७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटन क्षेत्रको गुनासो: होटलको मूल्य निःशुल्क गर्न मात्र बाँकी छ

अब त सापटी माग्ने पनि ठाउँ छैन

पर्यटन क्षेत्रबारे गुनासो सुनाउँदै पोखराका पर्यटन व्यवसायी। तस्बिरः सन्तोष पोखरेल÷नागरिक

कोरोना भाइरस संक्रमण सुरु भएपछि पर्यटन व्यवसाय ठप्प हुँदै गर्दा व्यवसायीको एउटै पिरलो थियो–पाहुना आउन सकेनन्, अब ऋण कसरी तिर्ने भन्नेमा। भाइरस संक्रमण फैलिँदै गर्दा सुरुवाती केही महिना चुपचाप बसेका व्यवसायीलाई त्यसपछि भने ऋणले सताउन थाल्यो। अनि व्यवसायीले मुख खोल्न थाले–सरकारले पर्यटन क्षेत्रको लागि तोकेरै राहतका कार्यक्रम ल्याउनुपर्छ, बैंक तथा वित्तीय संस्थाले ऋणको भाका बढाइदिनुपर्छ, ब्याजदर एकल अङ्कमा झारिदिनुपर्छ।  

व्यवसायीले यो आवाज उठाउन थालेको दुई वर्ष नाघिसक्यो। त्यतिबेला पनि व्यवसायीले कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र उकास्ने हो भने कम्तीमा तीन वर्षको समय दिएर ऋणको पुनर्तालिकीकरण गरिदिनुपर्ने, राहतका प्याकेज ल्याउनुपर्ने र ब्याजदर एकल अङ्कमा झारिदिनुपर्ने भन्दै आएका थिए। यी माग राखेको दुई वर्ष नाघिसक्दा पनि व्यवसायीले उनै माग दोहोर्‍याई रहेका छन्। व्यवसायी भन्दैछन, ‘पर्यटन क्षेत्र ध्वस्त भयो, हामी धानिनै सकेनौ। हामीलाई ऋण तिर्नका लागि अझै तीन वर्ष थपिदिनुपर्छ। ऋण नतिर्ने होइन, तिर्छौ, तर, समय दिनुपर्छ। बैंकको ब्याजदर पनि एकल अङ्कमा झार्नुपर्छ।’

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्र निकै नै कमजोर अवस्थामा पुगेको भन्दै व्यवसायीले पछिल्लो समय सरकार नै गुहार्न थालेका छन्। बैंकको किस्ता र ब्याजदर तिर्न सक्ने अवस्था नभएको भन्दै व्यवसायीले आफूहरू मानसिक तनावमा रहेको गुनासो सुनाएका छन्। पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिस)ले पत्रकार भेटघाट आयोजना गरेर व्यवसायीको आर्थिक अवस्था दयनीय हुँदै गएको बताएको छ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘साँच्चै अब पनि सरकारले पर्यटन क्षेत्रलाई बेवास्ता गर्ने हो भने व्यवसायी झनै धराशायी हुनेछन्। सापटी मागेर पनि काम चलाउन सक्ने अवस्था भएन। चैत मसान्तमा तिर्नुपर्ने किस्ता र ब्याज तिर्न सक्ने अवस्था रहेन।’ ‘बैंक तथा वित्तीय संस्थाले व्यवसायीको दायित्वलाई चैत मसान्तसम्म मिलान गर्नुपर्ने भन्दै ताकेता गरिरहेका छन्। जसले गर्दा निरुत्साहित भएका व्यवसायीहरू आतंकित छन् र पलायनको बाटोमा लागेका छन्,’ उनले भने, ‘दायित्वको बोझले ‘डिप्रेसन’ मा जाने अवस्था आएको छ। पर्यटन क्षेत्र जोगाउने हो भने तत्कालै कार्यक्रम ल्याउनुपर्छ।’

पर्यटन व्यवसायीका मागप्रति सरकार संवेदनशील नभएमा आन्दोलनमै होमिनुपर्ने अवस्था पनि आउने उनले बताए। ‘हामीले आर्थिक भार थाम्नै सक्ने अवस्था रहेन। व्यवसायीहरू दिनहुँ तनावमा भएको गुनासो गर्छन्। आर्थिक भारले थिचिएको गुनासो सर्वत्र छ,’ उनले भने, ‘ठुलो आकारको लगानी रहेको पर्यटन क्षेत्र डुब्दै गर्दा पनि पर्यटन क्षेत्र जोगाउन सरकारले चासो नै दिएन।’  

व्यवसायीले यसअघि नै यस्तै माग राख्दै आए पनि यो बेलासम्म पनि समस्या समाधान हुन नसकेको उनले बताए। ‘कोभिड सुरु भएपछि आर्थिक रुपमा कमजोर हुँदै गर्दा पर्यटन क्षेत्रले दुई वर्ष अघि नै अहिलेका माग राखेको हो, तर, सरकारले केही वास्ता गरेन। हामीले जसोतसो ऋण धन गरेर भए पनि किस्ता तिर्‍यौ, यो बेलासम्म सहज हुने अनुमानमा जसोतसो व्यवस्थापन ग¥यौ,’ उनले भने, ‘तर, अझै व्यवस्थापन भएन। सहजको बाटोमा आर्थिक क्षेत्र जाने अपेक्षा गरेको भए पनि पर्यटन त्यो आकारमा गति लिन सकेन। बाध्य भएर अहिले पनि पुरानै माग दोहोर्‍याएका छौ। हाम्रा यी माग दुई वर्ष अघिकै हुन। तर, अहिले सकस झनै बल्झिएको छ।’

व्यवसायीले भएको जग्गा बेचेर ऋण तिर्न प्रयास गर्दा पनि सहज नभएको बताए। ‘यो बेला त जग्गा पनि बिक्री हुँदैन, पर्यटन क्षेत्र नोक्सानीको बाटोमा लाग्यो,’ अर्का व्यवसायी रामचन्द्रबहादुर भट्टराईले भने, ‘पाहुना आइहाले पनि पुरा मूल्य लिन पाएका छैनौ।’ आठ वर्ष देखि होटल दी यात्रा चलाएका भट्टराईले त्यो बेलाको समेत मूल्य पाहुनासँग लिन नसकेको गुनासो पोखे। भट्टराईले भने, ‘आठ वर्ष अघि जुन मूल्य थियो, त्यो भन्दा निकै नै तल झरेर पाहुनासँग मूल्य लिएका छौ। तर, बजारमा महँगीले नेटो काटेको छ। मूल्यवृद्धि अधिक भयो, आम्दानी झनै घट्यो। यो अवस्थामा पर्यटन क्षेत्र ओरालो बाटोमा छ।’

परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पनि आर्थिक स्थितिमा सुधार हुने आसमा अहिलेसम्म हरेक त्रैमासिक अन्त्यमा सरसापट गरी बैंकको किस्ता मिलान गर्दै व्यापार धानेर बसे पनि अहिले सापटी माग्न पनि ठाउँ नरहेको बताए। ‘अब त सापटी माग्ने ठाउँ पनि छैन । हामी सडकमा आइसक्यौ भन्ने अवस्थामा पुगेका छौ। हाम्रो अभिभावक सरकार हो, तर, सरकारले तत्काल राजनीतिक निर्णय गरेर व्यवसायी संरक्षण नगर्ने हो भने पर्यटन क्षेत्र ‘कोल्याप्स’ को बाटोमा लाग्नेछ,’ उनले भने, ‘भएको सम्पत्ति  बिक्री गरेर व्यवसाय गर्छु भनेर पनि भन्न सकिने अवस्था रहेन।’ व्यवसाय धान्ने सञ्जिवनी बुटिको आवश्यक रहेको उनले बताए। ‘जबसम्म त्यो बुटि पाँइदैन, तबसम्म पर्यटन क्षेत्र उकासिने अवस्था रहन्न’ उनले भने।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार मध्य सिजनमा पनि पोखराको पर्यटनको अकुपेन्सी आकार बढीमा २० प्रतिशत मात्र छ। यो निकै नै सानो आकार हो। सिजनको बेला भएकोले यो बेला पोखराका होटलको अकुपेन्सी करिब ८० प्रतिशत हुनुपर्ने हो। तर, एकचौथाई मात्र छ। पोखरामा झन्डै १२ सय होटल र ४० हजार बेड रहेकोमा बढीमा २० प्रतिशत मात्र अकुपेन्सी रहेको उनले सुनाए। 

‘होटलको मूल्य यतिसम्म सस्तो भयो कि अब त निःशुल्क गर्न मात्र बाँकी छ, कतिसम्म घट्ने भन्ने नै रहेन,’ सुवेदीले भने, ‘मूल्य यतिसम्म कमजोर भएको छ की चल्तीका होटलले पनि आधा मूल्यमा व्यापार गरिरहेका छन्। होटल धानिने प्रयासमा मात्र छन्, कमाउनेमा होइन। कतिपय साना होटलले त पाँच सय रुपैयाँमा खाना र बास बस्न दिएर भए पनि बाच्ने प्रयासमा छन्।’  

पर्यटन व्यवसायीका अनुसार ऋण काढेर प्रवर्द्धनात्मक कार्यक्रम गर्न जान सक्ने अवस्थामा पनि व्यवसायी छैनन्। यतिबेला पर्यटन प्रवर्द्धनका कार्यक्रममा सरकारी निकाय र पर्यटन बोर्डले गर्न सकेको छैन। भएको पैसा पनि खर्चन नसकेर बोर्डले प्रवर्द्धनका कार्यक्रम रोकेको उनीहरूले बताए। निजी क्षेत्रले प्रवर्द्धनका कार्यक्रमका लागि विभिन्न योजना बनाएपनि बोर्डको आर्थिक सहयोग नहुँदा बजारीकरण प्रभावित भएको उनीहरूले बताए। ‘कोभिडबाट पार पाउनका लागि प्रवर्द्धन आवश्यक छ भन्ने हामीलाई पनि थाहा छ,’ परिषद् अध्यक्ष श्रेष्ठले भने, ‘पर्यटन बोर्डले पनि प्रवर्द्धनका कार्यक्रम गरेन। बजेट पनि निजी क्षेत्रलाई दिएन। हामी ऋण काढेर प्रवर्द्धनमा जान सक्ने अवस्थामा छैनौ।’

प्रकाशित: १८ चैत्र २०७९ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App