खोटाङ- कृषि सहकारीबाट उत्पादन हुन थालेपछि कुखुराको अन्डामा खोटाङ आत्मनिर्भर बन्दै गएको छ। २०६९ सालमा दिक्तेल नगरपालिका–२ मा ३१ जना व्यवसायीको संयुक्त लगानीमा सुरु गरिएको कालिका कृषि सहकारी संस्थाले उत्पादन गरेको अन्डाले जिल्लालाई आत्मनिर्भर बनाउँदै लगेको हो। हिउँदमा तराईबाट फाट्टफुट्ट अन्डा आयात हुने गरे पनि बाँकी समय सहकारीबाट उत्पादित अन्डाले नै जिल्लाको माग धानेको छ। सदरमुकाम दिक्तेलका होटलमा दैनिक चार हजार अन्डा खपत हुन्छ।
मासु तथा अन्डाका लागि तराईसँग निर्भर रहनुपर्ने बाध्यता केही वर्ष यता कम भएको सहकारीका अध्यक्ष सुवास जोशीले बताए। सहकारीअन्तर्गत मासु तथा अन्डाका लागि दिक्तेल–३ मा तीनवटा फर्म सञ्चालित छन्। फर्ममा अन्डा दिने हजारहजार लेयर्स कुखुरा पालिएको सहकारीले जनाएको छ। लेयर्स कुखुराबाट खर्च कटाएर मासिक ३० हजार आम्दानी भइरहेको सहकारी अध्यक्ष जोशीले बताए।
सहकारीको ६ लाख ७० हजार र जिल्ला पशुसेवा कार्यालयको पाँच लाख ६० हजार गरी १२ लाख ३० हजार रुपैयाँ लगानीमा अन्डा फर्म सुरु गरिएको हो। सहकारीबाट उत्पादित अन्डा सदरमुकामसहित बाक्सिला, पाथेका, दोर्पा चिउरीडाँडा, बुइँपा, नेर्पासम्म पुग्ने गरेको छ।
स्थानीय अन्डा तराईबाट भिœयाएको भन्दा ताजा र स्वादिलो रहेको सहकारीको दाबी छ। 'हिउँदमा तराईबाट आउने अन्डाले हाम्रो उत्पादनलाई केही असर गर्छ,' अध्यक्ष जोशीले भने, 'अरू बेला त हाम्रो उत्पादनले पर्याप्त हुन्छ।'
अनुदान पाउन सजिलो हुने, जोखिम कम हुने, भार थेग्न सहज हुने, काम बाँडफाँट हुने र जनशक्ति खोज्नुनपर्ने कारण पोल्ट्री व्यवसायी मिलेर कृषि सहकारी सुरु गरेको सहकारीका सदस्य राम बजगाईंले बताए। पोल्ट्री व्यवसायले सहकारीको रुप लिएपछि सहकारीमार्फत तरकारी खेती, राँगा तथा बंगुर पालन पनि भइरहेको छ।
मासुका लागि राँगापालन
मासुमा खोटाङलाई आत्मनिर्भर बनाउन कालिका कृषि सहकारीले कुखुरापालनसँगै उन्नत जातका राँगा पनि पालेको छ। सहकारीका सदस्यहरूले हेरचाह गर्नेगरी पाँच लाख रुपैयाँ लगानीमा २०७१ फागुनबाट राँगापालन सुरु भएको हो। मासुको बढ्दो मागलाई ध्यान दिई सहकारीले दिक्तेलमै १५ राँगा पालेको छ। 'दुई वर्षमा मासुका लागि उपयुक्त हुने भनिए पनि हाम्रो फर्ममा पालिएका राँगा वर्ष दिनमै तयार भए,' जोशीले भने, 'छ हजारमा किनेको राँगा हामीले पन्ध्र महिनापछि ७० हजारमा बिक्री गर्यौं।' सहकारीले हालसम्म नौवटा राँगा बिक्री भइसकेको जनाएको छ।
अन्डा उत्पादन तथा राँगापालनबाट सहकारीले लोभलाग्दो आम्दानी गरिरहेको छ। दुई वर्षमा अन्डा तथा राँगाबाट पाँच लाख नाफा भएको सहकारीले जनाएको छ। कुखुरा र राँगा पालनमा ६ जनाले रोजगारी पाएका छन्। तरकारी खेती, कुखुरा पालनलगायतको कृषि पेसाबाट समृद्धि हासिल गर्ने उद्देश्यसहित दिक्तेलका जोशी, युधिर शाक्य, हीराधन राई, हरि जोशी, राम बजगाईंलगायतले सहकारी स्थापना गरेका हुन्। कृषिसम्बन्धी काम गर्न सहकारीले दिक्तेल–१ मा सात रोपनी जग्गा खरिद गरिसकेको छ।
कतै पोल्ट्री फर्म, कतै तरकारी खेती
कालिका कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई कुनै न कुनै आम्दानीमूलक काममा लगाउने रणनीति अपाएको छ। सहकारीकै पहलमा सदस्यहरूले दिक्तेलमा छुट्टाछुट्टै ब्रोइलर कुखुरा फर्म पनि सञ्चालन गरिरहेका छन्। मासुका लागि सहकारीमा आबद्ध सन्तोष श्रेष्ठले भान्जा पोल्ट्री फर्म, राम बजगाईंले रुपाकोट पोल्ट्री फर्म, सिर्जना जोशीले त्रिशक्ति पोल्ट्री फर्म र हीराधन राईले ब्रदर्स पोल्ट्री फर्म सञ्चालन गरिरहेका छन्। पोल्ट्री फर्ममा उत्पादित ब्रोइलर कुखुराको मासु दिक्तेलमा दैनिक दुई सय केजीका दरले खपत हुने गरेको छ। चिसो हावापानीका कारण दिक्तेलमा उत्पादित ब्रोइलरको मासु ताजा र स्वादिष्ट रहेको उपभोक्ताको भनाइ छ। जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा सुरु गरिएका पोल्ट्री फर्मले समेत तराईबाट आउने मासुलाई विस्थापित गराउँदैछन्।
यस्तै, सहकारीका सदस्यहरूले दिक्तेल नपा–१५ खाल्लेमा लक्ष्मी केसी कृषि फर्म, दिक्तेल नपा–१० लफ्याङमा सञ्जीव कृषि फर्म र दिक्तेल नपा–५ मा रुपाकोट कृषि फर्म सञ्चालन गरिरहेका छन्। स्वयं सहकारीका अध्यक्ष जोशीको दिक्तेल नगरपालिका–३ मा नमुना बंगुर फर्म छ। सामूहिक रुपमा लगाइएको अदुवाले भने बजार पाउन नसकेको सहकारीमा आबद्ध किसान बताउँछन्। आम्दानी र रोजगारमूलक कामका लागि सहकारीले सदस्यबाट बचत संकलन गर्दै सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ। नौ प्रतिशत ब्याजदरमा बचत गर्ने र साढे १२ प्रतिशतमा ऋण दिने सहकारीको नियम छ। स्थापना कालमा ३१ सदस्य रहेको सहकारीको सेयर सदस्य संख्या हाल ६३ पुगेको छ।
प्रकाशित: ६ कार्तिक २०७३ ०३:०९ शनिबार