४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चक्रपथ बिस्तार गर्न चिनियाँ पक्ष तयार

पहिलो चरणमा चीनले बनाइदिएको चक्रपथको कलंकी, सातदोबाटो खण्डको सानेपामा पर्ने एक हिस्सा। तस्बिर: नवराज/नागरिक

लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ्न सकेको थिएन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ पक्षले छिट्टै गर्ने प्रतिवद्धता गरेको बताएको छ। यो खण्डको सडक महाराजगन्ज, स्वयम्भू लगायतका केही स्थानमा बाहेक अन्य ठाउँमा कुनै अवरोध छैन। चिनियाँ पक्ष भने साइट क्लिरेन्स नभएको भन्दै काम अघि बढाउन तयार भएको छैन।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कलंकी महाराजगन्ज सडक खण्डको अनुगमन गर्दै दोस्रो चरणको चक्रपथ विस्तारको काम छिट्टै सुरु हुने बताएका छन्। ‘दोस्रो चरणको चक्रपथ विस्तार गर्ने सम्बन्धमा नेपालका लागि चीनको राजदूतज्यूसँग पटक पटक छलफल भइसकेको छ,’ उनले भने ‘हामी दूवै पक्षबीच छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ।’ मन्त्री श्रेष्ठले सो खण्डमा केही स्थानमा रहेका विवादहरू सल्टाएर विस्तारको काम अघि बढ्ने सहमति भएको दाबी पनि गरे। ‘अहिले स्वयम्भू स्तुपा क्षेत्रको डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’

मन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न खालका विवादको कारणले दोस्रो चरणको चक्रपथ विस्तारको काम हुन नसकेको बताए। ‘नेपालका लागि चीनको राजदूतज्यू र हाम्राबीच छलफल गरेर छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ,’ उनले भने ‘चिनियाँ पक्ष र हाम्रो मन्त्रालय दुवैपक्षबाट अध्ययनको काम पनि भइसकेको छ। अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’ मन्त्री श्रेष्ठले ठूला खालका समस्याहरू लगभग समाधान भइसकेकाले अब विस्तारको कामले गति लिने दाबी गरे। ‘हामीले चीन सरकारसँग सकेसम्म महाराजगन्जदेखि धोवीखोलासम्मको सडक विस्तार गर्नका लागि अनुरोध गरेका छौं। चिनियाँ पक्षले भने महाराजगन्जसम्म मात्रै विस्तार गर्ने कुरा गरिरहेका छन्।’

महाराजगन्जको विवादले अन्डरपास योजना अलपत्र

चिनियाँ पक्षले महाराजगन्ज सडक खण्डमा जाम कम गर्नका लागि अन्डरपासको योजना पनि डिजाइन तयार गरेको थियो। सडकको मापदण्ड विवादको कारणले महाराजगन्जमा अन्डरपास निर्माणको योजना भने अलपत्र परेको छ। महाराजगन्ज खण्डमा २२४ मिटर सडक मापदण्ड विवादको कारणले रोकिँदै आइरहेको छ। सडकको बीचको राइटवेबाट दायाँबायाँ १५–१५ मिटर मात्रै सरकारी नाममा रहेको छ। चक्रपथ खण्डमा अन्य स्थानको सडक भने दायाँबायाँ ३१–३१ मिटरको चौडा रहेको छ। चक्रपथ विस्तारको सडक ३१ मिटर दायाँ बायाँ हुनुपर्नेमा महाराजगन्ज खण्डमा भने १५–१५ मिटर मात्रै दायाँबाँया रहेको छ। जसको कारणले अन्डरपास संरचना निर्माणमा समस्या देखिएको छ।

महाराजगन्ज सडक खण्डमा भएका केही घरहरू नहटाउने हो भने सो खण्डमा अन्डरपासको संरचना निर्माण गर्न सकिदैन। चिनियाँ पक्षले महाराजगन्ज खण्डको सडक क्लिरेन्स गरेपछि मात्रै निर्माणको काम अघि थाल्ने बताउँदै आइरहेको छ। यसअघि कलंकी कोटेश्वर खण्डमा मुआब्जा विवादको कारण सडक निर्माण कार्यले गति लिन नसकेपछि अहिले चिनियाँ पक्षले साइट क्लिरेन्स भएपछि मात्रै काम थाल्ने बताउँदै आइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चक्रपथअन्तर्गत कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्न बिजुलीको पोलको कारणले कुनै समस्या नपर्ने दाबी गरे। ‘सडकको लेभल मिलाउनुपर्ने भएकाले १०-१५ वटा पोल मात्रै सार्न बाँकी छ। त्यो पनि १० देखि १५ दिनमा सार्न सक्नेछौं।’ उनले भने ‘स्वयम्भू क्षेत्रका पोल सार्न भने डेढवर्षसम्मको अवधि लागेको थियो। अहिले प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा सडक विस्तार गर्न समस्या छैन।’

पहिलो चरणको सडक विस्तारमा करिब पाँच अर्ब रूपैयाँ खर्च भएको थियो। दोस्रो चरणमा करिब आठ अर्ब लाग्ने अनुमान गरिएको छ। दोस्रो चरणको आयोजना करिब ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। योजनाले सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१–३१ मिटरभित्र परेका घर–टहरा, घुम्ती, बिग्रिएका सवारी साधन, सडकमा जथाभावी राखिएका हार्डवेयर तथा निर्माण सामग्री लगभग हटाउने कार्य सम्पन्न गरिसकेको छ। यसअघि चिनियाँ पक्षले २०१८ जुनसम्म उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो।

२७ किलोमिटर चक्रपथमध्ये पहिलो चरणमा १०.३९ किलोमिटर विस्तार सम्पन्न भइसकेको छ। दोस्रो चरणमा नेपाल सरकारले कलंकीदेखि गोपीकृष्णहलसम्म (११.६ ) किलोमिटर सडक विस्तार गर्न प्रस्ताव गरेको छ। चिनियाँ पक्षले भने कलंकीदेखि महाराजगन्जसम्मको सडक मात्रै बिस्तार गर्न रुचि देखिएको छ। गोपीकृष्ण हलसम्मको चक्रपथ सडक बिस्तार गरेको खण्डमा अब बाँकी ५ किलोमिटर सडक मात्रै विस्तार गर्न बाँकी रहनेछ। तेस्रो खण्डअन्तर्गत पनि कोटेश्वरदेखि सिनामंगलसम्म सडक डिभिजन सडक कार्यालय काठमाडौंले काम सुरु गरिसकेको छ। यो खण्डमध्ये सबैभन्दा जटिल सडक विस्तारको लागि गौशालादेखि चाबहिल चोकसम्म मात्रै देखिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App