१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बजारमा ग्यास छेलोखेलो

काठमाडौं- राजधानीका ग्यासबिक्रेता अचेल फुर्सदमा छन्। किनकि, उनीहरुका पसलमा ग्यास छ, किनिलाने उपभोक्ता आउँदैनन्। अभावका बेला उपभोक्ताले सकीनसकी चाहिनेभन्दा बढी सिलिन्डर सञ्चित गर्दा अहिले बजारमा ग्यास फालाफाल भएको हो। आयात घटाउँदा पनि ग्यास किन्ने उपभोक्ता नपाएर बिक्रेता हैरान छन्।

नेपाल आयल निगमका अनुसार असारमा २७ हजार ५ सय टन ग्यास आयात भएको थियो। साउन २४ सम्म १३ हजार टन मात्र आयात गर्दा पनि बजारमा ग्यास छेलोखेलो छ।

अघिल्लो महिनाको दाँजोमा यो महिना आयात नै झन्डै आधा घटे पनि ग्यास नबिक्दा पसले हैरान छन्। निगमले साउन महिनालाई करिब ३७ हजार टन ग्यास ल्याउन पिडिओ (खरिद आयात अनुमति आदेश) जारी गरेको थियो।

भारतले अघोषित नाकाबन्दी लगाउँदा अघिल्लो वर्ष आठ महिना राजधानीमा ग्यासको हाहाकार मच्चिएको थियो। त्यतिबेला 'ग्यास वितरण गर्दा भिड नियन्त्रण गर्न प्रहरी बोलाउनुपर्थ्याे। आपूर्तिभन्दा अधिक मागका कारण उपभोक्ताको भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्जसमेत गरे। ग्यास नदिएको भन्दै पसलेसँग थुप्रै साथीभाइ र आफन्त रिसाए पनि। त्यति मात्र होइन, एक सिलिन्डर ग्यास उपलब्ध गराइदिनेप्रति ठूलै गुन सम्भि्कए उपभोक्ताले। नेतादेखि सरकारी उच्च अधिकारीसम्म ग्यास माग्दै पसलेलाई फोन गरेर हैरान पार्थे।

स्थिति ठ्याक्कै उल्टो छ अहिले। अधिकांश उपभोक्ताकहाँ भरिएका ग्यास सिलिन्डर छन्, आवश्यक नभएकाले उनीहरु थप किन्न बजार जाँदैनन्।

निगमले साउनका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीका लागि १३ हजार टन, हल्दिया १२ हजार, मथुरा ६ हजार, पारादीप ५ हजार टन र पानीपथ (कर्नाल) बाट १ हजार टन ग्यास ल्याउन पिडिओ जारी गरेको थियो।

ग्यास अभाव भएपछि निगमले आइओसीका अधिकारीलाई अनुरोध गरेर २९ हजार टनको कोटा ३७ हजार पुर्‍याएको थियो। उपभोक्ता, ग्यास उद्योगी, संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले समेत ग्यासको कोटा बढाउन दबाब दिएपछि आपूर्ति सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष श्रीधर सापकोटा, निगमका कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको टोली भारत पुगी आइओसीका अधिकारीसँग वार्ता गरेर कोटा बढाएका थिए। पारादीप रिफाइनरीबाट ग्यास ल्याउने बाटो खोले पनि अहिले आयात घटेपछि ग्यास ल्याउन त्यहाँ पुग्नुपर्दैन।

भारतीय नाकाबन्दी खुलेको केही महिनासम्म उपभोक्ताले भएभरका सिलिन्डर भरेकाले पछिल्ला महिना ग्यास खपत स्वात्तै घटेको हो। नाकाबन्दीका बेला धेरै उपभोक्ताले विद्युतीय इन्डक्सन चुलो किनेकाले पनि विद्युत आएका बेला भान्सामा ग्यास चुलो चल्दैन। ग्यास खपत घट्नुको अर्काे कारण यो पनि हो।

'अहिले ग्यास नबिकेपछि फुर्सदिला भएका छौं,' सापकोटाले भने, 'एउटै उपभोक्ताले पाँच/सात वटा सिलिन्डर भरेर राखेकाले अहिले किन्न नआएका हुन्।' अभावका बेला उपभोक्ताले किनेका फरक—फरक कम्पनीका सिलिन्डर आयात सहज भएपछि भरेका थिए। निगमका अनुसार मार्चमा ३० हजार १ सय ३५ मेटि्रक टन आयात भएकोमा जुनमा ३० हजार टन र जुलाईमा २५ हजार टन आयात भएको थियो।

उपभोक्ताका सिलिन्डर खाली नभएकाले माग कम भएको नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले बताए। 'साउन ग्यास खपत कम हुने महिना पनि हो,' चन्दले भने, 'भएका सबै सिलिन्डर भरेर राखेकाले चाप घट्यो।'  नेपालमा करिब ६५ लाख सिलिन्डर रहेको व्यवसायी बताउँछन्। नाकाबन्दीमा केही उद्योगीले नयाँ सिलिन्डर थपेका थिए। अभावका बेला १५ सय रुपैयाँको सिलिन्डरलाई उपभोक्ता कालोबजारमा ३ देखि ४ हजार रुपैयाँसम्म तिर्न बाध्य थिए। सिलिन्डर खाली नभएपछि उद्योगीले पनि भर्न पाएका छैनन्। चाडबाड आएपछि क्रमशः ग्यास खपत बढेर जाने उद्योगी बताउँछन्।

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेकाले समायोजन गरेर जनतालाई राहत दिन ग्यास बिक्रेताले माग गरेका छन्। ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल नेतृत्व टोलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन्।

संघले भारतबाट ग्यास ढुवानी गरेर ल्याउँदा तराईमा कम पर्ने भएकाले दुरीका आधारमा मूल्य निर्धारण गर्न आग्रह गरेको बिक्रेता महासंघका महासचिव थापाले बताए। 'ग्यास सिलिन्डरको धरौटी रकमको सुरक्षा गर्न पनि आग्रह गरेका छौं,' थापाले भने।

निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ८३ पैसा, डिजेलमा २ रुपैयाँ १२ पैसा, मट्टीतेलमा १६ रुपैयाँ ८८ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय ११ रुपैयाँ ७० पैसा, हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ ९० पैसा र अन्तर्राष्ट्रियतर्फ २५ रुपैयाँ ३ पैसा नाफा राखेर बेच्दै आएको छ।

निगमले केही दिनअघि मूल्य समायोजन गर्दै पेट्रोल प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३, हवाई इन्धन आन्तरिकमा ८९, अन्तर्राष्ट्रियमा प्रतिलिटर ८८ रुपैयाँ , ग्यास प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरेको छ।

प्रकाशित: २८ श्रावण २०७३ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App