८ वैशाख २०८१ शनिबार
अर्थ

प्राधिकरणलाई पर्यटन मन्त्रीको प्रश्नः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको डेडमहिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडानको अझै सुरसार छैन। पोखरेलीले अन्तर्राष्ट्रिय विमानस्थल नाममा मात्र अन्तर्राष्ट्रिय भएको, तर, त्यो अनुसार पोखरालाई बाह्य गन्तव्यमा जोड्नेगरि उडान सुरु हुन नसकेको भन्दै गुनासो गरिरहेका छन्। जतिसक्दो छिटो अन्तर्राष्ट्रिय सहरसम्म हवाई उडानमार्फत पोखरालाई जोडनुपर्ने माग पोखरेली पर्यटन व्यवसायीले गरिरहेका छन्।  

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई उडानमार्फत सिधै बाह्य सहरसम्म जोड्न सके पर्याप्त पाहुना पोखरा आउने र त्यसले व्यवसायीलाई राहत दिने अपेक्षा व्यवसायीको थियो। तर, उद्घाटन भएको डेढमहिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा पर्यटन क्षेत्र खुसी नभएको व्यवसायीले बताउने गरेका छन्।  

आन्तरिक उडानमा मात्र सिमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले र कुन हवाई कम्पनिले अन्तर्राष्ट्रिय उडान भर्छन भन्ने पनि अहिलेसम्म यकिन छैन। पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य गन्तव्यमा जोड्नका लागि हवाई रुट देखि गन्तव्य पहिचानसम्मका समस्या रहेको सरकारी पदाधिकारीले बताउँदै आएका छन्। भारतसँग हवाइ रुट माग्नका लागि कुटनीतिक रुपमा पहल गरिरहेको सरकारले बताउँदै आएको छ।  

पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य मुलुकसम्म जोड्नका लागि सरकारले कुटनीतिक रुपमा पहल गरिरहेको अवस्थामा नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग कार्ययोजना मागेको पर्यटनमन्त्री सुदन किराँती बताउँछन्। किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनैपनि हालतमा पूर्ण आकारमा संचालनमा ल्याउनुपर्ने बताउँछन्।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कुनैपनि हालतमा पूर्ण आकारमा संचालनमा ल्याउनुपर्छ। पूर्ण आकारमा कसरी चलाउने भनेर मैले प्राधिकरणसँग कार्ययोजना मागेको छु’ पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको छलफलमा किराँतीले भने, ‘विमानस्थललाई घाम तपाएर राख्ने होईन। घाम तापेर जनताको पैसा सुकाउन पाँइदैन।’ मन्त्री किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको भनेर प्राधिकरणप्रति प्रश्न पनि तेर्साएका छन्।

‘विमानस्थल चल्दैन भनेर सुख पाइन्छ? चल्दैन भने किन बनाएको?’ किराँतीको प्रश्न थियो। त्यसअघि विहीबार बिहान पोखरा आउने क्रममा विमानस्थलमा संचारकर्मीसँग मन्त्री किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर किटान गर्न नसक्ने बताएका थिए। अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर पात्रो हेरेर मिति भन्न नसक्ने उनको भनाई थियो।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न कुटनीतिक नियोगसँग छलफल गरिरहेको बताए। ‘भारतसँग हवाई रुट मागेका छौ । रुटसँगै गन्तव्य पनि माग गरेका छौ,’ उनले भने, ‘त्यस्तै पोखरालाई सिधै हवाई माध्यमबाट जोड्नेगरि चीनसँगपनि गन्तव्य मागेका छौ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न पोखरेलीको दवाव आवश्यक रहेको पनि उनले बताए। विमानस्थल बनाउन पोखरेलीले दवाव दिएजस्तै संचालनका लागि पनि उत्तिकै पोखरेलीले चाँसो देखाउनुपर्ने मन्त्री किराँतीले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने बताएका थिए। त्यसका लागि कुटनीतिक पहल आवश्यक रहेको श्रेष्ठको भनाई थियो। त्यत्तिमात्र नभई चिनियाँ पर्यटकका लागि नेपाल प्रवेश प्रतिबन्ध जस्तै रहेको भन्दै श्रेष्ठले मन्त्री किराँतीलाई चिनियाँ पर्यटक भिœयाउनका लागि आवश्यक कुटनीतिक पहल गरिदिन पनि आग्रह गरेका थिए। श्रेष्ठले भारत र चिनियाँ सहरबाट पर्यटक आउने हो भने अहिले पोखरेली पर्यटन व्यवसायीलाई परेको अप्ठेरोलाई केही हदसम्म सहज हुने बताए।  

त्यस्तै पर्यटन मन्त्रालय र पर्यटन बोर्डले बजेट खर्च गर्दा प्रवद्र्धनमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाई थियो। पूर्वाधार बनाउने निकाय भिन्दै रहेकोले पर्यटन मन्त्रालयले प्रवद्र्धनमा मात्र बजेट खर्चेर स्वदेशी र विदेशी पर्यटक भिœयाउन पहल गर्नुपर्ने बताएका थिए।  

प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फेबुअरी २३ देखि मात्र रात्रीकालीन उडानका लागि तयार हुँदैछ। विमानस्थल गत जनवरी एकदेखि संचालनमा आएको थियो। तर, अहिलेसम्म दिनको समयमा मात्र उडान हुने गरेको थियो। दिउँसोको समयमा मात्र संचालनमा रहेको यो विमानस्थल फेब्रुअरी २३ पछि बल्ल रात्रीकालिन समयमा पनि संचालन गर्न सकिने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले बताएको छ।  

प्रकाशित: ४ फाल्गुन २०७९ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App