१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।

जोमसोम र कागबेनी क्षेत्रमा किसानबाट खरिद गरी ल्याएका स्थानीय व्यापारीबाट देशका विभिन्न भागबाट पुगेका व्यापारीले प्रतिवटाको हिसाबले किनेर बजारसम्म ल्याएका थिए।

जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यसवर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा जिल्लाबाट बाहिरिएका थिए । किसानले प्रति भेडा, च्याङ्ग्रालाई रु १३ हजारमा बिक्री गरे पनि यसवर्ष रु २७ करोड ३५ लाख भित्रिएको कार्यालय प्रमुख डा नन्दलाल वर्माले जानकारी दिए।

गतवर्ष अघोषित नाकाबन्दी र भूकम्पको सन्त्रासका कारण तिब्बतबाट ल्याइएका भेडा, च्याङ्ग्रा कम मात्रामा बजारमा आएका थिए भने यसवर्ष तिब्बतबाट भेडा, च्याङ्ग्रा नआएको डा बर्माले जानकारी दिए।

डोल्पाबाट मुस्ताङ हुँदै भेडा, च्याङ्ग्रा बजार आएको बताइए पनि पशुसेवा कार्यालयले त्यसबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप गाविसका किसानले पालेका भेडा, च्याङ्ग्रा बजार ल्याइएको व्यापारीले जानकारी दिएका छन्। त्यहाँका किसानले दसैलाई नै लक्षित गरी व्यावसायिक रुपमा भेडा, च्याङ्ग्रा पालन गर्दै आएका छन्। रासस

 

प्रकाशित: २८ आश्विन २०७३ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App