८ वैशाख २०८१ शनिबार
अर्थ

राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैतको पहिलो सातादेखि राजधानीमा हुने भएको छ। महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।  

महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेलाई बिहीबारबाटै स्टल बुकिङ खुला गरिएको जनाएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो। महासंघका अध्यक्ष शेखर गोल्छाले यसपटकको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता रहने जानकारी दिए। ‘मेलामा नेपाली हस्तकला र एन टिआइएस प्रोडक्ट साथै मेड इन नेपाल वस्तुहरू प्रदर्शनीमा राखिनेछ,’ उनले भने, ‘यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरूका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ।’ 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ। मेलामा एनटीआइएसका उत्पादनहरूको प्रदर्शनीबाट नेपालको औद्योगिक व्यावसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ। अध्यक्ष गोल्छाले मेलामा तीन सयभन्दा धेरै स्टल मार्फतस्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने बताए। मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशको सहभागिता रहने छ। मेलामा सार्क राष्ट्रसहित कोरिया, जापान, लगायतका देशहरूबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ।  

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार व्यक्तिहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ। विभिन्न जिल्लामा आयोजना भएका मेलाबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइने छ।

मेला महोत्सव केन्द्रदेखि स्थानीय तहसम्म आर्थिक क्रियाकलाप विस्तार गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, जनतामा मुखरित हुन नसकेको उद्यमशीलताको सम्भाव्यतालाई उजागर गर्ने, स्थानीय जनताले आफ्नै घरआ“गनमा उत्पादन गरेका वस्तुहरू आय आर्जनको स्रोत बनाउन र मूलतः मेला महोत्सव स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्ने महत्वपूर्ण माध्यम बन्दै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने आशा एवंं विश्वास महासंघले लिएको छ।

आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पुर्‍याउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०३० को सफल कार्यान्वयनमा समेत अन्तर्राष्ट्रिय व्यापार मेलाले सघाउ पुर्‍याउने विश्वास महासंघको छ। 

प्रकाशित: २९ पुस २०७९ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App