२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

३० पूर्वकमलरीलाई रोजगारी

काठमाडौं- दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो। 

नेपाल युथ फाउन्डेशन र रोटरी क्लबको संयुक्त पहलमा ती पूर्वकमलरीहरुलाई तालिमको अवसर प्रदान गरिएको सुजा ट्रेडर्सका प्रबन्ध निर्देशक झएन्द्र घिमिरेले जानकारी दिए। तालिम अवधिमा उत्कृष्ट काम गरेकाले सबैलाई कामको अवसर प्रदान गरेको घिमिरेले बताए। 

'हाम्रो गार्मेन्टमा पहिले सबै बिहारका कामदारहरु थिए। अहिले नेपाली भाइबहिनीलाई नै अवसर दिने गरेका छौंं,' घिमिरेले भने, 'दासत्व जीवनबाट मुक्त भएका कमलरी बहिनीहरुलाई काम सिकाएर रोजगारी दिन पाउँदा झन् खुसी लागेको छ।' आफूले रोजगारी दिएका पूर्वकमलरीहरुले प्रतिमहिना न्यूनतम १२ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने उनले बताए।  

यसअघि तालिमपछि नै जागिर पाएका पूर्वकमलरी प्रिया थारुले अहिले महिनाको २५ हजारसम्म आम्दानी गर्ने गरेको बताइन्। 'पहिले अरुको घरमा काम गर्थें, भाँडा माझ्थें, त्यसको बदलामा केही पाउन्नथें,' प्रियाले नागरिकसँग भनिन्, 'अहिले आफ्नै परिश्रममा मासिक २५ हजारसम्म कमाइ हुन्छ।' यसले आफ्नो परिवार पाल्न सहज भएको उनले बताइन्। 

उक्त गार्मेन्ट उद्योगमा पूर्वकमलरीहरुले बनाएका तयारी पोशाकहरु युरोप, अमेरिकामा निर्यात हुने गरेको सुजा ट्रेडर्सका प्रबन्ध निर्देशक घिमिरे बताए। 


अरुको घरमा काम गरेर आफ्नो पढ्ने उमेर खेर फालेका कमलरीहरुलाई सीपमूलक तालिम दिएर रोजगारीको अवसर सिर्जना गर्ने गरेको युथ फाउन्डेशनका कार्यकारी निर्देशक राजु धमलाले बताए। यसअघि एक सय जनाभन्दा बढी कमलरीलाई सीपमूलक तालिम दिएको उनले बताए। 

प्रकाशित: १३ श्रावण २०७३ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App