३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटक आगमन बढ्दै गर्दा व्यवसायीमा गुनासोका चाङ

पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो मार्चमा नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ९९ हजार ४ सय २६ छ। कोरोना भाइरस संक्रमण सुरु भएपछि भित्रिएका झन्डै एक लाख विदेशी पाहुना आगमनको हिसाबले यो आकार सबैभन्दा बढी हो। कोभिड संक्रमण सुरु भएपछि (२०२० मार्च) नेपालमा यो महिनामा भित्रिएका पाहुनाको संख्या अहिलेसम्मकै बढी हो।

यसअघि २०२२ को अक्टोबरमा नेपालमा एकै महिनामा ८८ हजार ५ सय ८२ जना विदेशी पाहुना भित्रिएका थिए। पर्यटन बोर्डका अनुसार २०१९ को मार्चपछि नेपालमा यो मार्चमा सबैभन्दा बढी पाहुना भित्रिएका हुन्। २०१९ मार्चमा नेपालमा १ लाख २७ हजार ३५१ जना विदेशी पाहुना भित्रिएका थिए। २०१९ को अन्तिममा कोरोना भाइरस संक्रमणको प्रभाव विश्व पर्यटन बजारमा पर्न थालेको भएपनि नेपालमा भने २०२० को फेब्रुअरीपछि मात्र आगमनमा असर पर्न थालेको थियो।

कोरोनाको प्रभाव बढ्दै जाँदै गर्दा २०२० को मार्चमा नेपालको आगमन घटेर ४२ हजार ७ सय ७६ मा ओर्लेको थियो। २०२० को अप्रिलपछि नेपालमा लकडाउन सुरु भएपछि भने पाहुना आगमन निकै नै तल खस्केको थियो। तर संक्रमणको उतारचढाव रहिरहँदा २०२१ को मार्चमा भने नेपालमा जम्मा १५ हजार २ सय ५४ जना विदेशी पर्यटक भित्रिएका थिए। २०२२ को मार्चमा भने नेपाल भित्रिने पाहुनाको संख्या ४२ हजार ६ थियो।

‘आगमनको हिसाबले विदेशी पाहुना आगमनमा सुधार भएको छ,’ बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘मार्च महिनाको आगमनमा धेरै नै सुधार भएको छ।’ लामिछानेका अनुसार मार्चको यो आगमन सन् २०१९ को मार्चको तुलनामा ७८ प्रतिशत ‘रिभाईभ’ हो । बोर्डका अनुसार तथ्यांकमा समेटिएका यी पाहुना हवाई माध्यमबाट भित्रिएका हुन्। स्थल मार्गको तथ्यांक भने यसमा समेटिएको छैन। गत फेब्रुअरी महिनामा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी भित्रिएका थिए। जनवरीको आगमन भने ५५ हजार ७४ थियो।  

पाहुना आगमनको ग्राफ उकालो लाग्दै गर्दा व्यवसायी भने चिन्तित

कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुई अंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एक लाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनै बेला महिनाको पर्यटक आगमन संख्या करिब शून्यमा झरेको भएपनि अहिले बढेर महिनामै एक लाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन्। 

पर्यटक आगमनको आकार संख्यात्मक रुपमा बढे पनि व्यवसायको आकार भने नबढेको भन्दै व्यवसायी खुसी छैनन्। व्यवसाय गिर्दाे अवस्थामा रहेको भन्दै व्यवसायीले पर्यटन क्षेत्र चलाउन सकस आइपरेको बताईरहेका छन्।  भाइरस संक्रमणले करिब शून्यमा झरेको पर्यटनको आकार मासिक झन्डै एक लाख जनासम्म उक्लिँदा पनि व्यवसायी खुसी हुन नसक्नुको कारण के हो त?

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘गैर आवासीय नेपालीका सदस्य भित्रिँदा पनि केही आकार बढेको देखिएको हो। तर, ती पाहुना पर्यटकको रुपमा नेपाल आउँदैनन्, पारिवारिक भेटघाटमा आउने भएकोले त्यसले पर्यटनमा उत्तिसारो लाभ दिँदैन। त्यसबाहेक कूटनीतिक नियोगका पाहुना पनि नेपाल आउँजाउ गर्दा पनि पर्यटकको संख्यामा गणना हुने तर, त्यसले पनि पर्यटन क्षेत्रमा लाभ नपुग्ने उनले बताए।

‘हुन त नेपाल भित्रिएका पर्यटक मध्ये करिब ४० प्रतिशत पाहुना पोखरा आउँछन् भन्ने अनुमान छ। तर मार्चमा पोखराले त्यो अनुभव गरेन,’ श्रेष्ठ भन्छन्, ‘पोखरामा जति आउनुपर्ने हो मार्चमा त्यो नआएको पनि हो। त्यसले गर्दा पनि व्यवसायमा निराशा बढेको हो।’ 

परिषद् अध्यक्ष श्रेष्ठका अनुसार नेपाल भ्रमण वर्ष २०२०को तयारी स्वरूप पर्यटन क्षेत्रमा लगानी बढाउने होड चलिरहेको थियो। तर, कोरोना संक्रमणले गर्दा भ्रमण वर्ष स्थगित भयो, व्यवसायीले सुरु गरेको लगानीले भने जसोतसो पूर्णता पायो। ‘२०२० को भ्रमण वर्ष कार्यक्रमलाई लक्षित गर्दै थुप्रै पर्यटकीय पूर्वाधार थपिएका थिए। तर, भ्रमण वर्ष रद्द भयो, पूर्वाधार भने तयार भए,’ उनले भने, ‘तिनै पूर्वाधार अहिले संचालनमा आउँदा व्यापार बाँडिएको अवस्थामा आम्दानी कम भएको हो।’

उनका अनुसार पोखरामा पछिल्लो समय थुप्रै होटल थपिएका छन्। ती होटल २०२० को भ्रमण वर्ष लक्षित गर्दै निर्माण थालिएको थियो। ‘यसै त पाहुना कम, त्यसैमाथि प्रतिस्पर्धा बढ्दै जाँदा पनि केही समस्या भएको हो,’ उनले भने। व्यवसायीले २०२० पछि मासिक २ लाख विदेशी पाहुना भित्रिने अपेक्षा गरेको भएपनि त्यो अनुरूप हुन नसकेको उनले बताए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का गण्डकी अध्यक्ष धर्मराज पन्थी व्यवसाय बाडिँदै गर्दा पनि व्यवसायीको गुनासो थपिएको बताउँछन्। ‘पहिलेको तुलनामा अहिले व्यवसाय बाँडिएको छ। हामीलाई चाहिए जति पाहुना त आएका छैनन्, तर, दुई अंकमा झरेको आगमनले छोटो समयमै एक लाख हाराहारीमा पाहुना पाउँदा असन्तोष हुनुपर्ने छैन,’ पन्थीले भने, ‘हामीलाई आम्दानीको हतार भएको हो, पर्यटनको गति पनि बढिरहेको छ।’ त्यसबाहेक बैंक तथा वित्तीय संस्थाको महंगो ब्याजदरको चंगुलमा फसेँका कारण पनि व्यवसायीले कमाउन नसक्दा अत्तालिएको हुनसक्ने उनले बताए। 

पर्यटन बोर्डका निर्देशक लामिछाने पनि पर्यटक आगमनले लय पक्रिसकेको बताउँछन्। ‘पाहुना आगमन हरेक महिना सकारात्मक छ। हरेक महिनाको आगमन बढिरहेको छ, तर, व्यवसायी भने अत्तालिएको देखिन्छन्,’ लामिछाने भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाको महंगो ब्याजदरले गर्दा पनि व्यवसायी मारमा परेका छन्। दोब्बरले ब्याजदर बढ्दा उनीहरुले कमाउन नसकेका हुन्। कमाएको जति पैसा बैंकमा तिर्नुपरेको छ। जसले गर्दा व्यवसायीलाई बढी तनाव भएको हो।’

पर्यटक आगमन करिब लयमा फर्केको अवस्थामा व्यवसायीको खर्च बढ्दा घाटा देखिएको हुनसक्ने उनले बताए। ‘कोरोना संक्रमण अघिको आकार त पुगेकै छैन। यसै त पर्यटन क्षेत्र नोक्सानमै थियो, त्यसैमा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजको चपेटामा पर्दा व्यवसायीले कमाउन नसक्दा यो अवस्था आएको हुनसक्छ,’ उनले भने, ‘त्यसबाहेक व्यावसायिक रुपमा प्रतिस्पर्धा बढ्दा पनि केही प्रभाव परेको हुनसक्छ।’  

प्रकाशित: २० चैत्र २०७९ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App