अलैंचीको बोटको सराबाट बनेका हस्तकलाका सामग्रीको माग बढ्दै गए। ताप्लेजुङको फुङलिङ नगरपालिका-२ की माया गुरुङले अलैंची टिपिसकेपछि खेर जाने बोटलाई विभिन्न किसिमका हस्तनिर्मित सामग्री उत्पादन गर्दै आएकी छिन्। २०६८ सालदेखि खेर गएका अलैंचीका बोटबाट हरेक किसिमका हस्तकला निर्मित विभिन्न सामान उत्पादन सुरु गरेको गुरुङले बताइन्।
आफ्नै सिप लगाएर अलैंचीको बोटको सराबाट बनेको पिर्कादेखि सुरु गरेर अहिले ५० किसिमका विभिन्न आकर्षित सामग्री उत्पादन गर्न सफल भएको गुरुङले बताइन्। ‘अलैंचीको बोट घाँस, पराल केही हुँदैन, न त अलैंचीको बोटलाई कुहाएर मल नै बनाउन सकिन्छ,’ उनले भनिन्, ‘अलैंचीको सराबाट पनि केही हुन्छ भन्ने आसले सुरुमा १ लाख ५० हजारबाट सुरु गरेकी थिएँ। तर,अहिले २५ लाख रूपैयाँसम्मको बिक्री वितरण भइरहेको छ। विभिन्न संस्थाबाट अनुदानमा हस्तनिर्मित उत्पादित सामग्रीका लागि विभिन्न किसिमका चाहिने मेसिन, तान जस्ता सामान प्राप्त भएको छ।’
अलैंचीको सराबाट बनेका हस्तनिर्मित सामग्रीलाई मानिससमक्ष २/४ वर्ष चिनापरिचित गर्न मुस्किल भएको पनि उनले बताइन्। केही समयपछि अलैंचीको सराबाट बनेका सामग्री परिचित हुँदै गएपछि धेरै माग बढ्न थालेको उनको कथन छ। ‘हस्तनिर्मित सामग्रीको बिक्रीबाट सन्तोषजनक आम्दानी भएपछि अहिले उनले २० जना महिलालाई पनि अलैंचीको सराबाट हस्तकलाका सामग्री बनाउन रोजगार दिएकी छिन्। उनले अलैंचीका खेर जाने बोट किसानका लागि आम्दानीको स्रोत बन्नसक्ने बताइन्।
अलैंचीको सराबाट कुशन, चप्पल, बास्केट, ब्याग, चकटी, झल्ला, थरी थरीका डाला, कप, पर्सजस्ता सामग्री बन्छन्। त्यस्ता सामग्री निकै टिकाउ, बलिया र जति पुरानो हुँदै गयो त्यति चम्किँदै जाने उनको अनुभव छ।
गुरुङले इलाममा यस्ता सामान बनाउने प्रशिक्षणसमेत दिने गरेको बताइन्। तालिमबाट प्राप्त सीपलाई व्यवहारमा परिणत गरी विगतमा प्रयोगविहीन रहेका अलैंचीका बोटका सरा आयआर्जनको माध्यम बनाउन उनको सुझाव छ। स्थानीय सरकार लगायत विभिन्न क्षेत्रबाट यसको सुनुवाइ भएमा वा बृहत् मात्रामा यसको प्रचारप्रसार हुँदै गए थप उत्पादनका कार्यक्रम अघि बढाइने उनले बताइन्।
अलैंचीको बोटबाट निर्मित हस्तकलाका सामग्रीको व्यवसाय विस्तार गर्दै आत्मनिर्भर बन्ने गुरुङका कर्मचारी तथा सहभागी महिलाले विश्वास व्यक्त गरे। यस प्रकारको तालिम अन्य जिल्लामा पनि सञ्चालन गर्न सहभागी महिलाको सुझाव रहेको छ।
देशका विभिन्न मेला-प्रदर्शनीमा अलैंचीको सराबाट निर्मित हस्तकलाका सामग्री प्रदर्शन र बिक्री गर्ने गरेपछि यसतर्फ सरोकारवाला निकायले पनि चासो दिएको गुरुङले बताइन्। फोहोरलाई मोहोरमा बदल्नसक्ने विश्वासका साथ तालिममा सहभागी हुन घन्टौं पैदल यात्रा गरेर धेरै संघर्ष गर्नु परेको उनको भोगाइ बताइन्।
केही पहिले बहुमूल्य कृषि उपज अलैंचीको मूल्यमा लगातार गिरावट आउँदा निराश बनेका किसान तथा व्यवसायीलाई यो सीपले विकल्प दिनसक्ने उनको जानकारी छ। नेपालमा उत्पादित हस्तकलाका सामग्रीको विश्वबजारमा आकर्षण बढिरहेको उनी बताउँछिन्।
वास्तुशात्र अनुसार पनि अलैंचीको सराबाट बनेका सामग्री घरभित्र प्रयोगमा ल्याउँदा राम्रो हुने गरेको उनले बताइन्। विकसित राष्ट्रले भने हस्तकला सामग्रीलाई औद्योगिकीकरणमा परिणत गरिसकेका छन् र यसको बुझाइ र उत्पादन प्रक्रियामा परिमार्जन गरिसकेका छन्। जसमा थोरै मात्रामा हातको प्रयोग गरी धेरै मात्रामा आधुनिक औजार तथा मेसिनको प्रयोग गरी उत्पादन गरिएका सामग्री हुन्छन्। यसरी उत्पादित सामग्री विश्वबजारमा प्रतिस्पर्धालायक बनेको उनको भनाइ छ।
प्रकाशित: २७ माघ २०७९ ०१:२१ शुक्रबार