१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र लयमा फर्किंदै

फाइल तस्बिर

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।

सन् २०१९ मार्चमा १ लाख २७ हजार ३ सय ५१ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएकामा सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले मार्च महिनामा ७८ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा पुनरुत्थान हुनु सन्तोषजनक भएको बताएका छन्।

उनले भने, ‘बोर्डको तथ्यांक हेर्ने हो भने प्रत्येक महिना पर्यटक आगमन बढिरहेको छ। अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धिलाई आधार मान्ने हो भने नेपालको अन्तर्राष्ट्रिय पर्यटकको आगमन राम्रो मान्न सकिन्छ।’

सन् २०१९ को तुलनामा यस वर्षको जनवरी महिनामा ७२ प्रतिशतले पर्यटक आगमन पुनरुत्थान भएकोमा फ्रेबुअरी महिनामा ३ प्रतिशतले वृद्धि भई ७५ प्रतिशत पुगेको थियो। यस्तै मार्च महिनामा भने पुनः ३ प्रतिशतले वृद्धि हुँदै सन् २०१२ को तुलनामा ७८ प्रतिशत पुनरुत्थान भएको हो।

यस वर्षको मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका हुन्। पर्यटन बोर्डको तथ्यांकअनुसार यस महिनामा हवाई उडानको माध्यममबाट ९९ हजार ४ सय २६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको तुलनामा यस वर्ष ४३ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि भएको छ। गत वर्ष सन् २०२२ मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए।

बोर्डको तथ्यांकअनुसार मार्च महिनामा सबैभन्दा बढी पर्यटक छिमेकी राष्ट्र भारतबाट आएका छन्। २५ हजार ९ सय ११ भारतीय पर्यटक नेपाल भित्रिएकाले भारत यो वर्ष पहिलो स्थानमा रहेको छ। यसैगरी भारतपछि अमेरिकाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। अमेरिकाबाट ९ हजार ५ सय ५७ पर्यटक नेपाल भित्रिँदै दोस्रो स्थानमा आएको छ।

यस्तै बेलायत तेस्रो स्थानमा रहेको छ। बेलायतबाट यस महिनामा ६ हजार १ सय ३३ पर्यटक नेपाल भित्रिएका छन्। बेलायतपछि जर्मनी चौथो स्थानमा रहेको छ। जर्मनबाट मार्च महिनामा ४ हजार १ सय ४९ पर्यटक नेपाल भित्रिएका छन्। क्रमिक रूपमा जर्मनपछि श्रीलंका, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, चाइना र साउथ कोरियाबाट आएका पर्यटकको संख्या बढी रहेको छ। बोर्डको तथ्यांक अनुसार श्रीलंकाबाट ३ हजार ८ सय ९८, थाइल्यान्डबाट ३ हजार ८ सय २९, अस्ट्रेलियादेखि ३ हजार ६ सय ३५, फ्रान्सबाट ३ हजार ९, चाइनाबाट २ हजार ६ सय ३५ र दक्षिण कोरियाबाट २ हजार ६ सय ३९ पर्यटक यो महिनामा नेपाल भित्रिएका छन्।

सन् २०२१ को मार्च महिनामा १५ हजार २ सय ५४ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका थिए। यस्तै सन् २०२० को मार्च महिनामा भने ४२ हजार ७ सय ७६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका थिए।  

कोभिड महामारी मात्र नभएर त्यसपछि विश्वले भोगिरहेको आर्थिक मन्दी, रसिया–युक्रेन युद्धले पनि नेपालको पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको निर्देशक लामिछानेले बताए।

उनले कोभिड र अन्तर्राष्ट्रिय युद्धका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै पुनरुत्थानको दिशामा लागेको दाबी गरे। उनले पर्यटन क्षेत्रको पूर्ण पुनरुत्थानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउँदै भने, ‘पर्यटन एकदमै संवेदनशील क्षेत्र हो। विश्वको कुनै पनि राष्ट्रको ट्र्याक बिग्रेको खण्डमा पर्यटनमा तत्काल असर पर्छ। त्यसैले राज्यले मात्र पर्यटन पुनरुत्थानको पूर्ण ग्यारेन्टी लिन सक्दैन। हरेक मुलुकको आर्थिक, राजनीतिक तथा सामाजिक पक्षले पर्यटन क्षेत्रलाई कहीँ न कहीँ प्रभाव पारिरहेको हुन्छ। यसैअनुरूप मुलुकको पर्यटन क्षेत्रको विकास, सुविधा र सुरक्षाको सवालमा भने राज्यले गृहकार्य गरिरहेको छ।’

प्रकाशित: २० चैत्र २०७९ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App