९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सगरमाथा आरोहण गर्न १ सय ७८ जनालाई अनुमति

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा आकर्षण बढ्दो छ। चालु आर्थिक वर्षमा १ सय ७८ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका छन्। १८ समूहका १ सय ५० पुरुष र २८ महिला गरी कुल १ सय ७८ आरोहीले सरगरमाथा हिमाल आरोहण गर्न अनुमति लिएका छन्।

सरकारले आरोहण अनुमति शुल्क संकलन गर्ने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सबैभन्दा बढी रकम संकलन गरेको छ। ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर उचाइ भएको सगरमाथाबाट अहिलेसम्म २४ करोड २६ लाख ९९ हजार रूपैयाँ संकलन भएको बिभागको तथ्याङ्कले देखाएको छ। सगरमाथा हिमालबाट संकलन भएको रकम कुल रकमको करिब ८७ प्रतिशत हो। सगरमाथापछि सबैभन्दा बढी राजस्व ल्होत्से हिमाल आरोहण अनुमतिबाट उठेको छ। यो राजस्व संकलन गर्ने दोस्रो हिमाल हो।

सरकारले यस वर्षको वसन्त ऋतुको पहिलो महिनामा हिमाल आरोहण अनुमतिबाट करिब २८ करोड राजस्व संकलन गरेको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार वसन्त ऋतुको मार्च महिनासम्म सरकारले २७ करोड ९१ लाख १ हजार ३ सय ६१ रूपैयाँ राजस्व हिमाल आरोहण अनुमति बापत संकलन गरेको हो।

सरकारले १७ हिमाल आरोहणको अनुमति शुल्क बापत उक्त रकम संकलन गरेको हो। ८ हजार ५ सय १६ मिटर उचाइ रहेको ल्होत्से हिमालबाट सरकारले आरोहण अनुमति शुल्कबाट १ करोड ३० लाख रूपैयाँ संकलन गरेको छ। ल्होत्से हिमालमा हालसम्म ७ समूहले अरोहण अनुमति लिएका छन्। ४३ पुरुष र १७ महिला गरी कुल ६० आरोहीबाट अनुमति शुल्कबापत १ करोड ३० लाख रूपैयाँ संकलन भएको हो।

यस्तै ल्होत्सेपछि ८ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम तेस्रो स्थानमा छ। बोर्डको तथ्याङ्क अनुसार अन्नपूर्ण प्रथमले हालसम्म १ करोड ४ लाख २६ हजार रूपैयाँ राजस्व शुल्क रकम संकलन गरिसकेको छ। अन्नपूर्ण प्रथममा ३८ पुरुष र १६ महिला गरी कुल ५४ आरोहीबाट सो रकम संकलन भएको हो। बोर्डको तथ्याङ्क अनुसार अहिलेसम्म अन्नपूर्ण प्रथममा ५ समूहले अनुमति लिएका छन्।

यसै क्रममा ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु र ८ हजार १ सय ६७ मिटर उचाइको धैलागिरी हिमालबाट सरकारले क्रमशः ३५ लाख ४३ हजार र ३४ लाख ४५ हजार रूपैयाँ शुल्क रकम अनुमति दिएबापत संकलन गरेको छ। मनास्लु हिमालमा हालसम्म ४ समूहका १२ पुरुष ३ महिला गरी जम्मा १५ आरोहीबाट अनुमति शुल्क बापत उक्त रकम प्राप्त भएको हो।

यसैगरी अमादब्लम, मकालु प्रथम, हिमालुङ लगायतका १७ हिमाल आरोहण अनुमति दिएबापत सरकाले करिब २८ करोड राजस्व संकलन गरेको छ। कोभिडपछि हिमाल आरोहण गर्नेको संख्या बिस्तारै बढ्दै गइरहेको बताउँदै पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले भने ‘अहिले हिमाल आरोहण गर्ने सबैभन्दा उपयुक्त समय हो, हिमाल आरोहण अनुमति दिने काम विभागले गर्छ। विभागले पर्वतारोहण अनुमति र पर्वतीय पर्यटनको एकीकृत विकासका लागि सहकार्य तथा सहजीकरण गरिरहेको छ।’

यसबाहेक हिमाल सफा गर्ने, हिमालय क्षेत्रमा आरोहीहरूका लागि पूर्वाधार निमार्ण गर्ने, विश्वव्यापी रूपमा हिमालहरूको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने काममा सम्बन्धित निकायसँग सहकार्य गर्ने कार्यहरू विभागले गरिरहेको महानिर्देशक लुइँटेलले बताए।

मार्च, अप्रिल र मे महिना पर्ने वसन्त ऋतु सबैभन्दा बढी हिमाल आरोहण गर्ने समय हो। वसन्त ऋतुको मार्च अप्रिल पहिलो हप्तासम्म ५९ देशका कुल ४ सय ३५ आरोहीले अनुमति शुल्क बुझाएका छन्। विभागको तथ्याङ्कअनुसार ३ सय ४५ पुरुष र ९० महिला गरी कुल ४ सय ३५ आरोहीले हालसम्म विभिन्न १७ हिमालहरूको आरोहण अनुमति लिइसकेका छन्।

यसै क्रममा सबैभन्दा धेरै हिमाल आरोहण अनुमति लिने राष्ट्रमा अमेरिका पहिलो स्थान छ। विभागबाट अमेरिकाका ६० पुरुष र १० महिला गरी ७० आरोहीले हिमाल आरोहण गर्न अनुमति लिई विभागलाई अनुमति दस्तुर बुझाएका छन्।

अमेरिकापछि छिमेकी मुलुक भारत दोस्रो स्थानमा छ। भारतबाट ३६ पुरुष र ७ महिला गरी कुल ४३ भारतीयले विभागमा अनुमति दस्तुर बुझाएका छन्। तेस्रो स्थानमा भने नेपाल रहेको छ। विभागको तथ्याङ्क अनुसार नेपालबाट ३८ पुरुष र १ महिला गरी जम्मा ३९ जना आरोहीले हिमाल आरोहण गर्ने अनुमति लिएका छन्।

यसैगरी क्यानडा, चाइना, अष्ट्रेलिया, जापान, बेलायतलगायत ५९ राष्ट्रका आरोहीहरूले विभागबाट हिमाल आरोहण गर्न अनुमति लिई आवश्यक दस्तुर बुझाएका छन्। वसन्त ऋतुमा हिमालहरू चढ्नेको संख्या सबैभन्दा बढी हुने बताउँदै विभागका अधिकृत विज्ञान कोइरालाले भने ‘मौसमको दृष्टिले सबैभन्दा उपयुक्त समय भएकाले सम्भावित दुर्घटना कम हुने, दिन लामो र सफा हुने भएकाले गर्दा यस सिजनमा सबैभन्दा धेरै आराहीले हिमाल आरोहण गर्छन्।’

उनले थपे ‘वसन्त ऋतुमा हिमाल आरोहण गर्ने बाटो अन्य ऋतुभन्दा सहज हुन्छ। बाटो पनि सजिलै निक्र्योल गर्न सकिन्छ। शरदलगायत अन्य ऋतुमा बाटाहरू हिउँले ढाकेर निक्र्योल गर्नै कठिन पर्छ। फेरि मौसम पनि छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले यो समयमा अन्य समयभन्दा बढी आरोहीहरू हिमाल चढ्छन्।’

प्रकाशित: २७ चैत्र २०७९ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App