७ वैशाख २०८१ शुक्रबार
अर्थ

व्यवसाय प्रवर्द्धनको माध्यम बन्यो ‘महोत्सव’

पोखराको अमरसिंहचौरमा आयोजिन ११ औं पोखरा महोत्सवमा उपस्थित दर्शक। तस्बिर नागरिक

पोखरामा आयोजित महोत्सवले व्यवसायिक उत्पादनको प्रवद्र्धनमा टेवा दिएको भन्दै व्यवसायीले खुसी जनाएका छन। मेला र महोत्सवले व्यापार भन्दा पनि व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनीहरुको भनाई छ। व्यवसायिक प्रवद्र्धनले व्यापारमा पनि सकारात्मक प्रभाव महोत्सवले पारेको छ।  

‘खासमा मेला महोत्सव व्यवसाय प्रवद्र्धन गर्ने थलो हो,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘स्थानीय उत्पादनलाई बजारीकरण गर्ने माध्यम हो। बजारीकरण हुदाँ व्यापार पनि हुन्छ।’ उनले व्यापारको पाटो भन्दा पनि प्रवद्र्धन महत्वपूर्ण भएको सुनाए। ‘कुनै व्यवसायीले उत्पादन गरेको बस्तुलाई मेला महोत्सव मार्फत बजारीकरण आफैंमा महत्वपूर्ण हो,’ उनको भनाई थियो।  

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरिसक्यो। लेखनाथ उद्योग वाणिज्य संघले पनि लेखनाथ महोत्सव सम्पन्न गरिसक्यो। पोखराकै युनाईटेड क्लब पोखराले पनि पोखराको अमरसिंह चोकमा पोखरा महोत्सव सम्पन्न गर्यो। ती महोत्सव मार्फतस्थानीय उत्पादनलाई प्रवद्र्धनमा नयाँ आयाम थपियो। साना खुद्रा व्यवसायीले पनि आफनो व्यवसायलाई महोत्सव मार्फत प्रवद्र्धन गरेका छन्। आर्थिक चलायमान भएको समेत विश्वास उद्योग वाणिज्य संघले गरेको छ।  

‘मेला र महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धन आफनो ठाँउमा छ। किनमेलले साना व्यापारीलाई समेत राहतको अनुभूति पक्कै गरेका छन्,’ अध्यक्ष प्रजापतिको भनाई थियो। लेखनाथ महोत्सवले शुरुवाती समयमा सुन्तला महोत्सवबाट थालनी गरेको थियो। स्थानीय लेखनाथ क्षेत्रमा उत्पादित सुन्तलालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सुन्तला महोत्सव गरियो। त्यसपछि परिष्कृत हुदैं लेखनाथ महोत्सवको नाममा गरिएको थियो। सुन्तला, मह र तरकारी जन्य उत्पादनसँगै हस्तकलाका सामान विक्री गर्ने थलो बन्दै आएका छन्।  

साना व्यवसाय गर्नेलाई महोत्सव मार्फत बजारीकरण गर्ने ठूलो प्लेटफर्म भएको लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ। ‘महोत्सवले स्थानीय उत्पादन मात्रै होईन उद्यमी बन्न समेत प्रेरित गरेको छ,’ लेखनाथ उद्योग वाणिज्य सघका सदस्य विजय गुरुङले भने, ‘हस्तकलाबाट उत्पादन सामान, गुन्द्री, मुडा, चप्पल बनाउने तालिम समेत दिईयो। त्यसले स्वरोजगार सिर्जना गर्यो। अर्कोतिर उत्पादन सामान महोत्सवमा विक्री गर्यो।’ उनका अनुसार लेखनाथ महोत्सवमा १७ वटा स्टल कृषिजन्य उत्पादनलाई छुट्टाईएको थियो।  

युनाईटेड क्लबले महोत्सवलाई खासगरी पर्यटन प्रवद्र्धनसँग जोडेको छ। लेखनाथको पचभैयामा चारवटा सामुदायिक बनलाई केन्द्रीत गर्दै वन्यजन्तु उद्दार केन्द्र बनाएको छ। प्रस्तावित चिडियाखाना हो। १३५ हेक्टर क्षेत्रफलको सामुदायिक बनमा विभिन्न वन्यजन्तुलाई संरक्षण गरिएको छ। पछिल्लो समय क्लबले लेखनाथमै आवासिय छात्रवास निर्माणलाई प्राथमिकतामा राखेको छ।  

पोखरा महोत्सवमा १० करोडको आर्थिक कारोबार हुन पुग्यो। आर्थिक कारोबारले व्यवसायीलाई उत्साह थपेको छ। ‘कोभिडपछिको महोत्सवमा आर्थिक कारोबार राम्रो रह्यो। स्थानीय उत्पादन हस्ताकला तथा कृषिजन्य उत्पादनको प्रवद्र्धन भयो। अन्य व्यापारिक प्रायोजनमा राखिएको सामानको किनमेल पनि राम्रो रह्यो,’ युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले भने, ‘आर्थिक कारोबारले साना खुद्रा व्यापारीलाई राहत दियो।’  

पोखरा महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाले कोभिडले थलिएको अवस्थामा पनि महोत्सवमा भएको आर्थिक कारोबारले बजारलाई चलायमान बनाउन प्रेरित गरेको उल्लेख गरे। ‘महोत्सव क्रेता र विक्रेता बीचको मिलान गराउने थलो हो । यसले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ,’ उनको भनाई थियो।  

प्रकाशित: ११ माघ २०७९ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App