काठमाडौं- मुलुकको केन्द्रीय बैंकमा सिक्का राख्ने ठाउँ छैन भन्दा अचम्म मान्नुपर्दैन। राष्ट्र बैंकले ठाउँ अभावकै कारण अहिले सिक्का निष्कासन गर्न सकेको छैन। नोटको दाँजोमा सिक्काले ठाउँ बढी ओगट्छ। त्यसमाथि गत वर्ष वैशाखको भूकम्पले राष्ट्र बैंकको सुन्धारास्थित टक्सार विभागको भवनमा क्षति पुर्याएपछि सिक्का निष्कासन रोकिएको छ। राष्ट्र बैंकले सिक्कासम्बन्धी सबै जिम्मेवारी टक्सार विभागलाई दिएको छ।
'सिक्का निष्कासन गरेर मात्र के गर्नु? ठूलो परिमाणमा सिक्का राख्ने ठाउँ नै छैन,' टक्सार विभागका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, 'विदेशमा छापेर ल्याउँदा ठूलो ड्रममा राखिएको हुन्छ र त्यसलाई खुला ठाउँमा राख्न मिल्दैन, राख्यो भने खिया लाग्छ र चल्तीमा ल्याउन समस्या हुन्छ। त्यही भएर अहिले हामीसँग मौज्दात सिक्का पनि जोगाउन मुश्किल छ।'
भूकम्पले केन्द्रीय बैंकको टक्सार विभागका भवनमा बढी क्षति पुर्याएको थियो। यही विभागबाट राष्ट्र बैंकले सिक्का निष्कासन तथा बिक्रीवितरण गर्ने गर्छ। विगतमा पहिला सबै दरका सिक्का यहीँबाट छाप्ने गरिन्थ्यो तर अहिले सबै सिक्का विदेशमै छापेर ल्याइन्छ।
टक्सारले छाप्दा आवश्यकता हेरिन्थ्यो तर विदेशबाट एकैचोटि ठूलो परिमाणमा ल्याउँदा राख्ने ठाउँ अभाव देखिएको ती अधिकारीले बताए। टक्सारसँग रहेका पुराना भवन २०४० सालमा सरकारले दिएको थियो। तीमध्ये अधिकांश गत वर्षको भूकम्पका कारण भत्किएका छन्।
आर्थिक वर्ष २०६६/६७ मा राष्ट्र बैंकले दक्षिण अफ्रिकाबाट १ रुपैयाँ र फिनल्यान्डबाट २ रुपैयाँ दरका सिक्का छापेर ल्याइएको थियो। फिनल्यान्डबाट २१ करोड ९८ लाख रुपैयाँबराबरका र दक्षिण अफ्रिकाबाट ५२ करोड रुपैयाँबराबरका सिक्का ल्याइएको राष्ट्र बैंकले जनाएको छ। तीमध्ये पछिल्लो पटक १ रुपैयाँ दरका सिक्का बजारमा अभाव छ।
टक्सार विभागबाट राष्ट्र बैंकले केही वर्षअघिसम्म ५ पैसा, १० पैसा, २५ पैसा, ५० पैसा, १ रुपैयाँ, २ रुपैयाँ, ५ रुपैयाँ र १० रुपैयाँका सिक्का निष्कासन गरेको थियो। तर, ६ वर्षअघि विदेशबाट १ र २ दरका सिक्का मात्र छपाएर ल्याइएको थियो। त्यसयता सिक्का निष्कासन गरिएको छैन।
टक्सारसँग २ रुपैयाँ दरका सिक्का अभाव नभए पनि १ को भने अभाव हुन थालिसकेको छ। 'बैंक तथा वित्तीय संस्था, धार्मिक सघंसंस्था, सार्वजनिक सवारीसाधन सञ्चालक समेत ठूलो मात्रामा १ को सिक्का साट्न आउने गर्छन्,' सम्बद्ध अधिकारीले भने, 'एकैपटक ठूलो परिणाममा सिक्का खरिद गर्ने हुँदा अभाव देखिन थालेको हो।'
राष्ट्र बैंकले १ रुपैयाँ दरका सिक्का बजार पठाउन कम गरिसकेको छ। '२ को सिक्का नलिई १ को सिक्का दिन सकिने अवस्था छैन,' उनले भने, '१ को सिक्का छाप्दा बढी घाटा हुने भएकाले पनि २ को सिक्का बढी दिनुपरेको हो।'
१ र २ को सिक्का बैंक तथा वित्तीय संस्थामा फिर्ता आउँदैनन्। राष्ट्र बैंकले कागजी नोट पुराना भएपछि फिर्ता लिने गरे पनि पुराना सिक्का फिर्ता लिँदैन। 'धेरै ठाउँमा प्रयोग भएपछि सिक्का कालो हुने र पहिचान गर्न समेत कठिन हुने गरेका कारण त्यस्तो सिक्का फिर्ता लिइँदैन,' उनले भने।
सबैभन्दा बढी सिक्काको प्रयोग 'तुलादान' का बेला हुने गर्छ। तुलादान भनेको व्यक्तिको तौलबराबर सिक्का (एकापट्टि मानिस र अर्कोपट्टि सिक्का राखेर) तौलिई दान गर्ने चलन हो। यसले पनि सिक्का अभाव बढाउन मद्दत गरेको केन्द्रीय बैंकको भनाइ छ।
मन्दिरमा भेटी चढाउने चलन, चौरासी पूजालगायत धार्मिक कार्यले पनि सिक्का बढी खपत हुने गरेको बैंकको भनाइ छ। केही वर्षअघिसम्म बस, माइक्रोबस, टेम्पोले ग्राहकलाई फिर्ता गर्न १ र २ रुपैयाँका सिक्का साटेर लाने गर्थे। तर, अहिले सिक्का अभाव भएपछि उनीहरू पनि सिक्का साट्न आउन छाडेेेेका छन्।
त्यसबाहेक सिक्का अभाव हुँदा बस, माइक्रोबस, टेम्पोलगायत सार्वजनिक सवारीसाधन चढ्ने सर्वसाधारणले बढी भाडा तिर्न बाध्य छन्। सरकारले न्यूनतम १३ रुपैयाँ भाडा दर तोकेको छ। तर, यात्रुबाट सवारीसाधन सञ्चालकले १५ रुपैयाँ असुल्दै आएका छन्। सिक्का अभावले उपभोक्ता मारमा छन्।
विज्ञका अनुसार खाद्यान्न, कपडालगायत वस्तुमा उच्च मूल्य वृद्धि भएपछि १ र २ रुपैयाँ दरका सिक्काका साथै कम मूल्य अंकित दरका नोटको औचित्य समाप्त हुन थालेको छ।
गत वर्षको भूकम्पले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारसहित थापाथली र सुन्धारास्थित भवनलाई बढी क्षति पुर्याएको थियो। भूकम्प गएको १६ महिनासम्म भवन निर्माण हुन सकेको छैन।
यता, टक्सार विभागका पुराना भवन पुरातŒव विभागले पुनर्निर्माण गर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बताए। 'पुनर्निर्माण भएपछि नयाँ भवनबाट काम सुरु हुनेछ,' उनले भने।
भूकम्पले पुरानो भवन भत्किएपछि बालुवाटरस्थित केन्द्रीय कार्यालयका केही विभाग लैनचौरस्थित प्रभु भवनमा सारिएका छन्। पुरानो भवन भत्किएपछि गभर्नर कार्यालय राष्ट्र बैंक परिसरकै अर्को भवनमा सारिएको छ। गभर्नर चिरञ्जीवी नेपाल अर्को भवनस्थित नियमन विभागका प्रमुखका कार्यालयबाट काम गरिरहेका छन्। डेपुटी गभर्नरहरु पनि पुरानो भवनबाट नयाँमा सरेका छन्।
डेपुटी गभर्नर श्रेष्ठले भूकम्पबाट क्षति पुगेको भवन भत्काएर नयाँ भवन बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयको समन्वयमा नयाँ भवन निर्माण हुने उनले बताए। 'टेन्डर आह्वान गरिसकिएको छ,' उनले भने, 'एक/डेढ वर्षमा पुरानो शैलीमै निर्माण भइसक्छ।'
अहिलेको पुराताŒिवक हिसाबले नै नयाँ भवनको बाहिरी डिजाइन हुने भए पनि भित्री बनावट भने आधुनिक र सुविधासम्पन्न हुने राष्ट्र बैंकको भनाइ छ। थापाथलीस्थित बैंकिङ कार्यालय पनि क्षतिग्रस्त भएको छ। राष्ट्र बैंकले यो भवन पनि पुनर्निर्माण गर्नेछ।
टक्सारलाई 'मुद्रा संग्रहालय' बनाइने
राष्ट्र बैंकको सुन्धारास्थित टक्सार विभागलाई मुद्रा संग्रहालयमा रुपान्तरण गर्ने भएको छ। भूकम्पले क्षति पुर्याएको उक्त भवनलार्ई पुरातŒव विभागले संग्रहालयमा रुपान्तरण गर्न लागेको हो।
सर्वसाधारणको सहयोगमा टक्सारलाई मुद्रा संग्रहालयमा रुपान्तरण गरिने राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले बताए। 'संग्रहालय बनाउने काम पुरातŒवले गर्नेछ,' उनले भने, 'मेरो धरहरा : म बनाउँछु,' अभियानले उक्त कामको सुरुआत गर्नेछ।'
प्रकाशित: १२ भाद्र २०७३ ०१:५९ आइतबार