१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रादेशिक हवाई उडानः तामझाम बढी, निरन्तरतामा पहल कम

पोखराबाट धनगढी, जनकपुर, सिमरा र भद्रपुरका लागि थालिएका उडान रोकिए

पोखरा–धनगढी उडानको पहिलो दिनमा सहभागि व्यवसायी। फाइल तस्बिरः नागरिक

पोहोर फागुन तेश्रोसाता गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाइमार्गले जोड्नेगरि पोखरा–धनगढी रुटमा सिधा हवाई सेवा सुरु भयो। त्यो उडान थालनी भएसँगै त्यतिखेर गण्डकी प्रदेशको हवाई पहुँच विभिन्न चारवटा प्रदेशमा बिस्तार भएको थियो। तर, उडानले निरन्तरता पाउन सकेन।  

धनगढीको उडान सुरु भएको केहीदिनमै पोखरालाई जनकपुरसम्म हवाईमाध्यम मार्फत जोड्नेगरि पोखरा–जनकपुर सिधा उडान पनि सुरु भएको थियो। पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो। मुख्यमन्त्री सहितको यात्राको पोखरा–जनकपुर उडानले पनि सार्थकता दिलाएन, केही समयपछि उडान रोकियो।

अघिल्लो भदौमा पोखराको हवाई सेवा बिस्तार गर्दै पोखरा–सिमरा रुटमा उडान थालियो। पोखरा–सिमराको पहिलो उडानमा गण्डकी प्रदेशका तत्कालिन पर्यटनमन्त्री मणिभद्र शर्मा सहितका पोखराका पर्यटन व्यवसायी सिमरा पुगेका थिए। भारतीय पर्यटक भिœयाउन सहज मानिएको पोखरा–सिमरा रुटको उडान पनि नियमित हुन सकेन।  

केहीदिनअघि पोखरालाई नेपालको पूर्वी सहरसम्म जोड्नेगरि पोखरा–भद्रपुर रुटमा पनि सिधा हवाई उडान सुरु भयो। तामझामका साथ सुरु भएको पहिलो उडानमा पोखरेली पर्यटन व्यवसायी सहित पोखरा महानगरका मेयर धनराज आचार्य पनि सहभागि थिए। निकै नै हल्लाखल्ला गरिएको पोखरा–भद्रपुरको उडान पनि एकसाता नबित्दै रोकिएको छ।  

गौरिफन्टा हुँदै धनगढी र गड्डाचौकी नाका हुँदै महेन्द्रनगर भित्रिने भारतीय पर्यटकका लागि लक्षित पोखरा–धनगढी उडानबाट पर्याप्त पर्यटक पोखरा आउने अपेक्षा सहित पोखरा–धनगढी उडान सुरु भएको थियो। तर, त्यो अपेक्षा अनुसार पाहुुना नआएपछि उडान निरन्तर हुन सकेन। त्यस्तै जनकपुरबाट पनि भारतीय धार्मिक पर्यटक पोखरा भित्रिने अपेक्षा अनुसार पोखरा–जनकपुर उडान थालनी भएपनि त्यसले पनि गति लिएन।

वीरगञ्जको रक्सौल नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई सिमराबाट सिधै पोखरा उतार्नेगरि उडान थालनी भएपनि त्यसले पनि निरन्तरता पाएन। त्यसबाहेक नेपालको पूर्वी नाका काकड्भिट्टा हुँदै भित्रिएका पर्यटकलाई हवाई उडानमार्फत सिधै पोखरा ओराल्ने गरी पोखरा–भद्रपुर रुटमा उडान सुरु भएपनि त्यसले पनि गति लिन सकेन। उडान सुरु भएको एकसातामै रोकियो।

पोखरा र पर्यटन क्षेत्रले निकै नै आशा गरेको पोखराको विभिन्न सहरसम्मको सिधा हवाई उडानले निरन्तरता पाएन। पोखराले सिधै हवाई सञ्जाल बिस्तार गर्न चाहेको ती सहर भारतीय नाकासँग निकट छन्। ती नाकाबाट भारतीय पर्यटक पोखरा भिœयाउन सकिने अपेक्षा पोखराका पर्यटन व्यवसायीको थियो। तर, आखिर किन रोकियो त ती सहरसम्मको पोखरालाई जोड्ने सिधा उडान? 

पोखरा पर्यटन परिषद्् (पिटिसी) का महासचिव सञ्जयकान्त सिग्देल भन्छन्, ‘व्यवसायीको चाहना अनुसार नै ती रुटमा उडान थालनी भएका हुन्। कोभिड संक्रमणबाट जोगिन यात्रुले हवाई यात्रालाई रोज्न थालेपछि पोखराले पनि विभिन्न सहरसम्म सिधा हवाई उडानको चाहना राखेको हो। त्यसबाहेक पोखरामा भारतीय पर्यटक भिœयाउने चाहना पनि ती उडानबाट राखेको थियो। तर, त्यो अनुसार हुन सकेन।’  

गण्डकी प्रदेश सरकारले पनि पोखरालाई अरु ६ वटै प्रदेशसम्म सिधा हवाई उडानमार्फत जोड्ने चाहना राखेको थियो। त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदै गर्दाको क्रममा उडान थालनी भएपनि ती उडानले सोचेअनुरुप प्रतिफल दिन नसकेको उनले बताए। ‘हाई प्रोफाइलका पाहुना लगेर विभिन्न रुटमा उडान थालिएको हो। ‘हामीले ती रुटलाई पर्यटकीय हिसाबले निकै नै ‘पोटेन्सियल’ मानेका पनि हौ। तर, त्यो अनुसार हुन सकेन, उडानले निरन्तरता पाउन सकेन,’ सिग्देलले भने, ‘नेपालगञ्ज रुटबाट जस्तै उडान हुने अपेक्षा भद्रपुरसँग पनि थियो। तर, त्यो हुन सकेन।’  

पर्याप्त यात्रु नभएपछि उडान खुम्चिन बाध्य भएको उनले बताए। ‘पर्यटन व्यवसायीले आशा गरेका गन्तव्य हुन्। तर, त्यो अनुुसार हुन सकेन। लखनउ, दिल्लीका भारतीय पाहुना अपेक्षा गरेको धनगढीको रुटबाट पाहुना नै ल्याउन सकिएन,’ उनले भने, ‘भारतीय र बंगलादेशीलाई लक्षित गर्दै भद्रपुरबाट पाहुना आउने अपेक्षा हो, त्यो पनि पुरा भएन।’ निजी क्षेत्रले जहाज चलाएकोले बजारीकरण गर्ने जिम्मा सम्बन्धित एयरलाइन्सको भएपनि पर्यटन व्यवसायी त्यसबाट पन्छिन नमिल्ने उनले बताए।  

‘पर्यटन व्यवसायीको चाहना अनुसार उडान थालनी भएकोले उडानलाई नियमितता दिलाउने दायित्व हाम्रो पनि हो,’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका पूर्व अध्यक्ष समेत रहेका सिग्देलले भने, ‘यतिसम्मकी स्थानीयतह पनि यी रुटका हवाई उडानप्रति झनै जिम्मेवार बनुन भनेर ती तहका प्रमुखलाई समेत सहभागि गराएका हौ। तर, त्यो अनुरुप हुन सकेन।’ उनले पर्याप्त बजारीकरण नहुँदा उडानमा केही अप्ठेरो भएको। त्यसबाहेक आर्थिक मन्दीका कारण पनि हिडडुल कमजोर हुँदा उडानलाई निरन्तरता दिन नसकेको बताए।

‘नेपालको पर्यटन क्षेत्र नै कमजोर बनेकोले उडानमा समस्या भएको हो। यतिसम्मकी पोखराको पर्यटन क्षेत्रको बजारीकरण पनि रोकिएको छ। बजारीकरण जुन रुपमा हुनुपर्ने हो, त्यो हुन नसकेकै हो,’ सिग्देलले भने, ‘जिम्मेवार निकायले बजारीकरणमा ध्यान नदिँदा त्यसको असर उडानमा परेकै हो।’  

हवाई क्षेत्रका पदाधिकारी पनि प्रदेश सरकार, पर्यटन व्यवसायी सक्रिय नहुँदा कतिपय रुटमा हवाई सेवा निरन्तर हुन नसकेको बताउँछन्। त्यसबाहेक रात्रिकालीन उडान हुँदा गन्तव्यमा पुगेका पाहुनालाई होटलसम्म आउजाउको सहज सुविधा नहुँदा पनि यात्रुले यात्रा गर्नबाट हच्किने गरेको उनीहरुको भनाई छ।  

‘अन्तर प्रदेश उडान भएपछि ती प्रदेशले पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने हो, तर, त्यो हुन सकेको छैन,’ एक हवाई कम्पनिका उच्च पदाधिकारीले भने, ‘यात्रुका लागि दिइने सेवा सुविधामा पनि ध्यान नदिँदा समस्या हुने गर्छ। कतिपय रुटबाट आएर रातीको समयमा विमानस्थल ओर्लेका यात्रुलाई चाहेको गन्तव्यसम्म पुग्नका लागि स्थानीय तह र प्रदेश सरकारले यातायात देखि होटलसम्मको सेवामा ध्यान दिनुपर्छ। यात्रुको सुरक्षा निश्चिन्तता हुनुपर्छ। त्यसमा प्रदेश सरकार चुकेका छन।’  

पोखराबाट भारतका विभिन्न सिमावर्ती सहरसम्म हवाई माध्यमले जोडेको भएपनि पोखराको पर्यटनलाई बढावा दिनेगरि कार्यक्रम नहुदा पर्यटक आकर्षित नभएको ती पदाधिकारी बताउँछन्। ‘पर्यटन प्रवद्र्धनमा पनि सम्बन्धित निकायले ध्यान दिएकै छैन। पोखराको पर्यटनलाई प्रवद्र्धन हुनेगरि कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘हवाई मार्गबाट आउने गरि पोखराले पर्यटनमा आकर्षण थप्नुपर्ने हो, त्यो हुन नसकेको हो।’  

पोखराबाट विभिन्न रुटसम्म हवाई उडान बिस्तार गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अहिलेको लागि केही रुटमा उडान स्थगित मात्र भएको बताए। ‘अहिलेका लागि केही रुटमा उडान स्थगित गरेका हौ, तर, मनसुनपछि ती रुटमा दिउँसोको समयमा गर्नेगरि उडान बिस्तार गर्नेछौ,’ कर्णले भने, ‘मनसुनपछि भद्रपुर सहितका रुटमा उडान सुचारु हुनेछ। जहाज थपेर दिउँसोको समयमा ती रुटमा उडान गर्ने योजना हो। अहिलेका लागि केही अप्ठेरोका कारण उडान रोकेका हौ।’  

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखराकी प्रवक्ता जशोदा सुवेदी पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्दा यात्रु अभाव भएर उडानले निरन्तरता नपाएको बताउँछिन। पर्यटन प्रवद्र्धनका त्यस्ता कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारको भूमिका महत्वपूर्ण हुने उनले बताईन। ‘हवाई कनेक्टिभिटि बढाउने भनेर गण्डकी प्रदेश सरकारले पनि चासो राखेको थियो, पोखरालाई सबै प्रदेशमा जोड्ने भनिएको पनि हो,’ उनले भनिन, ‘पर्यटकीय सहर पोखरालाई हव बनाउने उद्देश्य राम्रो राखिएको हो, तर, त्यसका लागि पहल कत्तिको भयो भन्नेमा महत्वपूर्ण हुन्छ।’

अध्ययन अनुसन्धान नगरि उडान मात्र थाल्दा यो अवस्था आएको हुनसक्ने उनले बताईन। ‘प्रवद्र्धनात्मक गतिविधि गर्दा कमजोर भयो की भन्ने हो। क्यानले त उडान अनुमति दिने हो, हामीले सहजीकरण मात्र गर्ने हो, सरकारले पनि त्यसै अनुसार चाँसो दिनुपर्छ,’ उनले भनिन्।  

प्रकाशित: ६ चैत्र २०७९ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App