१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोभिडपछि २० प्रतिशत व्यवसायी पलायन भएको अनुमान

होटल व्यवसायी महासंघको प्रथम महाधिवेशनबारे जानकारी गराउँदै आयोजक। तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक

गण्डकी प्रदेशमा करिब २० प्रतिशत होटल व्यावसायी पलायन भएको होटल व्यावसाय महासंघले बताएको छ। महासंघ गण्डकीले कोभिड–१९ र त्यसको असरका कारण करिब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो।

महासंघको प्रथम महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भने, ‘कोभिडले कतिपय पहिल्यै पलायन भइसकेका थिए। त्यसपछि अहिले आर्थिक मन्दी र बैंक ब्याजदर वृद्धि भएका कारण पलायन हुनेको संख्या बढ्दो छ।’ 

व्यावसायी पलायनसँगै मजदुर पनि पलायन हुने क्रम बढेको उनले बताए। यसको प्रभावस्वरुप दक्ष कामदारको अभाव बजारमा हुन थालेको चोखालको भनाई छ। ‘व्यवसायी पलायन हुँदा त्यसको प्रत्यक्ष प्रभाव कामदारमा हुने नै भयो। जसका कारण अहिले दक्ष कामदारको अभाव बजारले भोगिरहेको छ,’ उनले भने। 

व्यावसायी पलायन भएपनि होटलको संख्या भने बढ्दो रहेको उनले दाबी गरे। देश संघीयतामा गएपछि संघ, प्रदेश र पालिकाले पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा भूमिका खेल्दा होटलको संख्या बढेको उनको तर्क छ। उनका अनुसार कोभिड शुरु हुँदाताका गण्डकी प्रदेशमा ६ हजार ५० वटा होटल थिए तर अहिले त्यो संख्या बढेर ८ हजार नाघेको छ। ‘पछिल्लो तथ्याङ्क निकाल्न बाँकी छ, गण्डकी प्रदेशमा दशहजार होटल पुगेको हाम्रो अनुमान छ,’ उनले भने। उनका अनुसार गण्डकी प्रदेशमा होटल व्यवसायमा मात्र ६२ अर्ब रुपैयाँको लगानी छ भने ५४ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। 

महासंघ गण्डकी प्रदेश अध्यक्ष चोखालले पर्यटन क्षेत्र अहिले धानिनसक्ने अवस्थामा रहेको बताए। कोभिड र त्यसको असरका रुपमा आएको मन्दीले पर्यटन क्षेत्र धरासायी भइरहेको आंकलन भईरहँदा उनले भने, ‘पछिल्लो समय पर्यटनमा केहि सुधार आएको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा त बस्ने ठाउँकै अभाव हुनेगरी पर्यटक बढेका छन्, पोखराका लेकसाईड र सहरी क्षेत्रमा पनि पर्यटक बाक्लै मात्रामा देखिन थालेका छन्। तर ती पाहुना व्यवसायका लागि पर्याप्त नहुन सक्छन।’  

पर्यटक सरदर हिसाबले राम्रै आगमन भएको दाबी गर्दै उनले थपे, ‘पर्यटन क्षेत्र धानिनसक्ने अवस्थामा छ। आगमन अनुपातमा मध्यम छ। अहिले व्यवसाय बचाउने मात्र हो कमाउने बेला होईन। यो बेला व्यावसायी बचाउन सकियो भने पर्यटन क्षेत्र टिकाउ हुनेछ।’ उनले सकारात्मक सन्देश प्रवाह गर्न सकेमा पर्यटन क्षेत्र चाँडै पुरानै लयमा फर्किने समेत विश्वास व्यक्त गरे। 

महासंघ अध्यक्ष चोखालले राज्यले पर्यटन क्षेत्रका संघसंस्थालाई विभेदकारी नीति अवलम्वन गरेको आरोप लगाए। सम्पूर्ण होटल व्यवसायीको साझा संस्थालाई भन्दा पोखरामा लेकसाईड क्षेत्रलाई मात्रै समेटेर गठन भएको होटल संघलाई राज्यले प्राथमिकतामा राख्ने गरेको उनको गुनासो छ। ‘राज्यको हेर्ने नजर नै विभेदकारी छ। राज्यको श्रोत र साधनको बाँडफाँटमा पनि समानुपातिक वितरण छैन। यो सच्याउन जरुरी छ,’ उनले भने। उनले आफूहरुले राज्यसँग सहकार्य गर्न चाहेको बताउँदै त्यसका लागि राज्य सकारात्मक हुनुपर्ने बताए। 

महासंघको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा हुने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए। महाधिवेशनमा महासंघमा आवद्ध गण्डकी प्रदेशका ११ वटा जिल्लाका संघ र स्थानीय तह एकाईका करिब १ सय २० जना प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए ।

प्रकाशित: २४ चैत्र २०७९ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App