२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर संकलन गर्न आक्रमक बन्दै महानगर

विराटनगर महानगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनका लागि कर संकलन अभियानलाई आक्रमक बनाउँदै अघि बढेको छ। वडा तहमै गएर कर संकलन गर्नका लागि वडा सदस्यहरुलाई अभिमुखीकरण तालिम महानगरपालिकाले सञ्चालन गरेको हो।

आन्तरिक आयलाई बलियो बनाउने अभियानमा लागेको महानगरले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गरेको हो। कर संकलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले हरेक वडाबाट एक–एक जना वडा सदस्यलाई सम्पर्क व्यक्ति (फोलक पर्सन) तोकिएको महानगरपालिकाले जनाएको छ।

वडा कार्य समितिको सिफारिसका आधारमा महानगरले वडा सदस्यहरूलाई सम्पर्क व्यक्ति तोकेको हो। उनीहरूले ४ वर्षसम्म कर अभिवृद्धिका लागि वडामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने छ। सम्पर्क व्यक्तिका रुपमा तोकिएका वडा सदस्यहरूलाई महानगरले पहिलो चरणको अभिमुखीकरण तालिम दिएको हो।

व्यवसाय दर्ता, नवीकरण, बहाल, सम्पत्तिलगायतका करहरू संकलन गर्न तोकिएका सम्पर्क व्यक्तिहरुले समन्वय गरिदिने बताउँदै, महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले भने, सम्पर्क व्यक्तिको नेतृत्वमा कर्मचारीहरू कर संकलन अभियानमा लाग्ने छन्। वडामा करसँग सम्बन्धित कुनै समस्या आए सम्पर्क व्यक्तिले महानगरसित समन्वय गरेर समाधान गर्ने छन्।’

आन्तरिक आय बलियो नबनाएसम्म विराटनगरवासीको विकासको चाहना पूरा नहुने बताउँदै, महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने, ‘जनतामा विकासको चाहना धेरै छ। आम्दानी सीमित भएकाले हामीले जसरी पनि आम्दानी बढाउनु पर्छ। महानगरले करको दर वृद्धिभन्दा दायरालाई फराकिलो बनाइएको छ।’  

वडामा घरनक्सा पास भए–नभएको, व्यवसाय दर्ता तथा नवीकरण भए–नभएको सम्बन्धित वडाबाट निर्वाचितलाई बढी जानकारी हुने भएकाले वडा सदस्यलाई सम्पर्क व्यक्ति तोकिएको बताइएको छ। प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सम्पर्क व्यक्तिहरू जिम्मेवार भएर लागेमा महानगरले लिएको कर संकलनको लक्ष्य पूरा हुने बताए। उनले विराटनगरमा ६० प्रतिशतभन्दा बढीले नक्सा पास नगरी घर बनाएको दावी गरे।  

सम्पर्क व्यक्तिहरूका लागि विषय विज्ञलाई बोलाएर दोस्रो चरणको अभिमुखीकरण पनि सञ्चालन गर्ने भएको छ। महानगरले विराटनगरमा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको छ। गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको जनाएको छ।  

प्रकाशित: २६ पुस २०७९ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App