नेपालगन्ज वडा नम्बर ८ मा छ, ‘५१ वर्षीय सकिल कसगरको एकतले इँटाको घर।’ चारपाँच वर्ष भइसक्यो उनको घरले अझै पूर्णता पाएको छैन। घरछेउमा अर्कैको जग्गामा थन्किएको छ उनको खच्चरले तान्ने गाडा। त्यसैगरी घरमै थन्किएका छन् सकिल पनि। फुर्सदिलो भएको छ उनको खच्चर।
बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्। उहिलेका दिन सम्झेर र अहिलेको हालत हेरेर उनीहरू थक्थकाउँछन्। सन्ततिको भविष्य के हुने भन्ने चिन्तामा छन् उनीहरू। कसगर पुरुषहरूको पुर्ख्यौली मुख्य पेसा खच्चर पाल्ने र सामान ढुवानी गर्ने हो। महिला र ज्येष्ठ नागरिकको पेसा भने गृहिणीका साथै माटाका भाँडा बनाएर आर्यआर्जन गर्नु हो। अहिले माटाका भाँडा बनाउने पेसा जेनतेन चलिरहे पनि खच्चरबाट ढुवानी गर्ने काम भने विकासको गतिसँगै हराउन थालेको छ। मुख्य पेसा नै संकटमा परेपछि उनीहरूको आर्थिक जीवन संकटतिर धकेलिएको छ।
सकिलका अनुसार उनका बुवाको पालासम्म खच्चर पाल्ने र तराईबाट पहाडी तथा हिमाली जिल्लासम्म सामान ढुवानी गरेर उनीहरूको जीवन चलिरहेको थियो। सकिल पनि कर्णाली राजमार्गमा ट्याक्टर चल्नुअघिसम्म कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा सामान ढुवानी गर्न पुग्थे। त्यतिञ्जेल कर्णालीमा ढुवानीको एक मात्र साधन थियो खच्चर। ‘आम्दानी पनि राम्रो हुन्थ्यो। त्यहीअनुसार खच्चर पनि टन्नै पालेका हुन्थ्यौं। मैले कालीकोट तथा जुम्लासम्म सामान पुर्याएको छु’, सकिलले भने।
कर्णाली राजमार्ग बनेपछि स्वाभाविक रूपमा खच्चरमार्फत हुने ढुवानी पेसा विस्थापित भयो। उनीहरू तराईभन्दा माथि उक्लने दिन सकिए। एउटा संकटको समय थियो त्यो। कसरगरहरूले कामको अर्काे स्रोत खोजे-इँटा उद्योग।
बुटवल, चितवन र काठमाडौंसम्मका इँटाभट्टामा इँटा बनाउने ठाउँदेखि पोल्ने ठाउँसम्म ओसारपसार गर्ने काम उनीहरूले ठेक्का लिएर गर्न थाले। यसले उनीहरूको जीवन चलाउन केही सहज र व्यवस्थित बनायो। धेरै टाढा जानुनपर्ने, एक ठाउँ बसेर व्यवस्थित रूपले काम गर्न सक्ने यो तरिकाले कसगर खुसी थिए। उनीहरूले इँटाभट्टाको ढुवानीको ठेक्का नै लिएर सामान गाडामा चढाउनेदेखि झार्ने र इँटा बनाउनेसम्मका मानिसलाई रोजगार पनि दिन थाले, आफू मातहत।
यो प्रकृतिको काम २०७२ सालको भूकम्पसम्म सामान्य रूपले नै चलेको थियो। ‘यो सब बिग्रेको ठूलो भूकम्प आयो नि काठमाडौंमा, त्यसपछि हो। भट्टा मालिकहरूले त्यसपछि पैसा कम दिने, टाइममा नदिने, उधारो काम गराउने गर्न थाले। त्यसपछि कोरोना आयो। कोरोनापछि त सखापै भयो’, सकिल भन्छन्।
अर्कातिर इँटा उद्योगमा भारतीय कामदारको प्रवेश भएदेखि पनि नेपाली कामदार तथा मजदुरको काम खुम्चियो। काम मात्रै खुम्चिएन, ज्याला पनि खुम्चियो। विशेषगरी ढुवानी ज्यालामा भूकम्पपछि २० प्रतिशतले कमी आएको सकिल बताउँछन्, तर कामदारको ज्यालामा दोब्बरले वृद्धि भएको उनको भनाइ छ। ढुवानी ज्याला घटेपछि र कामदारको ज्याला बढेपछि कसगरहरूले ठेक्का लिएर धान्न सक्ने अवस्था रहेन। त्यसैमाथि साहुले समयमा पैसा नदिने गर्न थालेपछि इँटा उद्योगको काम पनि संकटमा परेको सकिल बताउँछन्।
अहिले अधिकांश कसगरहरूले इँटाभट्टा छाडेर दैनिक ज्याला मजदुरी गर्न थालेको उनी बताउँछन्। सकिलका छोराहरू पनि अहिले दैनिक मजदुरी गर्छन्। घर बनाउने ठाउँमा सामान ढुवानी गर्न कहिलेकाहीं खच्चर र गाडा प्रयोग हुन्छ। कहिलेकाहीं बजारमा एक ठाउँबाट अर्काे ठाउँ सामान ढुवानी गर्ने काम पाइन्छ तर अत्यन्त सीमित मात्रामा। अधिकांश काम मान्छे बोक्नका लागि बनाइएका ई-रिक्सामार्फत हुन थालेको छ। प्रहरीले पनि सडकमा गाडा देखेपछि हकार्छन्।
फुर्सदिला भएका खच्चर फुस्किएर सडकमा गइहाले भने नगरपालिकाले लगेर काञ्जीहाउसमा थुन्छ। काञ्जीहाउसबाट फिर्ता ल्याउन एउटा खच्चरको एक दिनको एक हजार पाँच सय रूपैयाँ जरिवाना तिर्नुपर्छ। पाल्नका लागि चारो करी भ्याउनु। ‘अब खच्चर पाल्ने हाम्रो अन्तिम पुस्ता यही होला। हाम्रा छोराछोरीले पाल्न पनि नपाल्लान्। पाल्नु पनि हुन्न। बरू ज्याला मजदुरी नै ठिक योभन्दा त’, सकिलले दिक्दारी प्रकट गरे। नेपालगन्जमा १५ सयभन्दा बढी घरधुरी कसगर समुदायका रहेका सकिलको अनुमान छ। यी सबै परिवारको कथा उस्तैउस्तै रहेको उनको भनाइ छ।
अधिकांशले अब इँटाभट्टा छाड्दै छन्। पछिल्लो समय सन्नतिको पढाइतिर जोड रहेको उनीहरू बताउँछन्। केही युवा पढाइलेखाइमा राम्रो गरिरहेका छन्। सकिल भन्छन्, ‘तर सरकारी जागिरे कोही पनि छैनन्। मैले थाहा पाएसम्म एकजनाले बोर्डिङ स्कुलमा पढाउँछन्। अरू केही कलेजमा पढ्दै छन्। सानासाना केटाकेटी प्रायः स्कुल जान्छन्।’
एउटा अर्काे सम्भावना पछि उनीहरूसँग छ। माटामा सामानहरूको व्यापार केही समय ओरालो लागेर फेरि सुधार हुने संकेत देखिएको छ तर यसमा स्थानीय सरकारले सीप स्तरोन्नतिका लागि तालिम एवं माटो उपलब्धताका लागि सहजीकरण गरिदिन आवश्यक छ।
प्रकाशित: २६ माघ २०७९ ०२:११ बिहीबार