसायी, सरकार र समुदायलाई अद्यावधिक सूचनासँगै सामाजिक उत्तरदायित्व र कर्पोरेट सुशासनका साथ सुसंस्कृत व्यावसायिक अभ्यास गराउने प्रयासहरूलाई निरन्तरता दिन प्रतिबद्ध छौं। मेरो टिमका उद्योगी व्यवसायी ‘मित्रहरूसँग हाम्रा हक हित संरक्षण, हाम्रा समस्याहरूको उचित सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघमा जीवन्त भूमिका निर्वाह गर्न र नेपालमा जिम्मेवार र जोसिलो निजी क्षेत्र निर्माणका लागि वाचा गरेका छौं ।  

उम्मेद्वारी दिनुअघि देशैभर उद्योगी व्यवसायीहरूसँग छलफल गर्दैगर्दा उठेका प्रमुख मुद्दाहरू, अर्थतन्त्रका विद्यमान समस्या निराकरणका लागि महासंघको दायित्व र राज्यका आर्थिक नीतिहरूमा सान्दर्भिक सुधारका लागि मेरो उम्मेद्वारी हो (बरिष्ठ उपाध्यक्षका प्रत्याशी  अन्जन श्रेष्ठको प्रतिवद्धतापत्रमा आधारित)। 

उद्यमशीलता विकासका लागि पहल गर्छौं

मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको र सुस्ताएको अवस्था छ। अर्थतन्त्रको समग्र सूचकहरू पनि राम्रो देखिँदैन। लगानीका लागि पुँजीको अभाव छ। यो अवस्थामा अहिले हामी नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व लिने प्रतिस्पर्धामा छौं। महासंघको बिरासतलाई उँचो राख्न तथा मुलुकभर उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान पुर्याउन नेतृत्वमा आउन चाहेको हुँ।

मुलुकको अर्थतन्त्र सुधार गर्न दीर्घकालीन हिसाबले गर्नुपर्ने कामहरू छुट्याएर अघि बढ्नु जरुरी छ। आर्थिक विकास र मुलुकको समग्र अर्थतन्त्र सुधारका लगि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण रहने महसुस गरेको छु। यसका लागि म निरन्तर लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्छु। नेतृत्वमा आएको खण्डमा उद्योग तथा कलकारखानामा २४ सै घण्टा विद्युत् आपूर्तिको सुनिश्चितता गर्न पहल गर्नेछु। उद्योगी व्यवसायीले भोग्नुपरिरहेका प्रशासनिक ढिलासुस्ती हटाउने प्रयत्न गर्नुपर्छ। लगानीकर्तालाई सम्मानित नागरिकका रूपमा व्यवहार गर्ने वातावरण तयार पार्नेछौं। विदेशी लगानीको संरक्षण र सुरक्षामा विशेष पहल गर्ने योजना छ। दक्ष श्रमिकको माग पूरा गर्नेतर्फ सरकारको ध्यान आकर्षित गर्ने एवं श्रम सम्बन्ध सुधारको पहल कदमी गर्नुपर्ने छ। कर प्रणालीलाई झन्झट मुक्त र सरल बनाउन पहल गर्नु मेरो मुख्य ध्येय हुनेछ। उद्योग स्थापना र सञ्चालनमा आइपर्ने स्थानीय समस्या तत्काल समाधान हुने वातावरण तयार गर्नुपर्छ।  

कच्चा पदार्थ आयात तथा निर्यातमा आइपर्ने समस्या निराकरण गर्ने योजना रहेको छ। भन्सार जाँचपास तथा राजस्व भुक्तानीको प्रक्रियागत जटिलतामा सरलीकरण गराउनको लागि आवश्यक काम गर्नेछु। स्वदेशी कच्चापदार्थ प्रयोग गरी उत्पादन हुने वस्तु निर्यातमा नगद प्रोत्साहनको नीतिगत व्यवस्था मिलाउनु पर्छ। निकासीजन्य उद्योगले प्राप्त गर्ने बैंक ग्यारेन्टी, नगद धरौटी, पासबुक सुविधा उपयोग गर्न प्रक्रियागत सरलीकरणको पहल गरिनेछ। कच्चापदार्थ पैठारी गर्दा तिरेको महसुल निकासी गरेको परिमाणका आधारमा फ्ल्याट दरमा फिर्ता पाउने व्यवस्था मिलाइनेछ। कच्चा पदार्थमा लाग्ने महसुल तयारी वस्तुमा लाग्नेभन्दा दुई तह कम हुनुपर्ने र निकासीजन्य उद्योगलाई कच्चापदार्थको पैठारीमा सुविधा दिन पहल गर्नेछौं। सामुन्द्रिक बन्दरगाहका भन्सार र सीमावर्ती भन्सारको जाँचपास प्रक्रियालाई स्वचालित गर्न तथा व्यवसायीले एक निकायमा पेस गरेको विवरण स्वतः अर्को निकायमा जाने प्रणालीको विकास गर्न ध्यानाकर्षण गराउनेछ।  

स्वदेशमा उत्पादित वस्तुको संरक्षणका लागि सेफगार्ड, एन्टिडम्पिङ र काउन्टरभेलिङ कानून प्रभावकारी कार्यान्वयनको पहल गरिनेछ। करदाताले आफ्नो प्रमाणका आधारमा अग्रिम कर मिलान गर्न पाउने सुविधा कार्यान्वयका लागि आवश्यक पहलकदमी आवश्यक छ।  

नेपालमा पर्यटन र रोजगारीलाई विशेष ध्यान दिनुपर्नेछ। अहिले वार्षिक १० लाख पर्यटक नेपाल भित्रिरहेकोमा त्यसलाई १० गुणा बढाउने गरी योजना ल्याउनुपर्छ। उद्योगलाई जीवन्त राख्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापनको लागि आवश्यक पहलकदमी गरिनेछ। स्थिर ब्याजदर तथा उद्योगमा रहेको कर्जालाई उद्योगीले आवश्यकता महसुस गरेमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकीकरण गर्न पाउने विषयलाई जोडदारसहित उठाउनुपर्छ। पूर्वाधार निर्माणअन्तर्गत भएका खर्चहरूको कार्यको भौतिक प्रगति देखाए लगत्तै तत्काल भुक्तानीको व्यवस्थाका लागि पहल गर्नेछौं। अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरूको आयात खुकुलो बनाउन सरकारसँग लविङ गर्छौं । सरकारले निर्यातजन्य उद्योगका लागि आठ प्रतिशत नगद अनुदानको नीतिको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी छ। आठ प्रतिशत नगद अनुदान प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइन्छ। यो झन्झटिलो छ। यो नीति पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्थाका लागि पहल गर्नेछौं।

सीमा क्षेत्रका उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याको समाधानका लागि पहल थाल्नेछौं। साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन र प्रवद्र्धन गर्न छुट्टै नीति तय गर्न पहल गर्नेछौं। विदेशमा काम गरेर कमाएको रकम उत्पादनमूलक उद्योगमा लगानी गरी प्रतिफल प्राप्त गर्ने वातावरण तयार पार्ने योजना छ। विदेशमा सिकेको सीपअनुसारको उद्यम व्यवसाय गर्न चाहने युवालाई बिना धितो सहुलियत कर्जा उपलब्ध गराइ उद्यमशीलताको विकासमा अघि बढाउनु पर्छ।

बैंक ग्यारेन्टीमा ल्याएको सामानलाई मात्रै ‘बन्डेड वेयर हाउस’सुविधाको प्रयोजनका लागि गणना गर्न, भन्सार जाँचपास परीक्षण कार्यालयले बढीमा एक वर्षसम्म परीक्षण गर्न पाउने व्यवस्था गर्न आवश्यक छ। न्यून बिजकीकरण भई आयात हुने वस्तु पूर्णरूपमा बन्द गर्नुपर्ने र उद्योगले आफ्नो उत्पादनमा प्रयोग हुने प्याकेजिङ वस्तु अर्को उद्योगबाट खरिद गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गर्नुपर्छ ( बरिष्ठ उपाध्यक्षका प्रत्याशी रामचन्द्र संघाईको प्रतिवद्धता पत्रमा आधारित)।

निजी क्षेत्रको आवाज उच्च तहमा पुर्याउँछौं

आत्मनिर्भर अर्थतन्त्र र द्रुततर विकासका लागि महासंघ अझै सबल रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ। महासंघले २०३० भित्र मुलुकलाई एक सय खर्ब बराबरको जिडिपी पु¥याउने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरिरहँदा यसका लागि थप रूपान्तरणकारी योजना ल्याउन नेतृत्वमा आउन चाहेको हुँ।  

विश्व आर्थिक मन्दी र महँगीको असर हाम्रो जस्तो आयातमा निर्भर अर्थतन्त्र भएको मुलुकका लागि निकै चुनौतीपूर्ण बन्दै गएको छ। उत्पादकत्व, रोजगारी, लगानी, पर्यटन जस्ता सबै क्षेत्रमा अहिले संक्रमणको अवस्था छ। साना तथा मध्यम खाले व्यवसायहरू सबैभन्दा बढी प्रभावित भएका छन्। आन्तरिक उत्पादन हुन नसक्दा व्यापारघाटा प्रत्येक वर्ष चुलिँदै जाने, रोजगारी सिर्जना हुन नसक्ने, सार्वजनिक ऋण बढ्दै गएकाले आर्थिक जोखिम उच्च भएको छ।  

मुलुकको अर्थतन्त्रमा झण्डै ७० प्रतिशतको हिस्सा ओगटेको निजी क्षेत्रको मनोबल गिर्न नदिन पनि उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएर काम गर्न चाहेको हुँ। मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु अर्को चुनौतिका रूपमा देखा परेको छ। नेपालको शिक्षा प्रणालीले व्यवसायलाई चाहिने सीप र ज्ञानका साथ जनशक्ति उत्पादन गर्दैन, जसले गर्दा श्रमशक्तिको सीप र निजी क्षेत्रका आवश्यकताहरू बीचको मेलमिलाप हुन सकेको छैन।  

मुलुकमा पछिल्लो समय उच्च व्याजदरले गर्दा लगानीको वातावरण बन्न नसकेकाले व्याज घटाउनु पर्छ। चर्को ब्याजदरका कारण साना तथा मझौला उद्योगीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी योजना भए पनि उच्च ब्याजदरका कारण प्रभावित हुँदै आएको छ। यो समस्या समाधान गर्नुपर्नेछ। पुँजीगत खर्च निकै कम भएकाले यसलाई बढाउनुपर्ने छ। आयात निरुत्साहित गरेर निर्यात प्रोत्साहन गर्ने सरकारी नीति भए पनि गत वर्ष मुलुकले १७ खर्ब २० अर्ब व्यापार घाटा व्यहोरेको थियो। निर्यात बढाउने आयात घटाउने हाम्रो प्राथमिकता हो।

विद्युत् आपूर्तिमा भएको समस्या, यातायात र सञ्चार पूर्वाधारमा सीमित पहुँचले अनावश्यक लागत बढाएकाले यसलाई घटाउनु पर्छ। गलैंचा, कपडा र हस्तकला जस्ता केही उत्पादनहरूमा मात्रै निर्भर हुँदा निर्यात नगन्य मात्रामा भएकाले निर्यात बढाउनु पर्छ।  

प्रविधिमा सीमित पहुँचले गर्दा नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएकाले डिजिटल पूर्वाधारमा लगानी गर्न आवश्यक छ। उद्योग व्यवसाय प्रवद्र्धन र बिस्तार, रोजगारी सिर्जना, कृषिको उत्पादन वृद्धि मार्फत आत्मनिर्भर अर्थतन्त्र आजको प्रमुख आवश्यकता हो। युवाहरूलाई विदेश पलायनबाट रोक्नका लागि पनि औद्योगिक गतिविधि विस्तार गर्न जरुरी छ। महासंघले नेपालमा लगानीका अवसरहरूलाई पहिचान गरी अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षित गर्नुपर्छ। उत्पादनदेखि बजारीकरणसम्म समन्वय एवं अन्तर्राष्ट्रिय बजार प्रबद्र्धनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्न सक्छ। युवा उद्यमीको दक्षता, क्षमता एवं उत्पादकत्व वृद्धि गरी प्रतिस्पर्धामा आउन सक्ने नयाँ प्रविधिहरू र व्यापार मोडेलहरूको अवलम्बनलाई बढावा दिनुपर्छ।

महासंघलाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न बलियो आधार स्थापित गर्ने हाम्रो मुख्य उद्देश्य हो। पारदर्शिता, जवाफदेहिता र नैतिक आचरण हाम्रा प्रतिवद्धता हुन्। नेतृत्वमा आए सुशासन र महासंघको संरचनालाई सुदृढ बनाउने, निर्णय प्रक्रियामा विविधता र समावेसिताको सिद्धान्तलाई अंगीकार गरिने छ। महासंघबाट हुने निर्णय र कार्यसम्पादनको अनुगमन, मूल्यांकनका लागि संयन्त्रहरू स्थापना गर्नेछौं। महासंघको भिजन, मिसन र आगामी पाँच वर्षका लागि रणनीतिक योजना तय गरेर अघि बढ्ने प्रतिवद्धता लिएर चुनावी मैदानमा आएको हुँ। 

अर्थतन्त्रको संरचना सुधार र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहका जननिर्वाचित प्रतिनिधिसँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता छ। नीतिगत सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयका लागि निरन्तर खबरदारी आवश्यक छ। विद्यमान ऐन, कानून र नियमहरूले उद्योगी व्यवसायीहरूलाई उद्योग ÷ व्यवसाय गर्न कठिन बनाएको ऐन, कानून र नियमहरूलाई अविलम्ब संशोधन गर्न पहल कदमी लिनेछौं। सरकारका आर्थिक ऐन तथा नीति र निजी क्षेत्रमा यसले पार्ने प्रभाव बारे अध्ययन अनुसन्धान गर्ने, सार्वजनिक–निजी साझेदारी, पीपीपी मोडललाई अंगीकार गर्ने, निजी क्षेत्रको आवाज सरकारको उच्च तहसम्म पुर्याउन पहल गरिनेछ । निजी क्षेत्रभित्र दिगोपन र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्न उद्योग व्यवसायमा वातावरण–मैत्री अभ्यासहरू गर्दै लैजाने, उद्योग प्रतिष्ठानमा श्रमको उचित सम्बोधन गर्ने वातावरण सिर्जना गर्ने, निजी क्षेत्र भित्र विविधता र समावेसितामा जोड दिनेछौं (वरिष्ठ उपाध्यक्षका प्रत्याशी  उमेशलाल श्रेष्ठको प्रतिवद्धता पत्रमा आधारित)।

प्रकाशित: २८ चैत्र २०७९ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App